मेडिकल कलेजमा शंकास्पद लगानी


३ मंसिर २०७६, मंगलवार
Medical college

काठमाडौं, ३ मंसिर । प्रधानमनन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले केही समयअघि निजी मेडिकल कलेजमा छापा मार्‍यो ।

निजी मेडिकल कलेजमाथि विद्यार्थीसँग तोकिएभन्दा बढी शुल्क लिएर ठगी गरेको आरोप लागेपछि छापा मारिएको थियो । उक्त केन्द्रलगायत अन्य निकायले निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी भएको ठहरसहितको प्रतिवेदन तयार पारेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही मेडिकल कलेजमाथि छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

उक्त विभागले ती कलेजमा भएको लगानी नै शंकास्पद देखिएको बताएको छ । विभागका एक अनुसन्धान अधिकृतका अनुसार नेपालमा सञ्चालनमा रहेको मेडिकल कलेजहरूमा आधाजसो मेडिकल कलेजमा रहेको लगानी (प्रमोटर सेयर) को स्रोत नै शंकास्पद छ । विभागले त्यस किसिमको शंका उत्पन्न भएपछि त्यस्ता कलेजहरूलाई प्राथमिकतामा राखेर छापा मारेको हो ।

विभागले आइतबार मात्र नेसनल मेडिकल कलेज वीरगन्ज, नोबेल मेडिकल कलेज विराटनगर र चितवन मेडिकल कलेज भरतपुरमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो ।

विभागले दोस्रो चरणमा गण्डकी मेडिकल कलेज पोखरा, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा, प्रस्तावित बिएन्डसी मेडिकल कलेज झापा, कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा छापा मार्ने तयारी गरिरहेको सोही विभागको उच्च स्रोतले नागरिकलाई बताएको छ ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले सतर्कता केन्द्रलगायत विभिन्न निकायको सिफारिसका आधारमा निजी मेडिकल कलेजहरूमाथि छापा मारिएको स्पष्ट पारे । मेडिकल कलेजहरूमाथि लगानीको स्रोत नै शंकास्पद रहेको निष्कर्षसहित विभागले अनुसन्धान गरिरहेको भन्दै थप बोल्न उचित नहुने प्रतिक्रिया दिए। विभाग परिणाममुखी काम गर्न लागिपरेको उल्लेख गर्दै उनले उपयुक्त समय आएपछि सबै कुरा बाहिर आउने बताए ।

निजी मेडिकल कलेजका सञ्चालकहरूमाथि गैरकानुनी स्रोतमार्फत सम्पत्ति संकलन गरेको अभियोग लागेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धान ती कलेजमा भएको लगानी शंकास्पद रहेको निष्कर्षमा पुगेको हो ।

त्यही अवस्थामा सतर्कता केन्द्रलगायत निकायबाट पनि सहायक कागजात प्राप्त भएपछि थप प्रमाण लोप गर्न सक्ने देखिएपछि तत्काल छापा मार्नुपरेको विभागका एक अनुसन्धान अधिकृतले बताए ।

विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत रहेकाले निजी मेडिकल कलेजमाथि छापा मार्न प्रधानमन्त्रीबाट ‘ग्रिन सिग्नल’ पाउनासाथ विभागले विभिन्न टोली खटाएर एकसाथ तीन मेडिकल कलेजमाथि छापा मारेको हो ।

छानबिन प्रक्रियामा संलग्न र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्बद्ध एक अनुसन्धान अधिकृतका अनुसार नेसनल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, नोबेल मेडिकल कलेज र झापाको सम्बन्धनको पर्खाइमा रहेको बिएन्डसी मेडिकल कलेजमा भएको लगानीको स्रोत शंकास्पद देखिन्छ ।

निजी मेडिकल कलेजहरूबाट विभागको नियन्त्रणमा आएका कागजात र प्रमाणहरू अध्ययन गर्दा कालो धन उपयोग गर्ने सेक्टरका रूपमा मेडिकल कलेज देखिएको भनी सहजै अनुमान गर्न सकिने ती अनुसन्धान अधिकृतको भनाइ छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७