उपत्यकामा नयाँ ट्याक्सीको दर्ता खुल्दै


२ मंसिर २०७६, सोमबार
taxi 1

काठमाडौं, २ मंसिर । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ ।

यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

अहिले सडकमा रहेका ट्याक्सी पुराना रहेकाले तिनलाई हटाउँदै नयाँ र सुविधायुक्त ट्याक्सी ल्याउनुपर्ने उनले बताए । विभागका अनुसार सडकमा कस्ता र कति क्षमताका ट्याक्सी आवश्यक छ भनी अध्ययन भइरहेको छ ।

ट्याक्सीको दर्ता नियमित रूपमा खुलाउने भन्दा पनि केही समयका लागि खुलाइने उनको भनाइ छ । उनले भने, ‘अहिले केही समयका लागि र सीमित संख्यामा खुलाइने भए पनि त्यसपछि फेरि बन्द हुन्छ ।’

सरकारले लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा भूकम्पीडितलाई राहत दिने भन्दै विसं २०७२ भूकम्पीडित जिल्लावासीका लागि ट्याक्सीको दर्ता खुलाएको थियो । अहिले सडकमा रहेका ट्याक्सीमध्ये अधिकांश ८०० अश्वक्षमता बराबरका छन् । सिट पनि साँघुरो र कम क्षमताको हुँदा यात्रुलाई असहज रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७