जेलमा के गर्दैछन् महरा ? बकपत्र मंसिर २९ मा


२ मंसिर २०७६, सोमबार
mahara

काठमाडौं, २ मंसिर । पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको जबरजस्ती करणी उद्योग मुद्दाबारे काठमाडौं जिल्ला अदालतले यही मंसिर २९ मा बकपत्र तोकेको छ ।

महरालाई पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागार पठाएको १५ दिन भैसकेको छ । कानुनअनुसार गम्भीर प्रकृतिको मुद्दामा अदालतमा लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था छ । जबरजस्ती करणी गम्भीर खालको मुद्दा भएकाले लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था गरिएको हो । लामो समय भएमा मुद्दाका पीडित, साक्षीले विभिन्न कारणले बकपत्र फेर्ने सम्भावना हुने भएकाले कानुनमा मुद्दाको लगातार सुनुवाइको व्यवस्था गरिएको हो ।

मुद्दाको प्रक्रियाअनुसार पीडित, साक्षी, भौतिक प्रमाण परीक्षणका रिपोर्ट लिई अदालतले अध्ययन गर्नुपर्छ । लगातार सुनुवाई हुनुपर्ने व्यवस्था भए पनि उपनिर्वाचनका कारण सुनुवाइ प्रक्रिया केही ढिलो हुने भएको जिल्ला अदालतले बताएको छ ।

देशभरका विभिन्न स्थानमा रिक्त रहेका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा र स्थानीय तहमा यही मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । ‘उपनिर्वाचनको कारणले मुद्दाको सुनुवाइ केही ढिलो भएको छ,’ जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले भने, ‘मुद्दामा मंसिर २९ मा बकपत्र तोकिएको छ ।’

घरेलु हिंसा, जबरजस्ती करणीलगायत गम्भीर खालका मुद्दा छिटो प्रक्रियामा लैजान लगातार सुनुवाइको व्यवस्था गरिएको हो । महराको मुद्दामा विभिन्न साक्षीलाई उपस्थित बनाउने काम हुने भएकाले पनि केही समय लाग्ने अदालतले जनाएको छ ।

कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबरजस्ती करणी उद्योग अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश गरेको थियो । देशको पाँचौं मर्यादाक्रम सभामुख पदबाट जबर्जस्ती करणी उद्योगसम्बन्धी आरोपमा मुद्दा दर्ता भइ पुर्पक्षका लागि अदालतले थुनामा पठाएका महरा पहिलो उच्चपदस्थ व्यक्ति हुन् । अदालतबाट मुद्दाको अन्तिम फैसला नहुन्जेल महरा थुनामै रहनेछन् ।

संघीय संसदकै सभामुखलाई आफ्नै कार्यालयमा कार्यरत कर्मचारीले जबरजस्ती करणी प्रयासको अभियोग लगाएको भन्दै थुनामा राखी अनुसन्धान गर्न आदेश भएको हो । जबरजस्ती करणी उद्योग मुद्दामा अदालतले प्रमाण बुझ्ने, पीडितको बयान लिने, साक्षी वकपत्रको काम सकेपछि मुद्दाको फैसला हुनेछ । जिल्ला सरकारी वकीलको कार्यालयले महराविरुद्ध ५ देखि साढे ७ वर्षसम्मको जेल सजाय, क्षतिपूर्ति माग गर्दै बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

महराले सार्वजनिक पदको दुरुपयोग गर्दै महिलामाथि जबरजस्ती करणी प्रयास गरेको भन्दै थप सजायसहित माग दाबी गरिएको छ । महरालाई प्रहरीले असोज १९ मा पक्राउ गरेको थियो । महरा पक्राउसिछ तीन पटक गरी २५ दिन अनुसन्धानका लागि म्याद थपिएको थियो ।

अनुसन्धानका लागि कानुनले दिएको २५ दिन म्याद सकिएलगत्तै महराविरुद्ध मुद्दा दर्ता गरिएको थियो । महरा अहिले कारागारमा किताव पढ्ने, आफूसँगै रहेका कैदीहरुसँग गफ गर्ने गर्दै दिन रात कटाइरहका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७