नेकपा बैठक : प्रचण्डलाई कार्यकारी अध्यक्ष, पोखरेललाई कार्यवाहक प्रधानमन्त्री बनाउने तयारी


१ मंसिर २०७६, आईतवार
CPN Meeting


काठमाडौं, १ मंसिर  : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आइतबार दिउँसो चार बजे बस्दैछ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा सरकार तथा पार्टीको जिम्मेवारीको बिषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार आइतबारको बैठकमा मन्त्रीपरिषद् हेरफेरको बिषयमा पनि छलफल हुनेछ ।

प्रधानमन्त्री केपी ओलीले सरकार र पार्टीको कामलाई प्रभावकारी बनाउन बिशेष निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा जिम्मेवारी हस्तान्तरणको समेत तयारी गरेका छन् ।

प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षको कार्यकारी भूमिका प्रचण्डलाई दिने तयारी गरेको स्रोतको दाबी छ । ५ भदौमा ओली सिंगापुर जाँदा बसेको सचिवालय बैठकले अध्यक्षका रूपमा कार्यकारी अधिकार प्रचण्डलाई दिएको थियो । भदौ ९ गते प्रचण्डको अध्यक्षतामा पहिलोपल्ट सचिवालयको बैठक बसेको थियो । आजको बैठकमा प्रचण्डलाई कार्यकारी अधिकार दिने सम्भवना रहेको बताइन्छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने ओलीको तयारी छ । ओली स्वास्थ्य उपचार र विदेश भ्रमणमा रहेका वेला पोखरेलले नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाल्ने गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘कार्यसम्पादन मूल्यांकनका आधारमा’ मन्त्रिपरिषद् हेरफेरको गृहकार्यसमेत गरेका छन् । यो विषयमा उनले अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरिरहेका छन् । त्यस्तै, पछिल्लोपटक वरिष्ठ नेता माधवकुमार नेपालबाट पनि सुझाब लिएका छन् । २५ सदस्यीय मन्त्रिपरिषद्बाट कम्तीमा सातदेखि १० जना मन्त्री फेर्ने गरी गृहकार्य चलिरहेको बालुवाटार स्रोतले बतायो । 

नयाँ मन्त्रीका रूपमा पूर्वएमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवार तथा पूर्वमाओवादी समूहबाट जनार्दन शर्मा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु साहलगायतको नाममा छलफल चलिरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७