मन्त्रिमण्डल पुनर्गठनको चर्चाले नेताहरुको दौडधुप, मन्त्रालय सुनसान


२ मंसिर २०७६, सोमबार
kp oli and puspa kamal dahal prachand 1

काठमाडौं, २ मंसिर । मन्त्रिमण्डल पुनर्गठनको चर्चासँगै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूको भेटघाट बाक्लिएसँगै अन्य नेताहरुको समेत दौडधुप बढेको छ ।

सोमवार बिहानैदेखि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा नेताहरूको जमघट बाक्लो भइरहेको छ ।

आइतवार साँझ बसेको नेकपाको सचिवालय बैठकमा अनौपचारिक रूपमै भए पनि मन्त्रिमण्डल पुनर्गठनको विषय उठेको थियो । सोमवार साँझसम्म हट्ने र नयाँ जिम्मेवारी लिनेको नामावली टुंगिने अनुमान गरिएको छ ।

बिहान ८ बजे पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका थिए । प्रचण्ड र नेपालबीच बदलिँदो राजनीतिक घटनाक्रम, मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा छलफल भएको खुमलटार स्रोतले बताएको छ ।

प्रचण्डलाई भेट्न जिम्मेवारीबाट हट्ने चर्चा चलेका केही मन्त्री सोमवार बिहानै खुमलटार पुगेका थिए । तर मन्त्रीहरूले नेता नेपाल र अध्यक्ष प्रचण्डसँग सामूहिक भेटघाट भने नगरेको स्रोतको दाबी छ ।

यता सोमवार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रूमबाट ‘माथिल्लो त्रिशूली थ्री ए जलविद्युत’ आयोजनाको उद्घाटन गरेर प्रधानमन्त्री ओली बालुवाटार नफर्किंदै नेकपाका केही नेता र मन्त्रीहरूको जमघट बालुवाटारमा भइसकेको थियो ।

‘मन्त्री र नेताहरू आउने जाने क्रम बिहानैदेखिको हो । यद्यपि को–को मन्त्री प्रधानमन्त्रीलाई भेट्न गए यकिन जानकारी भएन’, स्रोतले भन्यो । दुई अध्यक्षबीच साँझ ५ बजे भेटघाट हुने कार्यक्रम तय भएको छ । अध्यक्षद्वयको भेटघाटमा हटाउने र नयाँ ल्याउने मन्त्रीको अन्तिम नामावली टुंगो लगाइने स्रोतको दाबी छ ।

मन्त्रिमण्डल पुनर्गठनको हल्लाले मन्त्रालय सुनसान
मन्त्री फेरिने हल्लाले सिंहदरबारभित्रका धेरै मन्त्रालयहरु सोमबार सुनसान बने । प्रधानमन्त्री केपी शर्मा ओलीले एक–दुई दिनमै मन्त्री हेरफेर गर्ने तयारी थालेपछि मन्त्रालयहरुमा चहलपहल कम भएको हो ।

खासगरी मन्त्रिमण्डलबाट हट्ने चर्चामा रहेका मन्त्रीहरुको मन्त्रालय सबभन्दा बढी सुनसान देखिएका छन् । चक्रपाणि खनाल ‘बलदेव’ मन्त्री रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालय, मातृका यादव मन्त्री रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, रघुवीर महासेठ मन्त्री रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लालबाबु पण्डित मन्त्री रहेको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, थममाया थापा मन्त्री रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र रामबहादुर थापा बादल मन्त्री रहेका गृह मन्त्रालय सबभन्दा बढी सुनसान देखिएका हुन् ।

अरु दिन मन्त्रीका सचिवालय भरिभराउ हुन्थ्यो तर सोमबार सचिवालयका कर्मचारी बाहेक खासै व्यक्तिहरुको चहलपहल देखिएन । सोमबार रघुवीर महासेठ मन्त्रालयमा कुनै चहल पहल देखिन् । बरु एकै भवनको माथिल्लो तलाको बिना मगर मन्त्री रहेको खानेपानी मन्त्रालयमा चहलपहल देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७