जुवाबाट रातारात अर्बपति, हेलिकोप्टरले डुबायो, जुवाले उकास्यो


४ मंसिर २०७६, बुधबार
juwa couda

काठमाडौं, ४ मंसिर । जुवाले मान्छेको उठिबास मात्र लगाउँदैन, रातारात अर्बपति पनि बनाउँदोरहेछ ! नत्र, हेलिकोप्टर कम्पनी डुबेको मान्छे जुवामा लागेर रातारात पाँचतारे होटलको मालिक कसरी बन्छ ?

अहिले झापाको काँकडभिट्टामा खुल्न लागेको पाँच तारे होटल ‘मेची क्राउन प्लाजा’ कुनै विदेशी वा स्वदेशका नाम चलेका धनाढ्यले हैन, जुवाको धन्दामा लागेका मान्छेहरूले बनाइरहेका छन् । डाँफे ट्राभल्स र हेलिकोप्टर कम्पनी एयर डाइनेस्टी चलाएर लगभग डुबेका पवित्र कार्कीले ‘बले’ भनेर चिनिने क्यासिनो लगानीकर्ता बलराम सापकोटासँग पार्टनरसीपमा उक्त होटल बनाएका हुन् ।

काठमाडौं–थिम्पुको नियमित उडान हुने ड्रुक एयरका टिकट एजेन्ट पनि पवित्र नै हुन् । तर, यी सबै घाटाका व्यापार थिए । कात्तिक ९ गते महाराजगञ्जको एक जुवाखालमा प्रहरीले छापा मार्दा पवित्र समातिएका छन् । उनीसँगै पार्टनर बले पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको छानवीनमा परेका छन् । जुवा मुद्दामा त अदालतले धरौटीमा छाड्न आदेश दिइसक्यो । तर, प्रहरीले सम्पत्ति शुद्धिकरण मुद्दामा फेरि पेश गरेपछि उक्त खालबाट समातिएका २५ जना नै अहिले हिरासतमा छन् ।

यो मुद्दामा अनुसन्धानको म्याद मात्र ९० दिनको हुन्छ । जुवा खेलाइने ठाउँमा छापा मार्दा दुई करोड ६७ लाख नगद, तीन लाखको चेकसहित केही ब्ल्यांक चेक समेत प्रहरीले बरामद गरेको थियो । ती बरामदी नगदको स्रोत नखुलेको भन्दै प्रहरीले प्रतिवेदन दिएका आधारमा पक्राउ परेका सबैको सम्पत्ति जाँचबुझको काम अगाडि बढेको हो ।

त्यसक्रममा खुल्यो, जुवा खेलाएरै पवित्र र बलेहरूले पाँचतारे होटलसम्म बनाउन भ्याएको कुरा । ‘बले’ काभ्रेका हुन् । पहिला बत्तीसपुतलीको क्याबिन रेष्टुरेण्टमा सरसफाई गर्ने उनी त्यहाँबाट त्यही कामका लागि दबारमार्गस्थित क्लब डाइनेस्टीमा पुगेका थिए ।

दरबारमार्ग छिरेपछि भारतबाट आउने धनाढ्यहरूलाई नेपाली चेलीबेटी भेटाइदिने धन्दा नै चलाए । त्यसपछि डान्सबार खोल्ने र त्यही आवरणमा नेपाली युवतीलाई भारतका विभिन्न शहर, दुबई र अफ्रिकी देशका डान्सबारमा पठाउने काममा लागे ।

यसरी आर्थिकस्तर बढाउँदै क्यासिनो खेल्नेहरूलाई मिटर व्याजमा रकम दिने काम थालेका उनले पाँच–सात वर्षमै चमत्कारिक प्रगति गरेका थिए । तर, अहिले सम्पत्ति शुद्धिकरणले उनको सबै स्रोतमाथि निर्ममताका साथ अनुसन्धान अगाडि बढाएको छ । शक्तिमा आउनेजति सबै नेताकहाँ पुग्ने, फोटो खिच्ने र त्यही फोटो देखाएर धनाढ्यहरूलाई प्रभावमा पार्ने गरेको आरोप उनीमाथि छ ।

पछिल्लो समय प्रधानन्यायाधीशका भाइ प्रभुसँग हिमचिम बढाएर न्यायालय नै आफूले चलाउने गरेको गफ दिन थालेका थिए । तर, जुवाखालमा समातिएको भोलिपल्टै छुट्नका लागि उनीहरूले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज भएपछि अदालतका नाममा उनले गर्ने गरेको ठगीको खुलासा भएको हो ।

काठमाडौंमा प्रशासनिक कडाइ बढेपछि बले बंगलादेशमा क्यासिनो खेलाउने काममा सक्रिय थिए । सिक्किम, भुटानसहित त्यहाँ जुवा खेलाउने क्रममा त्यताका ग्राहक ल्याउन सकिने बुझेपछि उनीसहित पवित्र कार्कीहरूले काँकडभिट्टामा क्यासिनोसहितको पाँचतारे होटल बनाउन शुरु गरेका हुन् ।

त्यसो त नेपाली जुवा बजारमाथि सिक्किमका निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङले पनि आँखा नलगाएका हैनन् । उनका छोरा विकासले होटल सोल्टीमा सञ्चालित क्यासिनो माजोङमा लगानी गरेका छन् । बलेको जस्तै आपराधिक पृष्ठभूमि भएका दावा शेर्पामार्फत विकास नेपाली जुवा बजारमा छिरेका हुन् । उनीहरूले सिक्किम, दुबई र सिंगापुरमा पनि क्यासिनो चलाएका छन् ।

दावालाई काठमाडौंमा गुण्डाको एउटा समूह र प्रहरीका हाकिमहरू जोडिएको मिटर व्याजीहरूको अर्को समूहबाट खतरा बढेपछि सिक्किममा लुक्दै आएका थिए । दुई महिनाअघि सम्पन्न निर्वाचनमा चाम्लिङको पार्टी पराजित भएपछि विकास र दावाले सिक्किम छाडेको खबर जनआस्था साप्ताहिकले छापेको छ । उनीहरूले हिजोआज सिंगापुर बसेर नेपालको जुवा बजारमा लगानी गरिरहेको बताइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७