नख्खु जेलमा आलम, छिनछिनमा टोलाउँछन्


१ मंसिर २०७६, आईतवार
alam nakhu jail ma

काठमाडौं, १ मंसिर । आफैले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा हाल्ने अफ्ताब आलमलाई ललितपुरको नख्खु जेलमा राखिएको छ ।

शनिबार बिहान नख्खु ल्याइएका आलमलाई सिआरसी (कम्युनिटी रिह्याबिटेसन सेन्टर) ब्लकमा राखिएको छ । यो ब्लकमा लागुऔषध दुर्व्यसनी र हत्या अभियोगका थुनुवा राखिन्छ ।

नख्खु कारागार स्रोतका अनुसार शनिबार बिदाको दिन परेकाले उनलाई लागुऔषध दुव्र्यसनीका थुनुवासँगै राखिएको छ । पुर्पक्षका लागि जेल पठाउन रौतहट जिल्ला अदालतले आदेश दिएपछि शुक्रबार राति गौरबाट हिँडाइएका आलमलाई शनिबार बिहान ४ बजे नख्खु पुर्‍याइएको थियो ।

शनिबार उनले सिआरसी ब्लकमै आराम गरेका थिए । उनी दिउँसो एकछिन कारागारभित्रै टहलिएका थिए । केहीबेर आफन्तसँग पनि भेटघाट गरेको कारागार स्रोतले बतायो । मधुमेहका रोगी आलमलाई परिवारले कारागारमै औषधि लगिदिएका थिए ।

उता, राजपुर बम विस्फोटमा घाइते भएर जिउँदै इँटाभट्टामा जलाइएका ओसी अख्तरकी आमा रुक्साना खातुनको हत्या पनि अफ्ताव आलमले नै गरेको प्रारम्भिक निष्कर्ष प्रहरीको छ । रुक्साना हत्या घटनाको प्रहरीले पुनः अनुसन्धान समेत गर्ने भएको छ ।

‘राजपुर घटनापछि ओसीकी आमा आलमविरुद्ध कारबाही हुनुपर्ने भन्दै कानुनी लडाइँमा उत्रेकी थिइन् । त्यही क्रममा उनको हत्या भयो,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले भने, ‘यो घटना आलमसँग जोडिएको देखिएकाले हामीले अनुसन्धान थालेका छौँ ।’

छोरा ओसी मारिएपछि रुक्सानाले आलमविरुद्ध जाहेरी दिएकी थिइन् । न्यायका लागि लड्दालड्दै उनलाई आलमले मुद्दा फिर्ता लिन धम्की र प्रलोभनको दबाब दिएका थिए । तर, मुद्दा फिर्ता नलिएकी उनको १० माघ ०६७ मा गोली हानी हत्या भएको थियो । उनको हत्यापछि श्रीमान् जोवर मियाँ कवाडीले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले घटनामा संलग्न भएको आशंकामा रुक्सानाका सहोदर देवर अदुद मियाँ कवाडीलाई पक्राउ गरे पनि अनुसन्धान नगरी छाडेको थियो ।

प्रहरीका अनुसार हत्या अभियोगमा पक्राउ परेका मियाँले स्थानीय जमिन्दार तथा कांग्रेसका स्थानीय नेता अली महम्मदको नाम पोलेका थिए । पछि प्रहरीले उनलाई पनि पक्राउ ग¥यो । महम्मदले जाहेरीकर्ता जोवरलाई ४ कट्ठा जमिन दिएपछि मिलापत्रमा मुद्दा टुंगिएको थियो ।

रौतहट प्रहरीका अनुसार महम्मद आलमका कर्ताकर्ता हुन् । प्रहरी स्रोतका अनुसार आलमकै निर्देशनपछि महम्मदले जोवरलाई ४ कट्ठा जग्गा दिएका थिए । रुक्सानाका श्रीमान् जोवर अहिले वैदेशिक रोजगारीका क्रममा दुबईमा छन् । उनले रुक्सानाको मृत्युलगत्तै अर्को विवाह गरेका थिए ।

‘रुक्साना र ओसी हत्या घटनाबीच केही सम्बन्ध रहेको पाइएको छ । हामीले नयाँ सिराबाट अनुसन्धान गरिरहेका छौँ । पक्कै पनि केही नयाँ तथ्य फेला पर्ला,’ एसपी खत्रीले भने । नयाँ पत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७