धरानमा नेकपासँग कसैको प्रतिस्पर्धा नै छैन : प्रकाश राई


८ मंसिर २०७६, आईतवार
Prakash Rai Isara

धरान,  पूर्व, पश्चिम र उत्तरमा पहाड । दक्षिणतिर तराईसँग जोडिएको चारकोशे झाडी । दुवै तर्फ खोला । पश्चिममा सर्दु र पूर्वमा सेउती । पूर्वी पहाड र तराईको संगम स्थल (भाबर प्रदेश) तथा समशीतोष्ण हावापानी । पूर्वको प्रसिद्ध पर्यटकीयस्थल भेडेटारलाई सिरानी हालेर सर्दु र सेउती खेलाकोबीचमा लमतन्न पल्टेको छ, धरान । धरानको भौगोलिक परिचय यही हो । भौगोलिक रुपमा धरानको परिचय जति सुन्दर छ, सामाजिक र सांस्कृति रुपमा पनि उस्तै सुन्दर र विशिष्ट छ । त्यो धेरै परिचय मध्ये एउटा परिचय हो, ‘लाहुरेको शहर ।’ यही शहरमा छाती नपाएर कति लाहुर गए, कति हराए, कति फर्किए ? गनीसाध्य छैन । बेहिसाब छ ।

पहिलो र दोस्रो विश्वयुद्धमा हजारौं युवाहरु युद्ध लड्न गए । धेरै बिरानो देशमा मारिए, बेपत्ता भए । बाँचेर फर्केका अधिकांस पूर्वेलीहरुले यही शहरलाई बुढ्यौली बिताउने शहरको रुपमा रोजे । दोस्रो विश्वयुद्धपछि आफ्नो पूर्खाका पदचाप पछ्याउदै यहाँका अधिकांस युवाहरुले उही लाहुर अर्थात् लाहुरे जीन्दगी रोजे । अधिकांस युवाको सपना बन्यो, लाहुर । ती मध्ये अपवाद थिए, लाहुरेकै छोरा प्रकाश राई । उनले आफ्नो वुवाले हिडेको बाटो रोजेनन् । छाती नाप्ने १९/२० वर्षको उमेरमा उनले अलग बाटो रोजे । अप्ठ्यारोबाटो अर्थात् आन्दोलनको बाटो । प्रकाश भन्छन्, ‘अरुले छाती नपाइरहेको बेला मैले देशको निम्ती आफ्नै माटोमा रगत र पसिना बगाउने कसम खाएँ ।’ कसम अर्थात् उनी अखिल नेपाल कम्युनिष्ट क्रान्तीकारी कोेअर्डिनेशन केन्द्र (को.के)मा सामेल भएर उनी कम्युनिष्ट आन्दोलनमा सामेल भए । उतिबेलाका शासकको नजरमा उनी अराष्ट्रिय भए ।

हालका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनाल, चर्चित कम्युनिष्ट नेता सीपी मैनाली, रामचन्द्र यादव, अमृत बोहराहरुले २०३२ सालमा निर्माण गरेको कोेअर्डिनेशन केन्द्रको सम्पर्कमा २०३६ सालमा नै गए । टेकबहादुर मग्राती, राजेश राई, पारस सुब्बाहरुको सम्पर्कपछि उनी कोेअर्डिनेशन केन्द्रमा आबद्ध भए । उनी भन्छन्, ‘व्यवस्था परिवर्तन र समाज रुपान्तरणको सुन्दर सपना सहित म कोेअर्डिनेशन केन्द्रमा आबद्ध भएँ । त्यो मेरो असाध्यै सुखद र सुन्दर निर्णय थियो ।’ ३०३६ सालदेखि आजसम्म अभियान र आन्दोलनमा लागेका प्रकाश धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा सत्तारुढ नेकपाको तर्फबाट उम्मेदवार छन् । राईसँग गरिएको कुराकानी  :-

