उपनिर्वाचन : चितवनमा नेकपा र कांग्रेसकै बीच कडा प्रतिष्पर्धा


२ मंसिर २०७६, सोमबार
chitwan

चितवन, २ मंसिर । यही मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि जिल्लाका तीन वटा वडामा निर्वाचन हुँदैछ ।

भरतपुर महानगरपालिका–१६ मा पाँच, खैरहनी नगरपालिका–४ र ५ मा चार÷चारजना उम्मेदवार रहेका छन् । पाँच राजनैतिक दल चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टी चुनावी मैदानमा छन् ।

भरतपुर महानगरपालिका–१६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तराज हमाल, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अम्बरबहादुर थापा र नेपाली काँग्रेसका अमृतराज हमालले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी खैरहनी–४ मा नेपाली कांग्रेसका देवप्रसाद बस्नेत, राप्रपाका अनुज अधिकारी, नेकपाका बेदबहादुर अधिकारी र राप्रपा संयुक्तका सीताराम थापाले मनोनयन दर्ता गराएका हुन् ।
खैरहनी–५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका बिकन महतो थारू, नेपाली कांग्रेसका प्रतिमा कार्की र नेकपाका पुननारायण प्रधानले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।

यसअघिको निर्वाचनमा भरतपुर–१६ मा तत्कालीन नेकपा एमाले र खैरहनीका दुवै वडामा नेपाली कांग्रेसले निर्वाचन जितेको थियो । भरतपुर–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोग र खैरहनीका वडाध्यक्षद्वय नरेन्द्र अधिकारी र विश्वविजय बस्नेतको सवारी दुर्घटनामा निधन भएको थियो । ती वडाहरुमा नेकपा र नेपाली कांग्रेसबीच प्रतिष्पर्धा रहेको छ ।

नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारले अहिले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएकाले तीनै स्थानमा आफ्नो जीत हुने दाबी गरे । नेकपाले भरतपुर–१६ मा उठाएका उम्मेदवार हमाल पूर्व शिक्षक हुन् भने खैरहनीका अधिकारी र प्रधान स्थानीय समाजसेवी हुन् ।

परियारले तीन वटै वडामा समिति निर्माण गरी प्रचारप्रसारको काम भइरहेको बताए । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तीन वटै वडामा कांग्रेसले जीत हासिल गर्ने दाबी गरे । खैरहनीका दुवै वडा यसअघि कांग्रेसले जितेको र भरतपुरमा झिनो मतले पराजित भएका व्यक्ति उम्मेदवार रहेका छन् ।

सभापति श्रेष्ठले अहिलेको सरकार र यहाँको जनप्रतिनिधिबाट जनअपेक्षाअनुसार काम नभएकाले कांग्रेसका पक्षमा मत आउने दाबी गरे । कांग्रेसले भरतपुर–१६ मा यसअघि पराजित भएका हमाल, खैरहनी–४ मा कार्यवाहक भएर काम गर्दै आएका वडा सदस्य बस्नेत र ५ मा मृत्यु भएका वडाध्यक्षका श्रीमती कार्कीलाई उम्मेदवार बनाएको छ । तीनवटै वडामा समिति बनाएर प्रचारप्रसारलाई तीव्रता दिइएको छ ।

दलहरुले आवश्यकताअनुसार जिल्ला र केन्द्रका नेता डाकेर प्रचार अभियान अगाडि बढाएका छन् । यसअघिको निर्वाचनमा भरतपुर–१६ मा नेकपा एमालेले दुई हजार १३२, नेपाली कांग्रेसले दुई हजार ६८, माओवादी केन्द्रले ९८९, राप्रपाले ६३, राष्ट्रिय जनमोर्चाले १२, नयाँ शक्तिले ११ र स्वतन्त्र उम्मेदवारले नौ मत प्राप्त गरेका थिए ।

यस्तै खैरहनी–४ मा नेपाली काँग्रेसले ७३५, नेकपा एमालेले ६७१, माओवादी केन्द्रले ३८६ र राप्रपाले २६ मत प्राप्त गरेका थिए । खैरहनी–५ मा नेपाली काँग्रेसले ६२७, नेकपा एमाले ३९८ माओवादी केन्द्र २७३, राप्रपा १२, राष्ट्रिय जनमोर्चा सात र नयाँ शक्तिले १३ मत पाएका थिए ।

जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार जिल्लामा ६ मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयमसेवक नियुक्त गरिने छ । ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७