शरद ऋतुको आरोहण : १२ सय आरोही हिमालमा

५९ देशका आरोहीले लिए अनुमति


३ मंसिर २०७६, मंगलवार
himal arohi

काठमाडौं, ३ मंसिर । सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार दुई सय आरोहीले आरोहण अनुमति लिएका छन् ।

सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन् ।

आरोहण अनुमति लिएका अधिकांश आरोही गन्तव्यतर्फ लागेका छन् । यो याममा सगरमाथाको आरोहण हुन सकेन । शरद ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकामा असफल भएको विभागले जनाएको छ ।

मनास्लु हिमाल आरोहण सकिएको छ भने अहिले अमादब्लम हिमालको आरोहण चलिरहेको विभागले जनाएको छ । कति संख्यामा आरोही गन्तव्यमा पुगे भन्नेबारे यकिन विवरण आइनसकेको विभागले जनाएको छ ।

विभागकी निर्देशक मीरा आचार्यले शरद ऋतुको यो याममा पनि हिमाल आरोहण उत्साहबर्धक रहेको बताइन् । ‘अटम सिजन’ नोभेम्बर महिनाभर हुने भएकाले अझै आरोहीको सङ्ख्या बढ्नसक्ने उनले बताइन् ।

यो याममा विभिन्न हिमाल तथा हिमश्रृङ्खला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लम हिमाल आरोहणका लागि २६ समूहका ३०१ ले आरोहण अनुमति लिएका छन् । शरद ऋतुको हिमाल आरोहणका लागि हालसम्म रु छ करोड ३१ लाख ७१ हजार राजश्व सङ्कलन भएको विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७