० के–कस्ता चुनावी एजेन्डा लिएर जनतासमक्ष जानुभएको छ ?
हाम्रो पार्टीलाई यहाँका जनता, नागरिक, धरानवासीहरूले पाँच वर्षका लागि जनमत दिएर पठाउनुभएको हो । तर बीचमा हाम्रा नगर प्रमुखको असामयिक निधन भएका कारण अहिले हामी आसन्न निर्वाचनमा छौं । र, आज मलाई पार्टीले मेयर पदको उम्मेदवारका रूपमा त्यहाँ पठाउँदैछ । हामीले त्यतिबेलाको घोषणापत्र, प्रतिबद्धतापत्रमा तयार पारेको कुराहरूलाई पूरा गर्नु मेरो जिम्मेवारी रहन्छ । ती प्रतिबद्धतापत्रहरूको विशेष विषयगत कुरा गर्दा धरानबारे हामीले एउटा स्वच्छ सफा हराभरा धरानको कुरा गरेका छौं । यस्तै शिक्षाको एउटा हब बनाउने कुरा गरेका छौं । पर्यटन प्रवद्र्धन, धार्मिक पर्यटन प्रवद्र्धनका कुरा पनि गरेका छौं । त्यस्तै हामीले हाम्रो धरान भौगोलिक विविधताका रूपमा रहेकाले यहाँ कृषिको कुरा गरेका छौं । वडा ६, वडा ५ र वडा २० लगायतलाई हामीले नगदेबाली तथा अन्य बालीको पनि विशेष किसिमले प्रोत्साहन गरिनुपर्छ र त्यसलाई प्याकेज बनाइनुपर्छ भनेर कुरा गरेका छौं ।

अहिले एसियाकै मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पनि विविध किसिमले हामीले प्रवर्धन गर्ने कुरा गरेका छौं । यसका साथै युवाहरूलाई प्रवद्र्धन गर्न खेलकुद र खेलकुद ग्रामको कुरा गरेका छौं । यसका साथै सरसफाइका सवालमा हामीले धरानबाट निस्कने फोहोरमैलालाई प्रशोधन गरेर वडा ६ बाट घरघरमा सिलिन्डर भरेर जाने खालको ग्यास निकाल्ने र त्यसबाट कम्पोस्ट मल उत्पादन गर्ने योजना पनि बनाएका छौं । यस्ता विभिन्न कुराहरूसंगै खानेपानी योजना विगतदेखि नै सुरुवात गरेका छौं । त्यसलाई हामीले एकीकृत सहरी विकास परियोजनासँग पूरा गर्दै छौं । हामीले धेरै पहिला हाम्रा तत्कालीन नेकपा एमालेका मेयर मनोजकुमार मेन्याङ्बोको पालामा एउटा बसपार्कको योजना सुन्दरबस्तीमार्फत गरेका थियौं । त्यो बसपार्कका हरेक समस्या झेलेर हामीले अहिले शिलान्यास गरेका छौं । त्यहाँ डीपीआर तयार भइरहेको छ । त्यसको हामीले स्थानीय, प्रदेश र केन्द्रीय सरकारको साझेदारीमा सुरुवात गर्दैछौं । यी र यस्ता अन्य थुप्रै कुरा छन्, जस्तै : सामान्य बाटोघाटो निर्माण, कल्भर्ट निर्माण आदि । ती कुरा पनि पूरा गर्नुपर्ने मेरो प्रतिबद्धता हो ।

घरदैलो अभियानमा जनताले यहाँहरूबाट के–कस्तो आशा/अपेक्षा राखेको पाउनुभएको छ ?
निर्बाध रूपमा अब हाम्रो विविध विचार रहेका छन् । सामान्य नागरिकहरूदेखि लिएर यहाँ प्राज्ञिकहरू बस्ने ठाउँ हो । यहाँ कलेज तथा युनिभर्सिटीहरू भएकाले आफ्नो स्तरअनुसारका सामान्य नागरिकहरूले दिनहुँ आइपर्ने रोजगारका कुराहरू उठाउनुभएको छ । सामान्य बाटोघाटोको कुरा उठाउनुभएको छ । शैक्षिक कुराहरूको विषयमा सामुदायिक विद्यालयहरूमा भौतिक संरचनाहरूको कुरा उठाउनुभएको छ । अन्य प्राइभेट स्कुलको दाँजोमा सामुदायिक विद्यालयलाई लान पहल गर्नुपर्छ भन्ने कुराहरू उठाउनुभएको छ भने प्राज्ञिकहरूले दीर्घकालीन भावी योजनाका कुराहरू उठाउनुभएको छ ।

