लगनशील भए घटनाको अनुसन्धानमा सफलता मिल्छ : प्रहरी प्रमुख खनाल


१ मंसिर २०७६, आईतवार
Sarbendra Khanal

काठमाडौं, १ मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारीप्रति लगनशील भई कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताएका छन् ।

महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा आज राजधानीमा आयोजित समारोहमा उनले प्रहरी कर्मचारीले पूर्ण व्यावसायिकताका साथ जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गरे नागरिकले सुरक्षाको पूर्ण अनुभूति प्राप्त गर्ने जिकिर गरे ।

प्रहरी कर्मचारीलाई इमान्दार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन निर्देशन दिँदै उनले समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाइ समाजलाई भयरहित बनाउनु प्रहरीको जिम्मेवारी भएको बताए ।

स्थानीय तह तथा समाजका सबै वर्गसँग सहकार्य गर्दै अगाडि बढ्न र आपराधिक गतिविधि नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमले महत्वपूर्ण योगदान पुगेको उनले बताए । समारोहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण सहयोगी र फलदायी रहेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना, ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र नागरिक समाजकातर्फबाट प्रा डा वासुदेव त्रिपाठीले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७