भाउ अचाकली बढेपछि बंगलादेशकी प्रधानमन्त्रीले खान छाडिन् प्याज


२ मंसिर २०७६, सोमबार
onion

काठमाडौं, २ मंसिर । प्याजको भाउ अचाकली बढेपछि अहिले नेपालका उपभोक्ता मारमा छन् । दाल, अहिले बजारमा बढेको प्याज भाउले यसको रागले जस्तै रुवाउने अवस्था छ । अहिले बजारमा प्याजको भाउ बढेपछि नेपालीको भान्छा समेत महंगिएको छ ।

उसो प्याजको भाउ बढेको नेपालमा मात्र भने होइन । हाम्रो नजिकैको मुलुक बंगलादेशमा अहिले प्याजको हाहाकार छ । जसका कारण बजारमा प्याजको भाउ सोधिनसक्नु छ । अरू बेला प्रतिकिलो ३० टाका (बंगलादेशी मुद्रा) मा पाइने प्याज अहिले एक किलोका २६० टाका पुगेको छ ।

प्याजको अभाव र महंगी यति छ कि प्रधानमन्त्री शेख हसिनाले प्याज नै खान छोडिदिएकी छन् ।
हसिनाको सचिवालयका प्रेस उपसचिव हसन जहिद तुसरले हवाइजहाजबाट प्याज आयात भइरहेको बताएका छन् ।

‘प्रधानमन्त्रीले पनि प्याज खान छोडिदिनु भयो । शनिबार प्रधानमन्त्री निवासमा पाकेका कुनै पनि खानामा प्याज राखिएको थिएन,’ उनले भने । ठूलो मात्रामा प्याज खपत हुने बंगलादेशमा भारतले निर्यात प्रतिबन्ध लगाएपछि अभाव हुन थालेको हो । अहिले बंगलादेश सरकारले म्यानमार, टर्की, चीन र इजिप्टबाट प्याज आयात गरेर माग धान्ने प्रयास गरिरहेको छ ।

ट्रेडिङ कर्पोरेशन अफ बंगालदेशले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल खोलेको छ । त्यहाँ ४५ टाकामा एक किलो प्याज पाइन्छ । सुपथ मूल्यमा प्याज किन्न मान्छेहरू घन्टौंदेखि लाइन बसेका हुन्छन् ।

‘अरू दुई घण्टा कुर्नु परे पनि म कुर्छु । यहाँको प्याज किने मैले एक किलोमा साढे २ सय जति टाका बचाउँछु । पैसा बचाउन म यहाँ उभिएको छु,’ लाइमा बसेका रतन नामका एक शिक्षकले समाचारपत्र गार्डियनलाई भनेका छन्, ‘म ४१ वर्षको भएँ । अहिलेसम्म प्याजको भाउ १२० टाकाभन्दा बढी भएको मैले देखेको थिइनँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७