० प्रचारप्रसारको समयमा जनतामा उपनिर्वाचनको उत्साह कस्तो पाउनुभयो ?
ज्यादै उत्साह छ । अहिले नै विजय जुलुसको अवस्था देखापरेको छ । मैले हेर्दा सुरुवातदेखि अहिले नै विजय भएजस्तो अवस्था गलामा मालाहरूले एकदमै ढाकिरहेको अवस्था छ । जहाँ जाँदा पनि अहिले सम्मान गरिरहनुभएको छ । हामीले अहिले सम्मान होइन, मत दिनुहोस् भनेका छौं । डेढ वर्षसम्म अभिभावकविहीन भएर बसेको अवस्था थियो । उ

हाँहरूले पाँच वर्षमा हामीले गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ भनेर चुनेर पठाउनुभएको हो । उक्त प्रतिबद्धता नेपाल कम्युनिस्ट पार्टीले पूरा गर्नुपर्छ भनेर सोचिरहेको अवस्था हो । त्यसो भएको हुनाले पनि उहाँहरूले अभिभावकविहीन अवस्थामा एउटा प्रतिनिधि आउँदैछ र लामो समयदेखि यस धरानमा बसेको प्रतिनिधित्व गर्ने स्थानीय मान्छे आउँदैछ । चिनजानको हैसियतले पनि उहाँहरूले धेरै अपेक्षा गर्नुभएको छ । उत्साहित पनि हुनुहुन्छ ।


तपाई धरानको मेयरमा निर्वाचन भएपश्चात त्यहाँको विकासका लागिा के–कस्ता एजेण्डा छन् ?
विकास भन्नाले दीर्घकालीन विकास र अल्पकालीन विकासहरू छन् । त्यसमा भौतिक संरचनाका कुराहरू छन् । अन्य सामाजिक विषय पनि छन् । यसमा भौतिक निर्माणको विषयमा बाटोघाटोको अवस्था रहेको छ । बाटोहरू स्तरोन्नतिका कुराहरू छन् । मनोवैज्ञानिक र स्तरोन्नतिको कुराका साथमा सरसफाइको कुराहरू छन् । यहाँको मानिसहरूलाई मनोवैज्ञानिक रूपमा सकारात्मक कुरामा लान सक्नुपर्नेछ । हाम्रा केही साथीले पाँच वर्षमा एकपटक खेती गर्ने गर्नुहुन्छ, कुर्सीमा पुग्न उहाँहरूले धेरैजसो नकारात्मक कुराहरू जनतामा लाने गर्नुभएको छ । हाम्रो पार्टीले र मैले सकारात्मक कुरामा जोड दिने गरेका छौं । ती सबै कुरा पूरा गर्न मेरो प्रतिबद्धता रहनेछ ।


० तपाईलाई किन मत दिने ?
मलाई नै भन्दा पनि विशेषगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई जिताउने हो । दोस्रो कुरा, नेकपाको धरानमा म आफू पार्टीमा लागेको ३५ वर्षदेखि निरन्तर लागिरहेकाले पार्टीमा एउटा अग्रज, एउटा सरल, इमानदार कार्यकर्ता भएकाले पार्टीले मलाई पत्याएको हो । धरान भनेको एउटा सानो सहर हो । आपसी घनिष्ठता रहेको सहर भएकाले यो सहरमा म आफू अधिकतम मात्रामा चिनजान रहेको अवस्थाले मैले बोकेको एजेन्डाहरूप्रति आश्वस्त र विश्वस्त हुनुहुन्छ ।

