सरकारले राज्यले गरेका प्रतिबद्धता कार्यान्वयन गर्नैपर्छ : शर्मा


८ मंसिर २०७६, आईतवार
Anup Sharma Anup

काठमाडौं, ८ मंसिर । मानवाधिकारकर्मी तथा न्याय क्षेत्रका जानकारहरुले दण्डहीनता अन्त्यका लागि राज्यका तर्फबाट गरिएका प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा दिएका छन् ।

फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘पत्रकार सुरक्षा र दण्डहीनता’ विषयक कार्यक्रममा उनीहरुले पत्रकारिता मात्र होइन अन्य क्षेत्रमा पनि न्याय नपाउने तथा पाए पनि ढिला पाउने अवस्थाले लोकतान्त्रिक प्रक्रिया नै कमजोर हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दण्डहीनता अन्त्यका लागि पत्रकार र मानवाधिकारकर्मी मिलेर संयुक्त अभियानको थालनी गर्नुपर्ने बेला आएको बताए । राज्यद्वारा गरिएका प्रतिबद्धता कार्यान्वयन नहुने कारणले पनि दण्डहीनता बढ्ने भन्दै उनले संविधानले व्यवस्था गरेको लोकतान्त्रिक पद्धति व्यवहारमा कार्यान्वयन गर्न सके मात्र जनतालाई वास्तविक अधिकार प्रदान हुने बताए ।

नेपालको संविधानमा भएका मौलिक अधिकार कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष शर्माले कुनै पनि कानून निर्माण गर्दा सरोेकारवाला पक्षसँग आवश्यक परामर्श र छलफल गर्नु आवश्यक रहेकामा जोड दिए ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको विकासमा पत्रकारले सूचना प्रवाहमार्फत महत्वपूर्ण योगदान गरेको बताउँदै राज्यले सञ्चारजगत्लाई आवश्यक सेवा सुविधा दिनुपर्नेमा जोड दिइन् ।

नेपाल जस्ता तेस्रो विश्वका मुलुकमा पत्रकारले समाचार लेखेकै आधारमा जीवन जोखिममा पर्ने गरेको उल्लेख गर्दै उनले नागरिकको स्वतन्त्रता हनन गर्ने र स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्न खोज्नेले आफ्ना दिन पनि सधैँ रहँदैनन् भन्ने हेक्का राख्नुपर्ने बताइन् ।

वरिष्ठ पत्रकार हरिहर विरहीले सञ्चारजगत् नै भयभित भएको अवस्थामा अन्य क्षेत्रको अवस्था के होला भनी प्रश्न गरेका छन् । उनले दण्डहीनता अन्त्यका लागि सञ्चार क्षेत्र अबिचलित भई लागिरहनुपर्ने सुझाव दिए ।

फ्रिडम फोरमका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत तारानाथ दाहालले पत्रकारको हकहितका लागि मुलुकभर गर्दै आएका कामका बारेमा जानकारी गराउँदै न्यायको आवाज नथिचियोस् भनेर र दण्डहीनता अन्त्यका लागि आफूहरुले दबाब दिँदै आएको बताए ।
फोरमका अध्यक्ष हरिविनोद अधिकारीले पत्रकारको सुरक्षा र दण्डहीनता अन्त्य लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा साहसिक पत्रकारिता पुरस्कार डोटीका रेडियो पत्रकार सुनिता रावल, अनुसन्धानात्मक पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका पत्रकार कृष्ण आचार्य र सूचनाको हकका अभियन्ता बाँकेका कानून व्यवसायी विश्वजित तिवारीलाई प्रदान गरिएको थियो । अध्यक्ष शर्माले प्रदान गरेको तीनै पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

कार्यक्रममा विसं २०५२ देखि हालसम्म हत्या भएका र बेपत्ता पारिएका पत्रकार, सञ्चारकर्मीहरुको कानूनी अवस्थाबारे जानकारी गराइएको थियो । बेपत्ता पारिएका कैलालीका पत्रकार जेपी जोशीका श्रीमती बसन्तीदेवी जोशी, हत्या गरिएका झापाका पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) की छोरी तृष्णा आचार्य, हत्या गरिएका कालीकोटका पत्रकार नवराज शर्माकी छोरी साबु शर्मा र हत्या गरिएका दाङका सञ्चार उद्यमी देवीप्रसाद धितालकी छोरी मनिषा धितालले हालसम्म पनि आफूहरुले न्याय नपाएको र त्यसयताका भोग्नु परेका दुःख चुनौतीबारे सुनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७