चीनको युनानका गभर्नरले भने, ‘नेपालको जलविद्युतमा थप लगानी गर्न इच्छुक छौं’


९ मंसिर २०७६, सोमबार
meeting

काठमाडौं, ९ मंसिर ।  उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकारको सहयोग आफूहरुका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

चीनको युनान प्रान्तका गभर्नर रुएन चेङगफासँग आज भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गरेका हुन् । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी चिनफिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका थिए ।

‘नेपाल र चीनबीच लामो समयदेखि राजनीतिक, प्रशासनिक र जनस्तरको सम्बन्ध रहेको छ । यस प्रकारका उच्चस्तरीय भ्रमणले चिनियाँ नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन समेत गर्नेछ भन्ने मेरो विश्वास छ’, मन्त्री पुनले भने ।

नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका गभर्नर चेङगफा नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डलले ऊर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो । छलफलमा ऊर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको थियो ।

मन्त्री पुनले तामाकोशी तेस्रो जलविद्युत् आयोजनामा युनानको प्रान्तीय सरकारले नै लगानी गर्ने खबर आफूले प्राप्त गरेको भन्दै अन्य जलविद्युत् परियोजनामा पनि लगानी गर्न आग्रह गरे ।

yu

‘तामाकोशी तेस्रो जलविद्युत् परियोजनामा युनान सरकारको ८० प्रतिशत लगानी रहेको जानकारी प्राप्त भएको छ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । पछिल्लो समय चीनसहित विश्वका विभिन्न देशका लगानीकर्ताको संख्या धेरै छ’, मन्त्री पुनले भने । उनले सरकारले जलविद्युतको क्षेत्रमा उदार नीति लिएको भन्दै नेपालको जलविद्युतमा थप लगानीका लागि पहल गरिदिन आग्रह गरे ।

मन्त्री पुनले भने, ‘हामीले जलविद्युत् क्षेत्रमा लचिलो नीति लिएका छौं, पहिलो १० वर्षमा आयकर समेत छुट हुने प्रावधान छ । नेपालभित्र खपतका लागि बजारको विस्तार पनि हुँदै गएको छ । भारत, कोरिया, चीनलगायतका देशबाट पनि लगानीकर्ता आइरहेका छन् । हामी युनानबाट पनि थप लगानी होस् भन्ने आशा राख्छौं ।’

बङ्गलादेश र भारतमा विद्युत् व्यापारका लागि ढोका खोलेको भन्दै नेपालमा पनि बजार निर्माण भइरहेको मन्त्री पुनको भनाइ थियो । उनले चार वर्षभित्र पाँच हजार मेगावाट बिजुली उत्पादन हुने जानकारी दिंदै नेपालले जलविद्युतको क्षेत्रमा आमूल प्रगति भइरहेको बताए । मन्त्री पुनले सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने निर्णय गरेको भन्दै युनान प्रान्तका जनतालाई नेपाल भ्रमणका लागि सन्देश प्रवाह गरिदिन आग्रह गरे ।

भेटमा युनान प्रान्तका गभर्नर चेङगफाले आफू पनि चिनियाँ राष्ट्रपतिको भ्रमणपछि नेपाल भ्रमणमा आएको भन्दै युनान प्रान्तको सरकार नेपालमा कृषि, ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए ।

गभर्नर चेङफाले तामाकोशी तेस्रो जलविद्युत् आयोजनामा युनान सरकारले लगानी गरेको भन्दै यो आयोजना शुरुवात मात्र भएको र आगामी दिनमा युनानले जलविद्युत् क्षेत्रमा थप लगानी गर्ने धारणा राखेका थिए ।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलवे परियोजनाको अध्ययन गर्ने समझदारी भएको भन्दै रेलवे परियोजना निर्माणसँगै युनान प्रान्त र नेपालको व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

युनान प्रान्तका गभर्नरले कुनमिङमा आयोजना हुने ‘कुनमिङ साउथ एशिया एक्स्पो’ मा सहभागी हुन मन्त्री पुनलाई निमन्त्रणा समेत दिएको मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७