इलाममा सूर्योदय नगर महोत्सव हुने    


२९ कार्तिक २०७६, शुक्रबार
Horse riding beautiful girls at Kanyam Ilam 2

काठमाडौँ, २९ कात्तिक  । सुदूरपूर्वको पर्यटकीय क्षेत्र इलाममा सूर्योदय नगर महोत्सव आयोजना हुने भएको छ । सूर्योदय नगरपालिकाले आगामी मङ्सिर १४ देखि १८ सम्म प्रथम सूर्योदय नगर महोत्सव आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।          

 सरकारको घोषणा गरेको १०० पर्यटन गन्तव्यमध्ये प्रदेश नं १ को मुख्य पर्यटकीयस्थल कन्याम फिक्कल श्रीअन्तु सर्किट पर्यटकको लागि महत्वपूर्ण आकर्षण रहेको नगरपालिकाका प्रमुख रणबहादुर राइले बताए । अनुमानित रु ५० लाख खर्च हुने महोत्सवमा नगरपालिकाले २५ लाख लगानी गर्नेछ ।      

 प्रमुख राईका अनुसार भारतको दार्जेलिङ, सिक्किम, भूटान तथा बङ्गलादेशबाट समेत एकै दिनमा आइपुग्ने पहाडी गन्तव्य भएकाले सूर्योदय नगरपालिकाले भारतको मिरिक नगरपालिका तथा दार्जेलिङको स्थानीय सरकारसँग पनि सहकार्य गरिएको छ ।

 पहाडी क्षेत्रमा भारतसँग सिमाना जोडिएको एकमात्र पक्की सुगम सडकमार्गबाट इलाम भित्रने पर्यटक बढिरहेको उनले बताए । आकर्षक सूर्योदय अवलोकन गर्ने डाँडा श्रीअन्तु, चिया बगान फिक्कल, भारतसँग सिमाना जोडिएको बजार पशुपतिनगर, रेडपाण्डा संरक्षणस्थल गोर्खेलगायतका स्थानमा महोत्सवभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने तयारी भइरहेको बताए । पर्यटन विकाशका लागि पूर्वाधार आवश्यक रहेको उनले उल्लेख गरे ।  

 जम्मा ७३ चिया उद्योग रहेको नगरपालिकालाई ‘टि टेस्टिङ सेन्टर’को रुपमा विकास गर्ने तयारी भइरहेको नगरपालिका–९ का अध्यक्ष देवेन्द्र शर्माले जानकारी दिए । उनका अनुसार नगर क्षेत्रमा रहेका होटेल, रिसोर्ट तथा होमस्टेमा दैनिक तीन हजार ७५० पर्यटकलाई सेवा दिन सकिन्छ । सूर्योदय नगरपालिकाले यो वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।         

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७