अभिशप्त छोरी र सामाजिक न्याय


३० कार्तिक २०७६, शनिबार
design

भावना लुइँटेल 
आदिम मानव सभ्यता मातृ सत्तात्मक थियो । समूहमा बाँधिएर मानिसहरू ओढारमा जीवन गुजार्ने गर्थे । बच्चाहरूको पहिचान आमाबाट गरिन्थ्यो । बाउको कुनै पहिचान हुँदैन थियो ।

पुरूषहरूको काम टाढा टाढा गएर सिकार गरेर ल्याउने थियो । ओढार नजिकै भएका कन्दमुल भेला गर्ने र शिकार गरेर ल्याएको जे जति छ सबैलाई परिपञ्च बाँडेर खुवाउने र बालबच्चाको हेरचाह गर्ने महिलाको काम थियो ।

जब कन्दमुल र शिकारको अभाव हुनथाल्यो मानवहरूको स्थानतरण हुन थाल्यो । जनसंख्या बृद्धिसँगै अभावहरू परिपूर्ति गर्न कृषि युगको शुरूवात भयो । जीवन शैली उत्पादनमा जोडिएपछि मान्छेमा लोभको जन्म भयो । एकले अर्काको अन्नबाली र पशुधन लुट्न थालियो । युद्धको शुरूवात भयो । पुरूषहरू शारीरिक रूपमा बलिया भएकाले युद्धमा खटिए र युद्धबाट लुटिएको अन्नबाली र पशुधनसँगै युद्धमा हारेका मानिसहरूलाई दास बनाउन थालियो ।

खेतीयोग्य जमिन, अन्नबाली, पशुधन आफ्नो सन्तानले मात्र उपयोग गरून् भन्ने शासकीयपन मान्छेमा उब्जियो । आफ्नै मात्र सन्तान हो भन्ने किटान गर्न अर्काे गणबाट महिलाहरू लुटेर ल्याएर यौन दासी र छोराछारी जन्माउनका लागि प्रयोग गर्न थालियो । इतिहासमा महिला हिंसाको जग यहिबाट बसालियो ।

आज मानव जीवनमा विवाह पवित्र मानिन्छ तर, विवाह भनेको महिलाहरूलाई यौन दासी र सन्तान जन्माउन प्रयोग गरिएको क्रुरतादेखि शुरू भएको छ । मावन लिखित इतिहाससँगै विभिन्न धर्म ग्रन्थहरूको रचना भयो । धार्मिक ग्रन्थले कतै महिलाहरूलाई देवीको विम्बमा प्रयोग गर्‍यो त कतै दान दिने वस्तुको मूल्यमा कन्यादान हुँदै कुसंस्कारको कुचक्रमा ज्यूँदै जलाएर मारिनु पर्ने सति प्रथासम्म बनायो ।

अन्ततः हरेक पाटोबाट महिलालाई समाजमा प्रत्यक्ष वा परोक्ष रूपमा दास नै बनायो । संस्कारको हिरासतमा महिलाहरू कैदी हुँदै गए भने पुरूषहरू स्वतन्त्रताको हकदार हुँदै, पितृ वैकुण्ठ तार्ने महान पिण्डदाता मानकको रूपमा स्थापित हुँदै गए ।

यस मानकले महिलाहरूको स्वतन्त्रता पूर्णरूपमा लुट्यो । अन्ततः छोरी भनेको शत्रुको छोराले पनि फकाएर लैजाने जात हो । पाको उमेरमा हेरचाह र मरेपछि काजकिरिया गर्न छोरा नै चाहिन्छ भन्ने मनोविज्ञानले घर गर्‍यो । छोरा अनिवार्य सन्तान हो । छोरा जन्माउनै पर्छ छोरा भएन भने स्वर्ग तरिंदैन भन्ने अन्धविश्वासले छोरा र छोरीबीच विभेदको खाडल अझै फराकिलो बनाउँदै गयो ।

जब जर्ज स्टिभेन्सनले वाफबाट चल्ने मेसिनको आविष्कार गरे । त्यसपछि पुँजीवाद निर्माण भयो । कलकारखानाहरू स्थापना भए । रोजगारीका लागि मानिसहरू आफ्नो थाँतथलो छोडेर टाढा टाढा पुग्न थाले । रोजगारीको अवसर महिलाहरूले पनि पाउन थाले । विडम्वना समान काम समान ज्याला कहिले हुन सकेन । पुँजीवाद महिलाको लागि उल्टै घातक बन्न पुग्यो ।

