शरदको उत्कृष्ट ब्याटिङमा नेपालले हङकङविरुद्ध २१७ रन बनायो 


३० कार्तिक २०७६, शनिबार
sarad veshwakar

काठमाडौं, ३० कार्तिक । ओपनिङ धर्मराएको नेपालले मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर उत्कृष्ट ब्याटिङमा हङकङविरुद्ध २१७ रन बनाएको छ ।

बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २ सय १७ रन जोडेको हो ।

नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले ८९ रनको योगदान दिए । अन्तिम ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा मिडअन क्षेत्रमा क्याच आउट हुनुअघि उनले १ सय ३९ बलको सामना गर्दै ९ चौका प्रहार गरे । शरदले आफ्नो इनिङका दौरान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँग दुई महत्त्वपूर्ण साझेदारी गरेका थिए । 

तेस्रो ओभरमा ३–२ को दयनीय अवस्थामा रहेको नेपाललाई शरद र दीपेन्द्रसिंह ऐरीको तेस्रो विकेटको साझेदारीले उकासेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा र  दोस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल बोल्ड आउट भएको थिए ।  

 त्यसपछि दीपेन्द्र र शरदले तेस्रो विकेटका लागि राम्रो साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि दीपेन्द्र र शरदले ८३ रनको साझेदारी गरे । दिपेन्द्रले ६७ बलमा ३ चौका प्रहार गर्दै ३७ रन जोडे । उनी २३ औं ओभरको पाँचौ बलमा अफताब होसेनको बलमा स्टम्पिङ आउट भए ।  

 आरिफ र शरदले चौथो विकेटका लागि ७४ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्कोरतर्फ लम्काएका थिए । आरिफले ४८ बलमा ४२ रन जोडेका थिए । उनले यसक्रममा ३ चौका र ३ छक्का प्रहार गरे ।  

 आरिफको विकेट पतनपछि पवन सर्राफ ३ बलमा खाता नखोल्दै पेभेलियन फर्किए । उनले रौनक कपुरको बलमा रिटर्न क्याच दिए । विनोद भण्डारी पनि ठूलो सट खेल्ने धुनमा सर्ट मिड विकेटमा क्याचआउट भए । उनले १३ बलमा एक चौकासहित १५ रनको योगदान दिए । 

यस्तै करण केसी १२ बलमा ७ रन जोड्दै क्याचआउट भए । सुशन भारीले ६ र ललित राजवंशीले १ रन जोड्दा अभिनाष बोहोरा २ रनमा नटआउट रहे । 

हङकङका लागि एजाज खानले ३ विकेट लिए भने नसरुल्ला खान र एहसान खानले दुई–दुई विकेट बाँडे । अफताब हुसेन र रौनक कपुरको नाममा एक–एक विकेट रहयो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७