बारामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप, १० राउण्ड हवाई फायर


३० कार्तिक २०७६, शनिबार

बारा, ३० कार्तिक । बाराको सिम्रौनगढमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

भारततर्फ तस्करी भइरहेको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोजेपछि झडप भएको हो । नियन्त्रणमा सिम्रौनगढ नगरपालिका–७ सतुआही नाकामा गए राति सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले १० राउण्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएको छ । सतुआही नाकाबाट राति ११ बजे चार वटा मोटरसाइकलमा छोकडा लोड गरी भारततर्फ लैैजाँदै गरेको सूचनाका आधारमा खटिएको प्रहरीले त्यसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको सीमा सुरक्षा बल १२ नम्बर गणका गणपती सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।

थोरैै संख्यामा रहेका सुरक्षाकर्मीले तस्करी गर्न लागिएको छोकडासहितको मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा नाका नजिकै रहेका पर्सा टोलका स्थानीयहरुको सहयोगमा तस्कर समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थापाले बताए ।

स्थानीयले सुरक्षाकर्मीहरुमाथि ढुङ्गामुढा गर्न थालेपछि तस्कर समूहले छोकडा र मोटरसाइकल लिएर भागेको थापाले बताएका छन् ।

स्थानीय र तस्कर समूहको आक्रमणबाट बच्नको लागि छोहडा नियन्त्रणमा लिन पुगेको थप सुरक्षाकर्मीले बाध्य भएर १० राउण्ड हवाईफायर गरेको थापाले बताएका छन् ।

पिपरपाती बेस क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक रामबहादुर भण्डारीकोे कमाण्डमा शुरुमा सशस्त्र प्रहरी परिचालन भएको थियो ।

अहिले बाराको विभिन्न नाकाबाट तस्कर समूहले तेश्रो मुलुकबाट नेपाल भित्रयाएका छोकडा, केराउ, कालो मरिच र सुपारी अवैध तरिकाले भारततर्फ लैजान खोजिरहेको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताएका छन् ।

नेपालबाट भारततर्फ तस्करहरुले लैजाने ती मालसामानहरुलाई बाराका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिन खोज्दा तस्करहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्नु अपराध नै भएको प्रजिअ पोखरेल बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७