सरकारी कर्मचारीको परीक्षा तयारी : सिंहदरबारदेखि वडासम्मका सेवा प्रभावित


५ मंसिर २०७६, बिहीबार
karmachari staff covil wNY50lo5Zy

काठमाडौं, ५ मंसिर । लोकसेवा आयोगलगायतका विभिन्न परीक्षा तयारीका कारण कर्मचारीले कार्यालयमा समय नदिँदा देशभरका सरकारी कार्यालयको सेवा प्रवाह प्रभावित बनेको छ ।

कर्मचारीहरूले कार्यालय समयमा कार्यालयमा नै बसेर परीक्षा तयारी गर्ने र बिदामा बसेर परीक्षाको तयारी गर्दा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि स्थानीय तहका वडा कार्यालयसम्मका सेवा प्रवाहमा सुस्तता आएको हो ।

सरकारीस्तरमा सक्षम प्रशासन बनाउने दृष्टिकोण नहुँदा यस्तो समस्या आएको प्रशासनविद् तथा पूर्वसचिव भीम उपाध्यायले बताए । उनले भने, ‘निजामति सेवामा रहेको कार्य सम्पादनलाई आधार मान्ने भन्दा पनि परीक्षा प्रणालीलाई मात्र आधार बनाउने संस्कार रहेसम्म यस्तो समस्या समाधान हुन सक्दैन ।’

अहिले निजामति सेवा प्रवेश गर्ने तथा बढुवा हुने समय भएकाले प्रत्येक वर्ष यस्तो समस्या आउने गरेको उनको भनाइ छ । ‘एक पटक परीक्षा उत्तीर्ण भएर आएकालाई जिन्दगीभर परीक्षा दिइरहनुपर्ने प्रणाली दोषपूर्ण छ,’ उनले भने, ‘एक पटक छनोट भएकालाई क्षमता वृद्धि गराउने र कार्य सम्पादनलाई आधार मानेर बढुवा गर्ने संस्कारको विकास गर्नुपर्छ ।’

सेवा प्रवेशको उमेर हद घटाउने तथा अनुभव र कार्य सम्पादनलाई महत्व दिन सके यस्तो समस्या नआउने दाबी उनको छ । लामो समयसम्म खुल्न नसकेका लोकसेवा आयोग र संस्थानलगायत विभिन्न सरकारी कार्यालयले विज्ञापन आह्वान गरेसँगै कर्मचारी पनि परीक्षामा जुटेकाले यस्तो समस्या उत्पन्न भएको कार्यालय प्रमुखले बताए ।

संघीयताको पूर्ण कार्यान्वयन भएको र समायोजनपछि ठूलो संख्यामा कर्मचारी आह्वान भएकाले परीक्षाको तयारी गर्ने कर्मचारीको संख्या उच्च रहेको उनीहरूले बताए । सेवा प्रवाहमा आएको सुस्तताका कारण सेवाग्राहीको गुनासो अत्यधिक मात्रामा आउने गरेको दाबी उनीहरूको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७