उपनिर्वाचन : भक्तपुरमा उम्मेदवारसँगै भोट माग्दै शीर्ष नेता घरदैलोमा


३ मंसिर २०७६, मंगलवार
bhaktapur 1

भक्तपुर, ३ मंसिर । भक्तपुर क्षेत्र नं १ (क) मा आगामी मंसिर १४ गते हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि भोट माग्दै विभिन्न दलका नेता मतदाताको घरदैलोमा पुगेका छन् ।

विगत एक सातादेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका नेता र्‍यालीसहित घरदैलोमा पुगेका हुन् । नेपाल मजदुर किसान पार्टीले भने हिजोदेखि घरदैलो अभियान शुरु गरेको छ । उम्मेदवारी दर्तादेखि घरदैलो अभियानमा उपनिर्वाचनका प्रमुख प्रतिष्पर्धी तीन दल नेकपा, कांग्रेस र नेमकिपाका शीर्ष नेता हरेक दिन बिहानैदेखि उम्मेदवारसँगै मतदाताका घरघरमा हात जोड्दै भोट माग्न पुगेका छन् ।

गत कात्तिक २१ नेकपाका सचिवालय सदस्य वामदेव गौतम, पार्टी स्थायी समिति सदस्य तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, सांसद महेश बस्नेत, प्रदेशसभा सदस्य रामेश्वर फँुयाल, शशिजङ्ग थापा, डा. राजेन्द्रमान श्रेष्ठ र सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष बचन देउजालगायतको नेतृत्वमा डिपी ढकालको उम्मेदवारी दर्ता गराएको नेकपाले घरदैलोमा केन्द्रीय नेता परिचालन गरेको छ ।

cong

त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापासहितको नेतृत्वमा कृष्णलाल भँडेलको उम्मेदवारी दर्ता गराएको कांग्रेसको घरदैलोमा पनि केन्द्रीय नेताको सहभागिता रहेको छ ।

नेपाल मजदुर किसान पार्टीले पार्टी सचिव एवं सांसद प्रेम सुवाल, प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंलगायतले निरज लवजूको उम्मेदवारी दर्ता गराएको नेमकिपा पनि घरदैलोमा केन्द्रीय नेतालाई साथमा लिएर भोट माग्न घरदैलोमा पुगेको छ ।

नेकपाले घरदैलोमा सरस्वतीखेलमा नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, दुवाकोटमा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश नं ३ का प्रदेश अध्यक्ष नारायण दाहाल, झौखेलमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदेशसभा सदस्य फूँयाल, चाँगुनारायणमा नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपाका केन्द्रीय सदस्य एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल, सांसद बस्नेत, चाँगुनारायणका नगर प्रमुख सोम मिश्र, नेकपा भक्तपुर इन्चार्ज दिलीप प्रजापतिलगायतका नेता भोट माग्दै घरदैलोमा पुग्नुभएको छ ।

नेकपाले आज छालिङमा शुरु भएको घरदैलोमा नेता अग्नि सापकोटाले नेतृत्व गर्दै भोट मागेका छन् । हरेक दिनको घरदैलोमा साथ दिंदै आएका सांसद बस्नेतले घरदैलोमा पार्टी अध्यक्ष प्रचण्डसमेत सहभागी हुने जानकारी दिए ।

nemakipa
फाइल फोटो

कांग्रेसले सरस्वतीखेल, दुवाकोट, झौखेल, चाँगुनारायण र छालिङमा सम्पन्न गरेको घरदैलोमा क्रमश : केन्द्रीय नेता एनपी साउद, पूर्वमन्त्री रमेश लेखक, पुष्पा भुषाल, पूर्वमन्त्री पूर्णबहादुर खड्का, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, उदयशम्शेर राणा, तरुण दलका नेता जीतजङ्ग बस्नेत, उत्तमकुमार चापागाईं, भुपेन्द्रजङ्ग शाहीलगायतको सहभागी भएर घरदैलोमा पुगेका छन् ।

कांग्रेसका उम्मेदवार भँडेललाई मातृशोक परे पनि काङ्ग्रेसले एक दिन घरदैलो स्थगित गरेर पुनः शुरु गरेको छ भने आज ताथलीमा घरदैलो गरेको निर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिए । बुधबार वागेश्वरीमा हुने घरदैलोमा नेता गगन थापाले नेतृत्व गर्ने उनले जानकारी दिए ।

नेमकिपाले सोमबार सरस्वतीखेलबाट शुरु गरेको घरदैलो आज बिहान दुवाकोटबाट शुरु गरेको छ भने आज दिउँसो ३ः०० बजे न्यौपानेगाउँमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले जनसभामा बोल्ने कार्यक्रम रहेको उम्मेदवार लवजूले जानकारी दिए ।

नेकपा समृद्ध भक्तपुरको एजेण्डा लिएर मतदातामाझ पुगेको छ भने कांग्रेस सरकारको आलोचनासँगै विकासका एजेण्डा लिएर मतदातामाझ पुगेको छ । नेमकिपा भने कालापानी र राष्ट्रियताको मुद्दासँगै विकासको एजेण्डालाई लिएर जनतामाझ मत माग्दै घरदैलोमा पुगेको छ । गत निर्वाचनमा निर्वाचित नेकपाका उम्मेदवार हरिशरण लामिछानेको मष्तिस्कघातका कारण मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७