धरान हिजोदेखि नै वामपन्थीहरूको केन्द्र भएका कारण र अहिलेसम्म कुनै पनि जनप्रतिनिधि वामपन्थीबाहेक अरु कुनै विचार राख्ने मान्छेको नजितेको अवस्थाले गर्दा पनि यो निरन्तरता रहन्छ र विगतमा हाम्रा जनप्रतिनिधिले गरेका कामहरू छन् । ती कामका हिसाबले हामीले यहाँको जनताको मत प्राप्त गरेका छौं । हामीले कहीँ पनि कमीकमजोरी नगरेकाले पनि जित्छौं भन्ने विश्वास छ ।


० नेकपा सत्तामा रहँदा पनि उल्लेखनीय कामहरू गर्न सकेका छैनन् भनेर प्रतिपक्षहरूले आरोप लगाउँदै आएका छन्, तपाई नेतृत्वमा पुगिसकेपछि यसलाई कसरी चिर्नुहुन्छ ?
प्रतिद्वन्दी साथीहरू र हाम्रो आस्थाको विरोध गर्ने साथीहरूले जनतालाई नकारात्मक कुराहरू लगेर राख्ने कार्य गरिरहनुभएको छ । हामी उहाँहरूलाई के भन्न चाहन्छौं भने हिजोको र पहिलेको धरानको सवालमा साथमा दुई वर्षअगाडिको मात्रै धरानको विचार गर्ने हो भने यहाँ अहिले संघबाट, प्रदेशबाट बजेटहरू आइरहेको कुरालाई उहाँहरूले मूल्यांकन गर्न जरुरी छ । तर, उहाँहरूले नचाहिँदा र बिनाप्रमाणका कुराहरू आक्षेप लगाइरहनुभएको छ ।

ती साथीहरूलाई हामीले सकारात्मक विचारले सकारात्मक कामले जवाफ दिनुपर्ने जरुरी रहेको छ र म अहिले पनि भन्न चाहन्छु प्रदेशबाट, संघीय सरकारको सहयोगबाट झन्डै हामीले आठवटा पुल निर्माण गरिरहेका छौं । हामीले अहिले सर्दु र सेउतीमा क्रमागत हाम्रो बजेट ल्याउने गरी कार्य भएको छ । यसपालि ५५ करोडको बजेट विनियोजन भएकोले कार्य सुरु गर्दै छौं । अब प्रदेशबाट लगानी गरेर खेलग्रामको कुराहरू भइरहेको छ । त्यसैगरी हामीले यसपटकदेखि बसपार्कको कार्य सुरु गरिरहेका छौं । त्यसपछाडि हामीले कृषिग्रामको कुरा पनि गरिरहेका छौं । त्यो कृषिग्राम वडा ६ मा सुरु गर्दै छौं । यी विविध कुरा हेर्दाखेरि उहाँहरूको हामीलाई लगाएको लाञ्छना मात्रै हो भनेर म प्रमाणित गर्छु ।


० धरानलाई केन्द्रीय सरकारसँग अझ नजिक बनाउन यहाँले के कस्तो भूमिका निर्वाह गर्नुहुनेछ ?
स्वाभाभिक रूपमा हिजोका दिनमा हामीलाई पनि त्यस्तो लाग्थ्यो । जंगलभन्दा माथिको आइल्यान्ड हो कि भन्ने जस्तो लाग्थ्यो तर अहिले हामीले यो नयाँ संविधानको संरचना बनेदेखि प्रदेश, संघ र स्थानीय सरकार बनेदेखि यो महसुस गरेका छैनौं । किनभने, हामीले अहिले प्रदेश र संघसँग निरन्तर आपसमा हाम्रो समझदारी भइरहेको अवस्था छ । अहिले आएर प्रदेशमा पनि धरानकै क्षेत्र १ (क) बाट विजयी हुनुहुने नेता सभामुख हुनुहुन्छ । हामीले माननीयका रूपमा संघमा पनि जयकुमार राईलाई पठाएका छौं । त्यहाँबाट पनि प्रशस्त रूपमा बजेटहरू र शिक्षा क्षेत्रमा सामग्री प्राप्त भइरहेको छ । स्वास्थ्य क्षेत्रमा पनि हामीलाई हस्पिटलसँग सम्बन्धित सबै सामान उहाँहरूले प्रदान गरिरहनुभएको छ । जुन हिजोको अवस्थाभन्दा अहिले प्रदेश र संघसँग स्थानीय सरकारलाई जोडेको अवस्था छ । किनभने, तिनै तहमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकार छ, जसको हिसाबले पनि हामीलाई हिजोको लाञ्छना मात्र रहेको अवस्था अहिले छैन ।


