भूपू सैनिकहरुको नवीकरण र रुजु कार्य शुरु


६ मंसिर २०७६, शुक्रबार
gorkha 759

बागलुङ, ६ मंसिर । बागलुङमा पेन्सन क्याम्प शुरु भएको छ । विगतका वर्षहरुमा जस्तै चहलपहल नदेखिए पनि भारतीय सेना र विभिन्न संस्थाबाट अवकाश प्राप्त भूपू सैनिकको बागलुङ बजारमा चहलपहल देखिन थालेको छ । प्रत्येक ६ महिनामा हुँदै आएको क्याम्प यस वर्ष १ वर्षको अन्तरालमा बिहीबारदेखि शुरु भएको हो ।

यसअघिका क्याम्पमा भूतपूर्वहरुले पैसा नै बोकेर जान्थे तर यस पटक भने आफू ज्यूँदै रहेको, पेन्सनरको मृत्यु भएको, परिवारले पाउने पेन्सनको विषयमा जानकारी र मृतकको पेन्सन पट्टा दाखिलाको काम मात्रै हुनेछ ।

एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकमा खोलिएका खातामार्फत प्रत्येक महिना निवृत्तिभरण पाउनेहरुको खातामै रकम जाने भएकाले पेन्सन क्याम्पमा भूतपूर्वहरुको चाप भए पनि आर्थिक चाप कम देखिएको हो । क्याम्प मंसिर १३ गतेसम्म चल्ने जिल्ला सैनिक बोर्ड बागलुङका सेक्रेटरी पूर्णबहादुर थापाले जानकारी दिए ।

सदरमुकाम बागलुङमा रहेको क्याम्पबाट विगतमा करिब ८० करोड रकम वितरण हुन्थ्यो तर गत बर्षदेखि बैंकको खातामै रकम जम्मा हुने भएकाले यसपालि रकम वितरण भने क्याम्पमा हुनेछैन । सैनिक बोर्डका अनुसार साबिकको धौलागिरी अञ्चलमा आठ हजारभन्दा धेरै पेन्सनर रहेका छन् ।

केहीले पछिल्लो सयम बैंकबाटै पेन्सन बुझ्ने गरेका छन् । वर्षमा दुई पटक हुने गरेको क्याम्पले चहलपहल बढ्ने गरेको बागलुङ बजारमा यस बर्ष भने सामान्य चहलपहल देखिएको छ । तर क्याम्पमै रकम वितरण हुँदाको जस्तो आर्थिक कारोवार भने नभएको व्यवसायीहरु बताउँछन् ।

भारतीय सेना र भारतका विभिन्न सङ्घसंस्थाबाट अवकाश प्राप्त भूपूलाई पेन्सन दिनका लागि हरेक वर्ष नवीकरण गर्ने प्रक्रिया थालिएको छ । बैंक खातामा पेन्सन आउने भए पनि पेन्सनरहरु भने बैंकमा समेत लाइन लाग्ने गरेका छन् ।

‘हरेक अङ्ग्रेजी महिनाको अन्तिम दिन पेन्सन रकम खातामा आउँछ’, थापाले भने, ‘खातामा रहेको रकम जहिले पनि निकाल्न मिल्छ तर भीडभाड हुने गरेको छ ।’ पेन्सन खातामा जम्मा भएको रकममा ब्याज समेत प्राप्त हुने भए पनि पेन्सनरहरुले नबुझेका कारण बैंकमा भीडभाड हुने गरेको थापाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७