खानेपानी मन्त्री मगरको प्रतिबद्धता : एक वर्षभित्र पुनर्वास क्षेत्रमा कालोपत्रे सडक


१ मंसिर २०७६, आईतवार
kanchanpur photo2

कञ्चनपुर, १ मंसिर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वासलगायत अन्य क्षेत्रहरुको विकासमा पहिलो प्राथमिकता दिने बताएकी छन् ।

कञ्चनपुरमा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री मगरले कञ्चनपुरको दक्षिणी भेग पुनर्बासस्थित दोदा नदीको अवलोकनका क्रममा अब पुनर्वास र अन्य क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताइन् ।

सदरमुकाम भन्दा टाढा रहेको यस क्षेत्रलाई विगतका दिनमा सरकारले खासै ध्यान नदिएको बताउँदै उनले यस क्षेत्रको विकासमा गम्भीर भएर लागेको बताइन् । ‘सरकारले गर्ने विकास सधैं बजार केन्द्रित बन्यो’, उनले भनिन्, ‘जसका कारण अहिलेसम्म यहाँका जनता धेरै सेवा सुविधाबाट बञ्चित बने । अब विकासले यस क्षेत्रलाई पनि छुनेछ । स्तरीय बाटोघाटो नहुँदा यस क्षेत्रका जनताको सदरमुकामबाट सम्बन्ध टुटेको छ ।’

उनले पुनर्बास नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ लाई जोड्ने लोकतान्त्रिक सडक कालोपत्रेका लागि पहल गर्ने बताइन् । यो सडक भित्री सडक भए पनि यस क्षेत्रका जनताका लागि महत्वपूर्ण भएकाले यसको कालोपत्रे गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने उनको भनाइ छ ।

‘यस सडकको कालोपत्रे भएपछि यो सडक पुनर्वासका जनतालाई धनगढीको सदरमुकामसँग जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ’, उनले भनिन्, ‘यसै आर्थिक बर्षभित्र कालोपत्रे निर्माणका लागि भौतिक मन्त्रालयमा पहल गर्नेछु ।’

मन्त्री मगरले पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापासँग भेट गरी सडक कालोपत्रे गर्ने विषयमा कुराकानी गरेकी छन् । भेटमा मेयर थापाले सडक कालोपत्रेका लागि नगरपालिकासँग बजेट अपुग भएकाले केन्द्र सरकारसँग बजेट थप गरिदिन मन्त्री मगरलाई आग्रह गरे । पुनर्वास नगरपालिकाकै पहलमा सडकको डिपिआर भने तयार भईसकेको छ ।

मन्त्री मगरले सोमबार नै प्राबिधिकको टोली आएर सडकको अवलोकन गर्ने र थप प्रक्रियाहरु अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन् । सो सडकमा पानी जम्ने समस्या पनि रहेकोले त्यसको दीर्घकालिन समाधानको उपायका साथ सडक कालोपत्रे गरिने मन्त्री मगरको भनाइ छ ।

सो अवसरमा पुनर्वास नगरपालिकाका मेयर थापा, बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक, सडक डिभिजनका ईञ्जीनियर अर्जुन बहादुर बम लगायतको उपस्थिति थियो ।

गत बर्ष पनि खानेपानी मन्त्री मगरले सरकारले दिएको ४ करोड रकम कञ्चनपुर क्षेत्रको विकासमा नै खर्च गरेकी थिइन् । उनले एक करोड रुपैयाँ पुनर्वास नगरपालिकालाई प्रदान गरेकी थिइन् । जसमा ४० लाख रकम पुनर्वास १० को लमैया पुल निर्माणका लागि खर्च भएको थियो । १० लाख पुनर्वास ९ मा भ्यू टावर निर्माणका लागि खर्च भएको थियो ।

त्यस्तै उनले बेलौरी नगरपालिकामा पनि एक करोड रुपैयाँ सडक निर्माण, बाटोघाटो निर्माण, बिद्यालय भवन निर्माण लगायतका कामका लागि छुट्याएकी थिइन् । त्यसैगरी लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाका लागि पनि एक–एक करोड रुपैयाँ उनले छुट्याएकी थिइन् ।

उनले कञ्चनपुरका बिभिन्न स्थानीय तहका एक सय स्थानमा खानेपानीका योजनाहरु समेत दिएकी छिन् । उनले बिद्यालय, मठ–मन्दिर, सार्वजनिक स्थानहरु, खेलकुद मैदान, चर्च, बिभिन्न समुहहरु, स्मृति भवनहरुमा पनि ट्यांकी, पानी फिल्टर, साना सिचाईका उपकरणहरु पनि पुर्‍याएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७