जेल गईसक्दा पनि आलम आतंक : मुद्दा चलाउने रौतहटका सरकारी वकिलको मकवानपुर सरुवा


२ मंसिर २०७६, सोमबार
alam nakhu jail ma

रौतहट, २ मंसिर । आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाउने मोहम्मद अफ्ताब आलमविरुद्ध मुद्दा चलाउने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता फणीन्द्रराज कटवालको मकवानपुर सरुवा भएको छ ।

आइतबार उनको सरुवा भएको हो । असुरक्षा महसुस भएको भन्दै उनले सरुवा मागेका थिए । आलम कारागार चलान भएलगत्तै शुक्रबार नै उनी जिल्ला छाडेर काठमाडौं आएका थिए ।

मकवानपुरका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद भट्टले केही दिनपछि अनिवार्य अवकाश पाउन लागेकाले रिक्त हुने स्थानमा कटवाललाई सरुवा गरिएको हो । रौतटहमा भने विशेष सरकारी वकिल कार्यालयमा कार्यरत सुवासकुमार भट्टराईलाई खटाइएको छ ।

त्यस्तै, ०६५ सालमा आलमविरुद्ध मुद्दा नचल्ने निर्णय गर्ने रौतहटका तत्कालीन सरकारी वकिल धु्रवमणि ज्ञवालीको वीरगञ्जबाट सुर्खेत सरुवा भएको छ । उनी उच्च सरकारी वकिलको कार्यालय वीरगन्जमा कार्यरत थिए ।

आलमको मुद्दा उच्च अदालतमा जाने र ज्ञवालीले नै बहस गर्नुपर्ने भएकाले उनलाई उच्च सरकारी वकिल कार्यालय सुर्खेत सरुवा गरिएको छ । उच्च सरकारी वकिल कार्यालय वीरगन्जमा विशेष सरकारी वकिल कार्यालयमा कार्यरत कृष्णमोहन कोइरालालाई पठाइएको छ ।

आलमलाई भेट्न इच्छुक धेरै तर, चार जनाले मात्र भेटे
आफैंले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा नख्खु जेल पुगेका मोहम्मद अफ्ताब आलमलाई भेट्न रौतहटबाट १२ जनाभन्दा धेरैको टोली आइतबार नख्खु कारागार पुगेको थियो । तर, चारजनाले मात्र भेट्न पाए । उनलाई बिहान ११ बजेपछि रौतहट कांग्रेस सभापति कृष्णप्रसाद यादव तथा आफन्तले भेटेका थिए ।

उनीहरूले थप पाँचजनालाई आलमसँग भेट गराउन कारागार प्रशासनसँग अनुरोध गरेका थिए । तर, प्रशासनले कारागारभित्र राजनीति नचल्ने भन्दै प्रवेशमै रोक लगायो । कारागारको नियमअनुसार आफन्त र अधिवक्ताबाहेक अन्यलाई भेट्न नमिल्ने भन्दै प्रशासनले फर्काइदिएको थियो ।

आलमलाई आइतबार भतिजा र भाइले भेटेका थिए । भेटघाटका लागि उनीहरूलाई प्रशासनले एक मिनेटको मात्रै समय दिएको थियो । भेटका क्रममा उनीहरूले फलफूल लगेका थिए । तर, आलमले फलफूल नलिएको कारागार स्रोतले जानकारी दियो ।

शुक्रबार मध्यरात गौरबाट हिँडाइएका उनी शनिबार बिहान ४ बजे मात्रै कारागार आइपुगेका थिए । कारागार ल्याइएपछि उनले दिनभर थकाइ मारे । कारागार स्रोतका अनुसार शनिबार दिउँसो पनि उनी केहीबेर कारागारभित्रै घुमघाम गरेका थिए ।

जेलभित्र कम बोल्ने आलमले राज्यले आफूलाई अन्याय गरेको भन्दै निर्दोष भएको बताउने गरेका छन् । उनको प्रस्तुति आवेगपूर्ण रहेको कारागार स्रोतले जानकारी दियो । ‘उनको प्रस्तुति एकदमै हिटलर (रिसाह) शैलीको छ,’ कारागारका एक कर्मचारीले भने । आलमले बिहान र बेलुका मधुमेह रोगको सुई लगाउने गरेका छन् । उनले रोटी र तरकारी खाने गरेका छन् ।

आलम परिवारका सदस्यले उनलाई आइतबार कारागारमा खाना ल्याउने बताइएको थियो । तर, परिवारले नल्याएपछि उनले कारागारले उपलब्ध गराएको खाना खाएका थिए । उनलाई अहिले जेलमा लागुऔषध दुव्र्यसनीका अभियुक्तसँगै राखिएको छ । आलमलाई सिआरसी (कम्युनिटी रिह्याबिटेसन सेन्टर) ब्लकमा राखिएको छ । यो ब्लकमा आगुऔषध दुव्र्यसनी र हत्या अभियोगका थुनुवा राखिन्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७