सीमा अतिक्रमणबारे भारतलाई ‘कूटनीतिक नोट’


६ मंसिर २०७६, शुक्रबार

काठमाडौं, ६ मंसिर । भारतले नेपाली भूमि मिचेर नयाँ राजनीतिक नक्सा जारी गरेको विषयमा सरकारले ‘कूटनीतिक नोट’ पठाएर उसको ध्यानाकर्षण गराएको छ ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार कूटनीतिक नोट दिल्लीलाई पठाइएको हो । यसकै आधारमा नेपाल र भारतबीच सीमा विवादका विषयमा वार्ता हुने दाबी पनि अधिकारीको छ । यसअघि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय उच्च अधिकारीसँग भेट गरी समस्या समाधानको पहल गरेका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो विषयमा नेपालले भारतसँग आरम्भदेखि नै कूटनीतिक पहल गरिरहेको बताए । ‘सगरमाथा संवाद’ सचिवालयको आरम्भ गर्दै मन्त्री ज्ञवालीले भारतसँग कूटनीतिक छलफल भइरहेको बताएका हुन् ।

सरकारले बाहिर बोल्ने मात्र होइन, भित्र आफ्ना तर्फबाट गर्नुपर्ने कार्य गरिरहेको दाबी उनले गरे । भारतले कात्तिक १७ मा जारी गरेको नक्सामा नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई अतिक्रमण गरेको छ ।

सरकारले कात्तिक २० मा विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपाली भूभाग रहेको विषयमा आफू स्पष्ट रहेको बताएको थियो । त्यो वक्तव्यलाई झारा टार्ने भनी आलोचना भएको थियो ।

त्यसको भोलिपल्ट भारतको विदेश मन्त्रालयले आफ्नो राजनीतिक नक्सामा भारतको सार्वभौम भूमि रहेको उल्लेख गरेको थियो । उसले नक्सामा कुनै सीमा परिवर्तन नगरिएको भन्दै नेपालको धारणालाई अस्वीकार गरेको शैलीमा जवाफ दिएको थियो ।

सीमा समस्या समाधान गर्न सर्वपक्षीय बैठक बसेको थियो । सबैले सरकारलाई अडान राख्न र खुट्टा नकमाउन आग्रह गरेका थिए ।

तर सरकारले भाषण बढी कूटनीतिक कार्य कम गरेको भन्दै आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी ओलीले कूटनीतिक बाटो प्रयोग नगरी सार्वजनिक कार्यक्रममा नेपाली भूमि मिचेर बसेको सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७