भारतीय मिडियाले लेखे, ‘कालापानीबारे प्रधानमन्त्री ओलीले देखाए रवाफ’


२ मंसिर २०७६, सोमबार
india 1

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीको विषयमा आइतबार बोल्दै कालापानी नेपाली भूमि भएकाले त्यहाँबाट भारतीय सेना फिर्ता लैजान स्पष्ट रुपमा आग्रह गरे ।

भारतले नाकाबन्दी गरेका बेला राष्ट्रवादी अडान लिएका केपी ओलीको यस पटकको राष्ट्रवादी विचार नेपालीका सबैजसो सञ्चारमाध्यमको मुख्य समाचार बन्यो । छिमेकी देश भएका कारण नेपालको सीमा विवाद र प्रधानमन्त्रीको अभिव्यक्ति भारतीय सञ्चार माध्यममा आउने नै भए र आयो पनि ।

तर, भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित र प्रशारित गरेको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको मर्म केहि भारतीय सञ्चारमाध्यमहरुले भने सहि रुपमा बुझ्न नसकेको देखिएको अनुभूति हुने खालको देखिएका छन् ।

पछिल्लो समय जम्मु कस्मिरलाई दुई केन्द्र शासित क्षेत्र बनाउन भारतले जारी गरेको राजनीतिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सार्वजनिक रुपमै नेपाली भूमिमा रहेका भारतीय सेना फिर्ता लैजान आग्रह गरे भने सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने समेत दावी गरे ।
‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं । कतिपयले नक्सा सच्याउनु प¥यो भनेका छन् । नक्सा सच्याउने मात्र होइन सरकारले आफ्नो भूमि फिर्ता ल्याउँछ । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकार सक्षम छ,’ ओलीले भने, ‘यो सरकारले आफ्नो भूमि एक इञ्च मिच्न दिंदैन । नेपालीलाई अरूको जमिन पनि चाहिँदैन ।’

भारतीय अतिक्रमणविरूद्धको प्रधानमन्त्रीको उक्त भनाइले नेपाली सञ्चारमाध्यममा प्राथमकिता पाउने नै भयो । नेपालमा जस्तै भारतीय सञ्चारमाध्यमले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई निकै महत्व दिएर प्रकाशन र प्रशारण गरेका छन् ।

बिबिसी हिन्दी सेवाले ‘भारतसँगको कालापानी विवादबारे बोले नेपाली प्रधानमन्त्री, ‘एक इञ्च जमिन पनि मिल्ने छैन’ शीर्षकमा समाचार छापेको छ । यस्तै इन्डियन एक्प्रेसले ‘नक्सा विवाद : नेपाली प्रधानमन्त्रीले दाबी गरे कालापानी क्षेत्र, भारतलाई फिर्ता जान भने’ शीर्षक बनाएको छ ।
त्यस्तै डिजिटल पत्रिका स्क्रोलको समाचारमा शीर्षक राखिएको छ– सीमा विवाद : कालापानी क्षेत्रबाट तत्काल सेना फिर्ता गर्न नेपाली प्रधानमन्त्रीको आग्रह ।

आजतकले प्रधानमन्त्रीको भनाइलाई रवाफ भनेको छ । आजतकको समाचारको शीर्षक छ– कालापानी विवादमा नेपाली प्रधानमन्त्रीले भारतलाई देखाए रवाफ : एक इञ्च जमिन पनि दिन्नौं ।
नरेन्द्र मोदी नेतृत्वको सरकारले कालापानी क्षेत्रमा नेपाली सीमा मिचिएको कुरा अस्वीकार गर्दै आएको छ ।

कात्तिक २१ गते नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्साले नेपालसँगको सीमा परिवर्तन नगरेको दाबी गरेका छन् । उनले आफ्नो सार्वभौमिकताभित्रको नक्सा भारतले सार्वजनिक गरेको बताएका थिए ।

पत्रकार सम्मेलनका क्रममा एक जना पत्रकारले भारतको नयाँ राजनीतिक नक्साबारे नेपालमा व्यक्त भइरहेको आक्रोश र प्रदर्शनबारे भारतको धारणा के छ भनेर एक जना पत्रकारले सोधेका थिए । उनले सोधेका थिए, ‘नेपाल सरकारले विज्ञप्ति नै जारी गरेर कालापानी आफ्नो अभिन्न अङ्ग भएको बताइसकेको छ । यसबारे भारतको औपचारिक धारणा के हो ?’

जवाफमा प्रवक्ता रविशकुमारले भनेका छन्, ‘हाम्रो नयाँ नक्साले एकदमै ठीक तरिकाले भारतको सार्वभौम भूमि समेटेको छ । नयाँ नक्साले नेपालसँगको हाम्रो सीमा परिवर्तन गरेको छैन । दुई पक्षीय संयन्त्रबाट नेपालसँगको सीमा निर्धारण पक्रिया चलिरहेको छ । हामी वार्ताबाट दुई पक्षीय मैत्रीपूर्ण सम्बन्धको मर्मअनुसार समस्या समाधान गर्न तयार रहेको प्रतिवद्धता दोहो¥याउन चाहन्छौं ।

उनले सीमाको विषय उछाल्ने तत्वहरूलाई दुबै देशका सरकारले रोक्नुपर्ने समेत औंल्याएका थिए ।
यसैबीच भारतले अतिक्रमण गरेको भूमि नेपालको भएको दावी गर्दै नेपालका सबै राजनीतिक दलहरुले कुटनीतिक तवरबाट वार्ताको माध्यमबाट नेपाली भूमि आफ्नोमा ल्याउनु पर्नेमा एकमत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७