प्रथम विश्व युद्धमा अधिकांश निर्दाेष महिला र बालबालिका मारिए । बेलायतकी फोटो पत्रकार एग्लाटाइम जेवले मारिएका लाशको फोटो खिचेर, महिला र बालबालिकाका न्यायको पक्षमा त्यसताकाको सञ्चार माध्यममा प्रकाशन गरिन् । त्यस समयमा बेलायतमा महिलाको कुर्कुचासम्म देखाउनुलाई अपराध मानिन्थ्यो । नाङ्गो तस्वीर खिचेरे सञ्चार माध्यममा प्रकाशन गरेको अभियोगमा एग्लाटाइम जेवलाई बेलायत सरकारले जेल सजाय गर्‍यो ।

त्यस समयपश्चात् महिला र बालबालिकाको न्यायको पक्षमा वकालत हुन थाल्यो । पुँजीवादको चरम विकास हुँदै गयो । अन्ततः महिलाई नाङ्गो बनाएर बेच्न थाल्यो । पुँजीवादका कारण मान्छे मेसिन सरह भए । काम मात्र होइन आराम र मनोरञ्जन मानव जीवन शैलीमा आपश्यक छ भन्ने पाटोबाट अधिकारकै रुपमा आवाज उठ्न थाल्यो ।

पुँजीवादको व्यङ्ग्य स्वरूप त्यसताकाका विश्व चर्चित हाँस्य कलाकार चार्ली च्याप्लिनले ‘द मोर्डन टाईम’ फिल्म बनाए । चार्ली च्याप्लिनलाई तत्कालीन बेलायत सरकारले बेलायतको विकासको विरोध गर्‍याे भनेर जेल सजाय गर्‍यो ।

पुँजीवादी अर्थतन्त्रको कारण अत्याधिक बस्तुको उत्पादन त भयो तर बजारीकरण भएन फलस्वरूप सन् १९३९ देखि १९४४ सम्म दोस्रो विश्व युद्ध भयो । विश्व शान्ति र न्याय स्थापनाको लागि सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भयो ।

१० डिसेम्बर १९४८ मा संयुक्त राष्ट्रसंघको विश्वव्यापी मानवअधिकार घोसणा पत्र जारी भयो । त्यसपछि विश्वव्यापी रुपमा मानवअधिकारको आवाज उठ्न थाल्यो । नेपालले इ. स. १९५४ मा संयुक्त राष्ट्रसंघको घोषणा पत्रमा हस्ताक्षर गर्‍यो ।

मानव अधिकारसम्बन्धी घोषणा पत्र कार्यन्वयनले मात्र महिलाहरूको न्याय, समानता र स्वतन्त्रता नहुने महसुस भएपछि संयुक्त राष्ट्रसंघले विशेष अवधारणा अघि सारी ‘महिलामाथि हुने सबै प्रकारको भेदभावहरू उन्मुलनसम्बन्धी महासन्धि १९७८’ पारित गर्‍यो । यस महासन्धिमा नेपाल सरकारले सन् १९९१ अप्रिल २२ मा प्रतिबद्धता जनाउँदै हस्ताक्षर गर्‍यो ।

नेपालमा प्रजातन्त्र, लोकतन्त्र प्राप्तिको आन्दोलनमा महिलाहरूको महत्वपूर्ण योगदान र बलिदान रह्यो । स्वतन्त्रता र अधिकारको लडाईमा बन्दुकसम्म बोके । धेरै महिलाहरूले शहादात प्राप्त गरे । लोकतन्त्र स्थापना भयो । संविधान बन्यो । महिलाको हक भनेर नेपालको संविधान धारा ३८ मा मौलिक हकमै समावेश गरियो र कानुनहरू बनियो ।

संविधानको प्रस्तावनामा समाजवाद उन्मुख हुने छ भनि समाजवादतिर नेपाली समाजलाई मार्गनिर्देश गरिएको छ । समग्रमा महिला हकअधिकार असन्तुष्टिहरूको माझ जे जसरी आए पनि लिखित रूपमा आयो । विश्व प्रसिद्ध लेखिका सिमोन द बोउवारको भनाइ छ, ‘समाजवादबाट स्त्रीको समस्या हल हुन सक्दैन ।’

