भिसा स्टिकरको आम्दानी ‘बेहिसाब’


२ मंसिर २०७६, सोमबार
visa

काठमाडौं, २ मंसिर । विदेशस्थित नेपाली कूटनीतिक नियोग तथा दूतावासले नेपाल आउने विदेशीलाई तीन किसिमका भिसा स्टिकर वितरण गर्छन् । त्यसबापत विदेशी मुद्रा आर्जन हुन्छ । तर, कति आम्दानी र खर्च हुन्छ भन्ने यकिन विवरण सरकारसँग छैन । यसबारे संसद्को सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ ।

महालेखा परीक्षकको ५५ औं प्रतिवेदनले भिसा स्टिकरको आम्दानी र खर्चको यथार्थ विवरणमा प्रश्न उठाएपछि संसदीय समिति अगाडि बढेको हो । नेकपा सांसद विरोध खतिवडा संयोजकत्वको बेरुजु फछ्र्योट उपसमितिमा भिसा स्टिकरबारे गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले स्पष्ट जवाफ दिएनन् । परराष्ट्र मन्त्रालयसँग त्यसको विवरण हुन सक्ने भन्दै उनीहरू पन्छिन खोजेको उपसमिति सदस्य बताउँछन् ।

उपसमितिले सात दिनभित्र विवरण पेस गर्न गृह र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। उपसमिति बैठकमा गृहसचिव राई र अध्यागमनका महानिर्देशक पौडेलले कुन–कुन दूतावास र नियोगबाट के कति भिसा स्टिकर वितरण भयो तथा त्यसबापतको आम्दानी तथा खर्चको विवरण सरकारसँग नभएको जवाफ दिएका थिए ।

भिसा स्टिकरमा खर्च भएअनुसार राजस्व प्राप्त भए–नभएको अनुगमन गरेको देखिएन’, प्रतिवेदनमा छ, ‘सोबापतको राजस्व यकिन गरी राजस्व हिसाब यथार्थपरक बनाइनु पर्छ ।’
वर्षाैदेखि विदेशमा रहेका दूतावास र कूटनीतिक नियोगमा भिसा स्टिकर पठाउने गरिएको छ ।

हालसम्म के कति वितरण भए र त्यसको आम्दानी कति भयो भन्नेसम्म सरकारसँग जवाफ नभएकोमा उपसमिति सदस्यले असन्तुष्टि पोखेका छन् । ‘भिसा स्टिकर बेचेको पैसा न अध्यागमनमा आएको देखिन्छ न त दूतावासमै त्यसको रेकर्ड राखेको देखिन्छ’, उपसमिति संयोजक खतिवडा भन्छन्, ‘यसमा त लुट नै देखियो ।’

भिसा स्टिकरबापत उठेको रकम सम्बन्धित दूतावास र कूटनीतिक नियोगले आफूखुसी खर्च गर्ने गरेको सरकारी अधिकारी बताउँछन् । नेपाली कूटनीतिक नियोग र दूतावासले तीन किसिमका भिसा स्टिकर जारी गर्ने गर्छन् । अध्यागमनका अनुसार १५ दिने, ३० दिने र ९० दिने गरी भिसा स्टिकर जारी गरिन्छ । आर्थिक वर्ष २०७४–७५ मा ९३ हजार ३६ थान भिसा स्टिकर खर्च भएको विभागले जनाएको छ ।

सरकारी कोषबाट खर्च गरेर वितरण गरिने भिसा स्टिकरको यथार्थ विवरण सरकारसँग नहुनु गम्भीर विषय भएको उपसमिति संयोजक खतिवडा बताउँछन् । ‘विदेशस्थित कूटनीतिक नियोग र दूतावासमा यसको यथार्थ विवरण नहुनु राम्रो होइन’, उनी भन्छन्, ‘जे जति आम्दानी हुन्छ, आफूखुसी खर्च गर्ने गरेको पाइयो ।’ महानिर्देशक पौडेल भिसा स्टिकरको विवरण संकलन सुरु गरिएको बताउँछन् । ‘हामीलाई प्राप्त भएका र नभएका स्टिकरबारे हामी विवरण तयार गर्छाैं’, उनी भन्छन् । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७