आश्रयस्थलबाट नौं शिशु गायब


२ मंसिर २०७६, सोमबार
sutkeri 1

ललितपुर, २ मंसिर । गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’ ।

नाम जस्तै यो गैरसरकारी संस्थाले बलात्कारलगायत घटनाबाट इच्छा विपरीत गर्भवती भएका व्यक्तिलाई आश्रय दिन्छ । प्रसूतिमा रेखदेख गर्छ । त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाई दिन्छ ।

तर, ती शिशु बढ्ने क्रमसँगसँगै त्यहाँबाट गायब हुन्छन् । कहाँ लगिइन्छन् त ती ? हराएका तिनै नौं बालबालिकाबारे सरकारले ३ महिनादेखि अनुसन्धान गरिरहेको छ । यसबारे सम्बन्धित महिलाको आफन्तले उजुरी गरेका थिए ।

रकममा किनबेच गरेको सिकायतपछि गृह मन्त्रालयले छानबिन गराएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल नेतृत्वमा खटेको प्रहरीसहितको टोलीले कात्तिक २० गते प्रतिवेदन बुझाएको थियो ।

त्यसलाई गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासनले जनाएको छ । गोप्य अनुसन्धान भनिएको उक्त प्रतिवेदनअनुसार ९ बालबालिकालाई ‘स्थापित परिवारमा हस्तान्तरण गरेको’ विवरण संस्थाले पेस गरेको देखिएको छ । भुसाल नेतृत्वको टोली अनुसन्धान गर्न दसैंअघि संस्थामा पुगेको थियो ।

त्यति बेला संस्थाका कर्मचारीले ती बालबालिका ‘योग्य परिवारमा दिइएको’ भने पनि कागजातपत्र नदेखाएको भुसालले जानकारी दिए । ‘संस्थाको भवन भव्य र व्यवस्थित रहेछ’, उनले भने, ‘भौतिक सुविधा राम्रो भए पनि आफैं बालबालिका हस्तान्तरण गर्नु कतिसम्म कानुनी वा गैरकानुनी हो भन्ने प्रश्न छ । सबै तथ्य अहिले नै भन्न मिल्दैन ।’

‘भ्रुणको आवाज’ मा १० किशोरी तथा महिलाले बच्चा जन्माएको उक्त संस्थाका कार्यकारी निर्देशक सोमन राईले बताए । ‘तीमध्ये एकको मृत्यु भयो । अन्य नौं जनालाई आमाले नै योग्य परिवारमा हस्तान्तरण गरेका हुन्’, दाबी उनले गरे । अनुसन्धानले भने संस्थाले आफूखुशी बालबालिका दिएको पाएको छ । बालबालिका कसैलाई दिन पाउने कानुनी प्रावधान छैन ।

बच्चा स्थापित परिवारमा दिँदा ‘मध्यस्थता’ को भूमिका खेल्ने संस्थाको विधानमा लेखिएको छ । तर, कानुनी रूपमा मध्यस्थताको भूमिका जिल्ला प्रशासन कार्यालयले मात्रै निर्वाह गर्ने जानकारी आफूले पाएको उनले स्वीकार गरे ।

‘विधान संशोधन गर्न जिल्ला प्रशासन गए पनि तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीले पढ्दै नपढी पुरानो विधानले काम गर्छ भन्नुभयो’, उनको भनाइ छ, ‘उहाँले चित्त नबुझे फाइल त्यहीं छाड्नु भन्नुभयो । संस्थाको फाइल सीडीओ कार्यालयमै छ ।’ बालबालिका लैजाने ‘योग्य परिवार’ बारे भने उनले खुलाएनन् ।

‘कानुन विपरीत देखिए कसैलाई पनि छाड्दैनौं । कानुनको दायरामा आउनै पर्छ’, प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले भने, ‘सही गलत के हो गृह मन्त्रालयले हेर्ला । कस्तो निर्देशन आउँछ, हामीले कानुनबमोजिम गर्नेछौं ।’

यो संस्था जिल्ला प्रशासन र समाज कल्याण परिषद्मा दर्ता भएको छ । यसका अध्यक्ष हेमलाल गौतम हुन् । अहिले पनि करिब ३ साताकी एक सुत्केरीले यो संस्थामा आश्रय लिइरहेकी छन् । १८ वर्षे उनी हाडनाताका व्यक्तिबाट बलात्कृत भएकी थिइन् । उनी एक महिना बसेर शिशु कसैलाई सुम्पिन चाहन्छिन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७