आलमले शुरु गरे कारागारबाटै अर्को ‘चलखेल’, दिए यस्तो धम्की, ‘अब वो एसपीका भी बुरा होगा’


३ मंसिर २०७६, मंगलवार
alam 2

काठमाडौं, ३ मंसिर । कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफूलाई जबरजस्ती

नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन् ।

गिरीले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए । भेटपछि आलमले कारागार स्थानान्तरणका लागि हिन्दीमा लेखेको मागपत्र कारागार प्रशासनलाई बुझाएका छन् । उक्त मागपत्र कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पठाएको छ ।

स्थानान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने खेलअनुसार आएको हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ । मागपत्रमा रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै आलमले उनीहरूलाई राम्रो नहुने चेतावनी दिएका छन् । वो एसपी (भूपेन्द्र खत्री, रौतहट) ने मेरे साथ गलत किया, उसका भी बुरा होगा,’ आलमले लेखेका छन् ।

प्रहरीले आलमलाई भेट्न आउनेमाथि विशेष निगरानी राखेको छ । नख्खु कारागार आफ्ना लागि सहज नभएको उल्लेख गर्दै आलमले आफन्त र नातेदारबाहेक अरूलाई भेट्न नदिइएकोप्रति पनि असन्तुष्टि जनाएका छन् ।

‘मेरा सारा दोस्त मेरा रिस्तेदार है,’ उनले लेखेका छन्, ‘यहाँ (रौतहट) सुरक्षा दिन सकिँदैन भनेर रातारात कारागार स्थानान्तरण (नख्खु) गरियो, सुरक्षा दिने काम प्रशासनको हो न कि स्थानान्तरण ।’

असोज २६ मा पक्राउ गर्न गएका प्रहरीलाई समेत दुर्व्यवहार गरेका आलमले एसपी खत्री र डीएसपी नवीन कार्कीलाई हत्कडी लगाउने र जिल्ला अशान्त पार्ने धम्की दिएका थिए । त्यस क्रममा आलमले आफूलाई पक्राउ गरिएको प्रतिशोधमा जिल्ला अशान्त पार्ने र त्यसको जिम्मेवारी प्रहरीले नै लिनुपर्ने बताएका थिए ।

आफू रौतहट कारागारमा बस्न चाहे पनि सुरक्षाको कारण देखाउँदै नख्खु ल्याइएकोप्रति पनि उनको आक्रोश छ । उनले नेता गिरीलाई कारागार विभागका महानिर्देशकसँग कुरा गरेर रौतहट स्थानान्तरणको व्यवस्था मिलाउन आग्रह गरेका थिए । गिरीले यसबारे ‘माथि कुरा गर्छु’ भन्ने आश्वासन दिएको स्रोतको भनाइ छ । शान्ति सुरक्षा र परिस्थितिको विश्लेषण गरेर नै उनलाई रौतहटबाट नख्खु ल्याइएको र तत्काल स्थानान्तरणको अवस्था नरहेको विभाग स्रोतले बताएको छ ।

पक्राउपछि ३ साता लामो अनुसन्धान गरेर प्रहरीले आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण कसुरमा कैद सजाय हुने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा बुझाएको थियो । सोही प्रतिवेदनकै आधारमा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालले अदालतमा कात्तिक १८ मा मुद्दा चलाएका थिए ।

१० दिन लामो थुनछेक बहसपछि जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले गत शुक्रबार आलमलाई पुर्पक्षका लागि कारागारमा राख्न र पीडित एवं साक्षीको संरक्षण गर्न आदेश दिएको थियो । आदेशलगत्तै शुक्रबार राति नै प्रहरीले उनलाई नख्खु कारागार ल्याएको थियो । ०६४ चैत २७ गते राजपुर बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोग आलममाथि छ ।

यसैबीच आलमलाई सोमबार उनका छोरा तथा आफन्तले नख्खु कारागारमा पुगेर भेटेका छन् । आलमका छोरा मोहम्मद फिरोज आलम प्रहरी अस्पताल महाराजगन्जमा प्राविधिक (चिकित्सक) निरीक्षक (इन्स्पेक्टर) का रूपमा कार्यरत छन् । उनी एमबीबीएस चिकित्सक हुन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७