यस भनाईलाई मनन् गर्दा महिलाको लागि कानुन ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भएको देखिन्छ । कानुनी न्याय र समाजिक न्याय फरक हो । नेपाली समाज, त्यसमा पनि हिन्दु र मुस्लिम नेपाली समाजमा महिलाका लागि सामाजिक न्याय हात्तीको देखाउने दाँत र चपाउने दाँतमा फरक भए जस्तै छ ।

नेपाली समाजमा एउटा भनाई छ ‘छोरीको जन्म, हारेको कर्म’ । यस भनाईले प्रष्ट पार्छ छोरी जन्मँदै जित्नका लागि होइन हार्नका लागि जन्मन्छे । त्यसैले छोरीले जितेको हाम्रो समाजलाई पाच्य हुँदैन । जीत जीवनको सफलता हो । सफल हुनका लागि अरूलाई जितिराख्नु आवश्यक छैन केवल आफूलाई आत्मबलले पूर्ण बनाए पुग्छ । तर, प्रत्येक छोरीको आत्मबल, संस्कारको कडा घामले हिउँझै पगालिन्छ । असल संस्कारको बुहारी चाहिने समाजमा छोरीको गर्भमै हत्या गरिन्छ । एउटा नारी छोरी जन्माउँदा अपमानित, छोरा जन्माउँदा सम्मानित हुन्छे ।

भनिन्छ, ‘छोरा जन्मिए खसी काटिन्छ, छोरी जन्मिए फर्सी’ । यसरी हेर्दा पोषणयुक्त खाद्यान्नमासम्म ठगिएकी हुन्छे नारी । छोरा जन्मँदाको हर्ष, छोरी जन्मँदाको खिन्नता हुँदै छोरा र छोरीबीचको विभेद न्वारानको संस्कारदेखि शुरू हुन्छ । सुत्केरी पीडा निको नहुँदै छोरी जन्माएकोमा मानसिक यातना भोग्ने नारीको मस्तिष्क दासताबाट शासित भएर छोरा जन्माउनु वरदान छोरी जन्माउनु अभिषाप हो रहेछ भनेर स्वीकार्नु शिवाय अर्काे बिद्रोह कहिले जाग्दैन ।

भनिन्छ छोरी नै छोरी जन्माउने कोख नै ‘अलच्छिना’ । छोरा जन्मने आशै आशमा छोरीहरूको धेरै जन्म भएको घर शित युद्धभूमिझै हुन्छ । सम्वन्धको शितयुद्ध अदृष्य तर अनन्त हुन्छ । छोरा गर्भमा बोक्नु या छोरी गर्भमा बोक्नु महिलाको पाठेघरको के दोष र ? दोष त केवल पाठेघरमा चुहिएको पुरूषको विवादास्पद बिर्यको हो ।

महिलामा xx क्रोमोजम हुन्छ । पुरूषमा xy क्रोमोजम हुन्छ । पुरूषको x क्रोमोजम र महिलाको ह क्रोमोजमको मिलन भयो भने छोरी गर्भ बस्छ त्यसैगरी पुरूषको थ क्रोमोजम र महिलाको x क्रोमोजमको मिलन भयो भने छोरा गर्भ बस्छ भनेर विज्ञानले प्रमाणित गरिसकेको छ ।

व्यवहार जब नियमित हुन्छ तब त्यो संस्कार बन्छ । त्यहि संस्कारले प्रत्येक महिलालाई जूनीभर बन्दी बनाउँछ । यहि संस्कार परिवर्तन र रूपान्तरणको बाधक बन्छ । महिलाहरू आश्रित, परनिर्भर, आदेशपालक, पतिव्रता, परिवारको रेखदेख, कुल मर्दा, सामाजिक मर्यादाको संस्कारले महिलाहरूलाई नेतृत्व, पहुँच र शासनमा सहभागिताबाट अलग्याएको छ ।

यदि आफूले मानेको संस्कारले आफूलाई स्वाभिमानी र समृद्ध बनाउँदैन भने त्यो कुसंस्कार हो । त्यसैले कुसंस्कार परित्याग गर्नैपर्छ । महिलाहरूको सामाजिक न्याय स्थापित गर्न नेतृत्व, पहुँच र शासनमा सहभागिता हुनैपर्छ । तब मात्र छोरा र छोरीबीच विभेदको खाडल पुरिंदै जान्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७