वडाध्यक्षबाट राजीनामा दिएर शिक्षक बने दिनेश


२ मंसिर २०७६, सोमबार
school 1

काठमाडौं, २ मंसिर । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् ।

विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकाल्नु भएको हो । तत्कालीन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार देवेन्द्र रोका र बुढामगरले ३२१ समान मत प्राप्त गरेपछि गोलाप्रथाद्वारा बुढामगर निर्वाचित हुनुभएको थियो ।

शिक्षक सेवा आयोगले लिएको सबै परीक्षा उतिर्ण भएपछि उनले वडाध्यक्ष पद त्यागेर मुस्ताङमा रहेर सेवा गर्ने निष्कर्षमा पुगेका हुन् । ‘वडाध्यक्षमा न त अधिकार देखियो न सुविधा नै, जनताको लागि केही गर्न नसकिने भएपछि पद ओगटेर मात्र के काम भनेर शिक्षण पेशा रोजे’, बुढामगरले भने । आगामी दिनमा राजनीतिमा नफर्किने सोचेका बुढामगरले बताए । ‘अब विद्यार्थीलाई आफूसँगको ज्ञान सिकाउँछु, शैक्षिक गुणस्तर सुधारका लागि सेवा गर्न चाहान्छु’, बुढामगरले भने ।

उनले गत बुधबार गाउँपालिकामा आएर राजीनामा दिएका थिए । सोही दिन गाउँ कार्यपालिकाको बैठक भएकाले सोही बैठकबाट बुढामगरको राजीनामा स्वीकृत गर्दै ज्येष्ठ वडासदस्य वीरबहादुर खड्कालाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिइएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए ।रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७