क्षमतावान उम्मेद्वारलाई जिताउन आग्रह, कास्की-२ मा कसको पक्षमा बन्दैछ माहौल ?


३० कार्तिक २०७६, शनिबार
bidhya bhattarai

कास्की, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारीले उपनिर्वाचन जितेर मन्त्री बन्ने क्षमता भएको उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् ।

निर्वाचन परिचालन कमिटी वडा नं ११ ले आज आयोजना गरेको चुनावी प्रचार तथा घरदैलोअन्तर्गत आयोजित कोणसभामा उनले नेकपा उम्मेदवार विद्या भट्टराई निर्वाचन जितेपछि मन्त्री बन्ने भएकाले विकासका लागि उनलाई मत दिन आग्रह गरे ।

उनले भने, ‘तीन वर्ष अन्य पार्टीले कसैलाई पनि मन्त्री बनाउन सक्दैनन्, नेकपाले मात्र सक्छ । त्यसैले त्यस्तो उम्मेदवारलाई जिताएर आफ्नो ठाउँको विकास गरौं ।’ पूर्वमन्त्री समेत रहेका नेता अधिकारीले वर्तमान सरकारले भूमिहीन, दलित तथा सुकुम्वासीलाई लालपुर्जा दिने कानून बनाउनका लागि नेकपाको विजयको विकल्प नभएको उल्लेख गरे ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्व. रवीन्द्र अधिकारीका बाँकी रहेका अभिभारा र प्रतिबद्धतालाई आफूले हुबहु पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । जनताले अघिल्लो निर्वाचनमा पाँच वर्षका लागि अभिमत दिए पनि अकल्पनीय घटनाबाट पुनः चुनावमा आउनुपरेको भन्दै उनले आम पोखरेली जनताको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको स्पष्ट पारिन् ।

गोर्खा मेजर चन्द्रबहादुर पुनले वर्तमान सरकार आएपछि मात्र देशले विकासको लय समातेको बताउँदै वृद्धवृृद्धा, असहाय र अशक्तलाई हेर्ने पार्टीलाई जिताउन आग्रह गरेका थिए ।

घरदैलोअन्तर्गत नेकपाका नेता कार्यकर्ताले वडाका फूलबारी, मणिपाल, धरहरामार्गअन्तर्गतका टोलहरुमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । चु्नावको सरगर्मी बढेसँगै सबै उम्मेद्वार आफ्नो पक्षमा माहौल बनाउन चुनावी अयियानमा सक्रिय छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७