प्रहरीले नियन्त्रणमा लिएका सेनाका जवानको मृत्युपछि फिस्लिङमा तनाव, राजमार्ग अवरुद्ध


१ मंसिर २०७६, आईतवार
army

चितवन, १ मंसिर । प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका नेपाली सेनाका जवान मुग्लिनमा मृत्त फेला परेपछि स्थानीयले फिस्लिङमा पृथ्वीराजमार्ग अवरुद्ध गरेका छन् ।

आइतबार पौने १२ बजेबाट राजमार्गमा मोटरसाइकल बाहेक अरु गाडी नचलेको स्थानीयले जानकारी दिएका छन् ।  इच्छाकामाना गाउँपालिका–५ मुग्लिन बजारका युवा राम कँडेललाई आजै बिहान प्रहरीले नियन्त्रणमा लिएर फिस्लिङ चौकीमा राखेको थियो । हो हल्ला र झगडा गरेको भनेर नियन्त्रणमा लिइएको युवकको केही बेरपछि मृत्यु भएको भन्ने खबर आएपछि स्थानीय आक्रोशित भएका हुन् । 

इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार नियन्त्रणमा लिएर कार्यालयमा राखेपछि त्यहाँका प्रहरी हवल्दार बाहिर निस्केका बेला ती युवक दौडेर भिरबाट हाम्फालेका थिए । त्यसैका कारण युवकको निधन भएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तमाङले घटनास्थलको मुचुल्का उठाउने काम भइरहेको हुँदा विस्तृत विवरण पछि आउने बताए । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) एकनारायण कोइरालाको नेतृत्वमा एउटा टोली घटनास्थल फिस्लिङ पुगेको छ ।

‘के भएको हो, अनुशन्धान हुँदैछ । सबै कुरा पछि नै खुल्छ,’ चितवन प्रहरीका प्रवक्ता समेत रहेको डिएसपी कोइरालाले भने । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङले भने कँडेल चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा घाइते भएको जनाएको छ ।

मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए ।

कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दुव्र्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७