शिवम् सिमेन्टले २९ करोड विद्युत् महसुल तिरेन्, काटियो विद्युतलाइन


३० कार्तिक २०७६, शनिबार
shivam IPO EKqay8Hj2F 1

हेटौँडा, ३० कात्तिक । हेटौँडामा रहेको शिवम् सिमेन्ट उद्योगले २९ करोड विद्युत् महसुल नतिरेपछि विद्युतलाइन काटिएको छ ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले पटकपटक ताकेता गर्दासमेत महसुल नबुझाएपछि शिवम् सिमेन्ट लगायत २० वटा उद्योगको विद्युत्लाइन काटेर कारवाही गरिएको केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिए ।

लामो समयदेखि विद्युत् महसुल नतिर्ने हेटौँडामा सञ्चालित २० वटा उद्योगको विद्युत्लाइन काटी कारवाहीप्रक्रिया अगाडि बढाइएको छ ।

शिवम् सिमेन्टलाई विगत चार वर्षदेखि बक्यौता रहेको विद्युत् महसुल तिर्न बाँकी रहेकोले छिटोभन्दा छिटो बक्यौता महसुल बुझाउन समेत पत्र पठाएको प्रमुख ठाकुरले पत्रकारहरुलाई भने । डेडिकेटेड विद्युत्लाइन लिएबापत सो उद्योगलाई उक्त रकम तिर्नुपरेको कार्यालय प्रमुख ठाकुरको भनाइ छ ।

ती उद्योगमा एक लाखदेखि रु दुई लाखसम्म बक्यौता रहेकोले लाइन काटिएको र ती उद्योगमा कूल रु २२ लाख राजश्व लिनुपर्ने प्रमुखले भन्नुभयो । हेटौँडामा करिब ६० हजार विद्युत् मिटर लिने ग्राहक रहेको र उनीहरुले मासिक रु १७ करोड शुल्क केन्द्रलाई बुझाउने गरेको बताइएको छ । साथै बक्यौता रकम नतिर्ने औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई कालोसूचीमा राखी महसुल असुल गरिएको छ ।

विद्युत् शुल्क बुझाउनका लागि काउन्टरको विस्तार तथा इ–बिलिङ मार्फत समेत विद्युत् महसुल बुझाउने व्यवस्था गरिएको छ । साथै, ग्रामीण विद्युतीकरणलगायत विद्युत विस्तारको कार्य र काठे पोल हटाउनेसमेत कार्य भइरहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७