संकटमा सीमा : नेपाल–भारत छुट्याउने ४५ सीमास्तम्भ वर्षौदेखि गायव

‘हामीले मात्र चासो दिएर नहुने रहेछ, राज्यले नदेखेपछि कहाँ जोगिन्छ सीमा ।’


५ मंसिर २०७६, बिहीबार
Sima pilar

इलाम, ५ मंसिर । इलामको मानेभञ्ज्याङ्गदेखि जिर्मलेसम्मको भारतीय सीमा क्षेत्रमा मात्र ४५ सीमास्तम्भ वर्षौदेखि गायव छन् ।

नेपाल सरकारले हराएका सीमास्तम्भ वर्षौसम्म अद्यावधिक गर्न नसक्दा भारतीय सीमा क्षेत्रमा बस्दै आएका नेपालीहरुले विभिन्न समस्या झेल्नु परिरहेको छ । केहि वर्षअघि नेपाल–भारत अधिकारीहरुले सीमा क्षेत्रको अनुगमन गरेको भए पनि त्यसपछि सीमास्तम्भ पुनर्निर्माणका कुनै योजना आउन नसकेको सीमा प्रशासन कार्यालय पशुपतिनगरले जनाएको छ ।

सो समयमा नेपालका तर्फबाट सीमा विभागका उपमहानिर्देशक मधुसुधन अधिकारी, प्रमुख नापी अधिकृत तथा सीमा व्यवस्थापन प्रमुख दिपक दाहाल, सीमा अनुगमन विभागका अधिकृत पुण्यप्रसाद पौडेल र मनोजप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण डिभिजनका इन्जिनियर पारस अधिकारी साथै भारततर्फबाट सुकियास्थित भूमिसुधार कार्यालयका अधिकृत स्जाट्लर लटेला र रुद्र क्षेत्री सम्मिलित टोलीले नेपाल–भारत सीमास्तम्भहरुको अनुगमन गरेको थियो ।

टोलीमा नेपालका सशस्त्र प्रहरी र भारतका सीमा सुरक्षा बल (एसएसबी) समेत सहभागी थिए ।
वर्षाको समयमा आएको उक्त टोलीले पनि नेपाल–भारत छुट्याउने सबै स्थानका सीमास्तम्भहरुको अनुगमन नगरी फर्किएको थियो । सहजै पुग्ने ठाउँमा टोलीले सीमा अनुगमन गरे पनि बढी समस्या देखिएको सन्तपुर र मानेभञ्ज्याङ्ग क्षेत्रका सीमास्तम्भ अनुगमन नगरी फर्किएको थियो ।

उक्त अनुगमनबाट इलामको जिर्मलेका ८०, ८१ र ८२ नम्बरका ३ मुख्य सीमास्तम्भ (जङ्गगे पिलर), १० सब्सी दायरी पिलर (एसपी) र २९ माइनर पिलर (एमपी) गायब भएको पाइएको कार्यालयले जनाएको थियो । हराएका सीमास्तम्भको संकेतका लागि राखिएका ३ रिफ्लेक्ट पिलर (आरपी) पनि अझैसम्म भेटिएका छैनन् । विभागको तथ्याङ्कमा यस क्षेत्रमा तीनै प्रकारका जम्मा एक सय सात सीमास्तम्भ हुनुपर्ने उल्लेख छ ।

अनुगमनपछिको तथ्याङ्कमा पाँच मुख्य सीमास्तम्भ, ४३ एसपी र ४५ एमपी हुनुपर्ने र अहिले भएका सीमास्तम्भ पनि जीर्ण भएकाले मर्मत गर्नुपर्ने अवस्थामा पाइएका छन् । भारतीय पक्षले भने नेपालसँग समन्वय नगरी सीमाको अनुगमन गरेर लागत अनुमान समेत निकालिसकेको पाएको विभागले अनुगमनका क्रममा बताएको थियो ।

दुबै देशबीचका सीमास्तम्भमध्ये जोडी नम्बर रहेका स्तम्भ भारतले र बिजोडी नम्बर रहेका स्तम्भ नेपालले निर्माण गर्ने प्रावधान रहेको जनाइएको छ । विभागले सन् २००७ मा पनि यो क्षेत्रका सीमास्तम्भ अनुगमन गरी नक्सा तयार पारेको थियो । तर नेपालले भने अहिलेसम्म सीमा स्तम्भ अद्यावधिक गर्न चासो नदेखाएको स्थानीय बताउँछन् ।

सरकारले पूर्वको नेपाल–भारत सीमा स्तम्भ पटक–पटक अनुगमन गरेपछि संरक्षणका लागि कुनै काम नगरेको गुनासो गर्छन् । सीमा क्षेत्रको नेपाली बजार मानेभञ्ज्याङ्गका पासाङ्ग तामाङ्ग सरकारले नभई सीमा क्षेत्रका नेपालीहरुले अहिलेसम्म नेपाल–भारत सीमास्तम्भ जोगाई राखेको बताउँदै भन्छन्–‘हामीले मात्र चासो दिएर नहुने रहेछ, राज्यले नदेखेपछि कहाँ जोगिन्छ सीमा ।’


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७