साग खेलकूदका आवश्यक पूर्वाधार एक हप्ताभित्र तयार हुने


५ मंसिर २०७६, बिहीबार
dasaratha rangasala दशरथ रङ्गशालाpg 14

काठमाडौं, ५ मंसिर । यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकूद (साग)का निम्ति आवश्यक पर्ने भौतिक पूर्वाधार द्रुतगतिमा निर्माण भइरहेका छन् । यसै साताभित्र ती सबै पूर्वाधार निर्माण भइसक्ने जनाइएको छ ।

उद्घाटन र समापनका लागि मुख्यस्थलका रुपमा रहेको दशरथ रङ्गशाला, सातदोबाटोको पौडी पोखरी र पोखरा रङ्गशाला निर्माणको सम्पूर्ण काम यही मंसिर १२ गतेभित्र सम्पन्न हुने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताए ।

‘बुधबारदेखि दशरथ रङ्गशालाको ‘भिआइपी’ तर्फको छानो हाल्ने काम शुरु भएको छ, अन्य निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ’, खेलकूद मन्त्री विश्वकर्माले भने । उनका अनुसार साधारण प्यारापिटतर्फको भने यसअघि नै छानो हाल्ने काम सकिएको छ । अहिले साधारण प्यारापिटतर्फ कुर्सी हाल्ने काम अन्तिम चरणमा पुगेको छ । भिआइपीतर्फ भने छानो हाल्ने काम सकिएपछि मात्रै कुर्सी हाल्ने काम शुरु हुनेछ ।

दशरथ रङ्गशालाको भिआइपीतर्फको छानो एक हप्ताअघि काठमाडौं आइपुगेको थियो । स्थलमार्ग हुँदै छानो ल्याउने सम्भावना नभएपछि चिनियाँ विमानमार्फत कार्गो गरेर एक हप्ताअघि नेपाल आइपुगेको थियो । भिआइपी प्यारापिटतर्फको छानो चीनमा तयार भएर आएको हो ।

भिआइपीतर्फको छानो र ट्रस हाल्ने काम सँगसँगै अघि बढेकाले अबको तीन–चार दिनभित्र उक्त काम सकिनेछ । निर्धारित समयमा दशरथ रङ्शशाला तयार नभएपछि अहिले बिहान र बेलुका गरी दुई चरणमा करीब २०० भन्दाबढी कामदार खटिरहेको मन्त्री विश्वकर्माले बताए ।

विसं २०७२ को भूकम्पले दशरथ रङ्गशालालगायतको खेल संरचना क्षतिग्रस्त बनेको थियो । दशरथ रङ्गशालाको गेट निर्माण, रङ्गरोगन र सजावटका काम भइरहेका छन् । यता सातदोबाटोमा रहेको पौडी पोखरीको निर्माण कार्य पनि छिट्टै सकिने छ ।

दशरथ रङ्गशालामा सागको उद्घाटन र समापन समारोहबाहेक पुरुष फुटबल र एथ्लेटिक्स खेल हुनेछ । यस्तै पोखरामा निर्माणाधीन रहेको रङ्गशालाको प्यारापिट जोड्ने काम भइरहको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जानकारी दिएको छ । राखेपका अनुसार निर्माणाधीन मैदानका लागि आवश्यक ‘स्टिल मोडुलर ग्रान्डस्ट्याण्ड’ दुई दिनअघि पोखरा पुगेको हो । अबको पाँच दिनभित्र सबै निर्माण कार्य सम्पन्न हुनेछ ।

राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३ औं सागका लागि झण्डै साढे चार अर्ब बजेट छुट्याएको छ । पूर्वाधार निर्माणका लागि रु एक अर्ब ६२ करोड तथा प्रतियोगिता आयोजनाका लागि रु तीन अर्ब ६५ करोड बजेट रहेको छ ।

नेपालले नै दोस्रो पटक आयोजना गरेको आठौं सागमा ल्याएको ऐतिहासिक सफलतालाई १३ औं सागमा पुनरावृत्ति गर्ने सरकारको लक्ष्य छ । सन् १९९९ मा घरेलु मैदानमा भएको आठौं साफमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको थियो ।

त्यतिबेला नेपालले आयोजकका नाताले तेक्वान्दो र कराते खेललाई प्रतियोगितामा समावेश गरेको थियो । कराते र तेक्वान्दोबाट समान १४–१४ स्वर्ण जितेको थियो । नेपाल कूल ३१ स्वर्ण, १० रजत र २४ काँस्यसहित ६५ पदक जितेर दोस्रो स्थानमा रहन सफल भएको थियो । सन् १९८४ मा नेपालबाट शुरुवात भएको दक्षिण एशियाली खेलको १३ औं संस्करण करीब २० वर्षपछि नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो ।

पूर्वाधारपछि महत्वपूर्ण रहेको सुरक्षामा समेत कुनै कमजोरी नहुने गरी व्यवस्थापनको तयारी गरिएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले बताए । उनका अनुसार प्रतियोगिताका लागि २० हजार हाराहारीमा सुरक्षाकर्मी तथा दुई हजार स्वयंसेवक परिचालन गरिने र १५ हजारको सहभागितामा भव्यताका साथ सागको उद्घाटन हुनेछ ।

सागअन्तर्गतको काठमाडौंमा २१, पोखरामा नौ र जनकपुरमा एउटा खेल आयोजना हुनेछ । प्रतियोगितामा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७