तपाई मेयरमा विजयी भएर नेतृत्व तहमा पुगिसकेपछि आफ्ना प्रतिबद्धताहरूलाई के–कसरी लागू गर्नुहुन्छ ?
निर्वाध रूपमा अक्षरशः पालना गर्नेछु । किनभने, म अहिलेसम्म कहिले पनि संवैधानिक अंगमा गएको मान्छे होइन । र, एकदम आशा गरेर अपेक्षा गरेर बसेको हिजोका नागरिक भएकाले म त्यसभित्र पर्ने मान्छे हुँ । म त्यो कुर्सीमा गएँ भने त्यसलाई क्रमागत रूपमा १, २, ३ गरेर प्रतिबद्धतालाई पूरा गर्नेछु । त्यो प्रतिबद्धतालाई पूरा गर्न म पार्टी र माथिल्लो नेतृत्व, स्थानीय सरकार र सम्बन्धित विषयका विज्ञहरूसँग, नागरिकहरूसँग व्यावसायीहरूसँग सहकार्य गरेर ती सबै कुरालाई पालना गरेर, सहकार्य गरेर व्यवस्थापन गरेर पनि निर्विवाद रूपमा लागू गर्नेछु ।


धरानको मेयर पदका लागि तपाईसँगै प्रतिस्पर्धा गर्नुहुने अन्य प्रतिस्पर्धीहरूको विषयमा तपाइकाे धारणा कस्तो छ ?
उहाँहरूलाई म अग्रिम रूपमा शुभकामना भन्न चाहन्छु । तर, तपाईंले प्रश्न गरिरहँदा प्रतिस्पर्धी भन्ने शब्दको अर्थ अर्कै लाग्छ । प्रतिस्पर्धी होइन, हामी पछाडि दोस्रो, तेस्रो हुने कुरा गर्नुभयो भने दोस्रो अवस्थामा हुन सक्छ तर प्रतिस्पर्धी भनेको एकअर्काको हाराहारी हो । त्यसैले, मलाई त्यस्तो लाग्दैन । नेपाल कम्युनिस्ट पार्टीसँग हाराहारी अवस्था छैन र हिजो पनि थिएन । हिजोको भन्दा अहिलेको माहोल अझ बढेर गएको अवस्था हो र यहाँका नागरिकहरूलाई के थाहा छ भने हामीले हिजो १५ वटा वडामा जितेका हौं र हिजो हामीलाई पाँच वर्षको अभिमत दिइसकिएको हो । त्यसैले त्योबीचमा उहाँहरूले आफ्नो प्रतिबद्धता आफ्नो अभिमतलाई फिर्ता गरेर अर्को पार्टीको मान्छेलाई दिनुहुन्छ भन्ने मलाई लाग्दैन । त्यसले गर्दाखेरि दोस्रो वा तेस्रो हुन सक्छ, प्रतिस्पर्धीचाहिँ हुन सक्नुहुन्न । तर पनि उहाँहरू राजनीतिक आस्था राखेको मान्छेहरू हुनुहुन्छ । उहाँहरूका लागि म शुभकामना दिन चाहन्छु ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७