मन्त्रिमण्डल पुनर्गठन गर्न शीर्ष नेतासँग छलफल गर्दै प्रधानमन्त्री, नयाँ मन्त्रीमा यी नेताको चर्चा


२ मंसिर २०७६, सोमबार
Cabinet Meeting

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनगर्ठनका लागि अहिले शीर्ष नेताहरुसँग छलफलमा रहेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार साँझसम्म मन्त्रिपरिषद् हेरफेर गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । आफ्नै क्षेत्राधिकारको विषय भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे शीर्ष नेताहरुसँग सल्लाह–सुझाव मागेका थिए ।

सचिवालय बैठकमा नेताहरूले पार्टीभत्रको शक्ति सन्तुलनअनुसार सबै पक्षलाई समेटेर चुस्त र प्रभावकारी समूह बनाउन सुझाव दिएको सचिवालय सदस्य झलनाथ खनालले बताएका छन् । मन्त्रिपरिषद हेरफेरबारे प्रधानमन्त्रीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य शीर्ष नेतासँग पनि परामर्श गरेका थिए ।

प्रधानमन्त्री ओली र नेता नेपालबीच लामो समयको संवादविहीनता केही दिनअघि टुटेको भए पनि खुलेर कुनै विषयमा कुराकानी नभएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले चौमासिक कार्य सम्पादन मूल्याङ्कनमा कमजोर देखिएका, सम्झौता बमोजिम कार्यसम्पादन नगर्नेहरूलाई हटाउने र नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

कार्यसम्पादन कमजोर हुने बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, खेलकुदमन्त्री जगत विश्वकर्मा, कृषि पशुपंक्षीमन्त्री चक्रपाणि खनाल बलदेव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लालबाबु पण्डित, खानेपानीमन्त्री बिना मगरलगायत छन् ।

स्रोतका अनुसार पहिलो चरणमा प्रधानमन्त्रीले ८ भन्दा बढी मन्त्री बदल्ने संकेत गरेका छन् । केही मन्त्रीको मन्त्रालय फेर्ने तयारी पनि प्रधानमन्त्रीको रहेको छ । स्रोतका अनुसार गोकुल बास्कोटालाई सञ्चार मन्त्रालयबाट हटाएर अरू मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ भने प्रदीप ज्ञवालीलाई परराष्ट्रमन्त्रीबाट हटाएर बिनाविभागीय मन्त्री बनाउने तयारी छ ।

प्रधानमन्त्री ओलीले यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलर परराष्ट्रमन्त्री ज्ञवालीलाई पनि बिना विभागीय बसेर आफूलाई सहयोग गर्न अनुरोध गरेका थिए । यसपल्ट ज्ञवालीलाई क्याबिनेट मिनिस्टर बनाउने तयारी गरिरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले नयाँ मन्त्रीका बारेमा पनि परामर्श गरिसकेका छन् । नयाँ अनुहारमा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य तथा झलनाथ खनालको क्याबिनेटमा बिनाविभागीय मन्त्री बनेका घनश्याम भुसाल, कृष्णगोपाल श्रेष्ठ, दोलखाका सांसद पार्वत गुरूङ, महेश बस्नेत, पर्वतका सांसद पदम गिरी, डोटीका सांसद प्रेम आले, ओखलढुङ्गाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारको नाम चर्चामा छ ।
स्रोतका अनुसार सुरेन्द्र पाण्डे पुनर्गठित मन्त्रिपरिषद्मा समेटिने पक्कापक्की छ भने बाँकीको नाम छलफलकै चरणमा रहेको स्रोतको भनाई छ ।

पूर्व माओवादी केन्द्र समूहमा पनि मन्त्री बन्नेमा रस्साकस्सी छ । स्रोतका अनुसार स्थायी कमिटी सदस्य अग्नी सापकोटा, पूर्व पार्टी प्रवक्ता, स्थायी कमिटी सदस्य पम्फा भुसाल, स्थायी कमिटी सदस्य तथा एकीकरणका सूत्राधारमध्येका जनार्दन शर्मा, देवेन्द्र पौडेल, पार्टीका प्रदेश नम्बर दुई अध्यक्ष प्रभु साह, लेखराज भट्ट आदि माओवादी केन्द्र समूहभित्र मन्त्री बन्ने दौडमा रहेका छन् । पौडेललाई पार्टी अध्यक्ष प्रचण्डले मन्त्री बन्ने आश्वासन दिएकाले ढुक्क जस्तै रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७