जाडोका कपडा लगाउन गर्मी कुनुपर्ने गरी प्रहरीमा ३६ करोडको टेण्डर स्वीकृत


९ मंसिर २०७६, सोमबार
Nepal police

काठमाडौं, ९ मंसिर । देशभर जाडो बढ्ने क्रम जारी छ । जाडो बढेसँगै बजारमा न्यानो कपडाहरुको विक्री बढेको छ ।

काठमाडौंका अधिकांश स्थानमा अहिले न्यानो कपडा बेच्ने र किन्नेहरुको भीड देखिन्छ । जाडो बढेसँगै व्यापारीहरुले पनि पातला लत्ता कपडाहरु थन्क्याएर बाक्ला कपडाहरु पसलमा फिंजाइरहेका छन् ।

गर्मीमा पातला कपडा विक्री हुनु र जाडोमा बाक्लो र न्यानो कपडा खोजी हुनु कुनै नौंलो कुरा होइन । उपभोक्ताले पनि सिजन अनुसारकै लत्ता कपडा खोज्छन् भने व्यापारीहरुले पनि उपभोक्ताको खोजी अनुसारकै लत्ता कपडा विक्रीका लागि राख्ने गर्छन् । अहिले देशभर बढ्दै गएको चिसोमा नागरिकको जनजीवन प्रभावित बनाउँदै लगेको छ ।

दिनमा काम गर्ने तर, रातको समयमा आरा गर्न पाउनेहरुको हकमा जाडोको प्रभाव केहि कम होला तर, दिन रात काम गर्नेहरुका लागि भने जाडोले समस्यामा पार्दैछ । अझ समाजको शान्ति, सुरक्षा र नागरिकको जिउ धनको सुरक्षा गर्ने सुरक्षाकर्मीहरुको अवस्था जाडोमा कस्तो होला ?
जाडो छ भनेर आफ्नो कर्तव्य र दायित्वबाट पन्छिन नमिल्ने सुरक्षाकर्मी जाडो होस् या गर्मी अनि दिन होस् वा राति ड्युटीमा खटिनु पर्ने हुन्छ । यस्तो अवस्थामा जिउँलाई न्यायो बनाउने कपडा नै कमसल भयो भने उनीहरुको काममा पक्कै पनि असर पर्छ ।

तर, यो वर्ष नेपाल प्रहरीका सुरक्षाकर्मीहरुले जाडो भयो भनेर ‘जस’ नपाउने भएका छन् । जति छन् पहिलाकै लत्ता कपडामा यो जाडो कटाउनु पर्ने देखिएको छ । किनकी यो वर्ष प्रहरीका सुरक्षाकर्मीले जाडोको कपडा गर्मी फर्केपछि मात्र पाउने प्रायः निश्चित जस्तो देखिएको छ ।
प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवम् प्रशासन विभागले साउन २६ गते प्रकाशित गरेको बोलपत्र आह्वानको सूचना अनुसार म्यादभित्र परेका बोलपत्रमध्ये १० वटा स्वीकृत गरेको छ ।

चार वटा बोलपत्र अस्वीकृत गरेको २०७६ मंसिर १ गते प्रकाशित सूचनामा उल्लेख छ । प्रधान कार्यालय नक्सालस्थित विभागको प्रवन्ध निर्देशनालयबाट प्रकाशित सो सूचना अनुसार म्यादभित्र पेश गर्ने बोलपत्रहरुमध्ये सारभूत रुपमा प्रभावग्राही भएकाले सार्वजनिक खरिद ऐन २०६३ (संशोधितसहित) को दफा २७ को उपदफा (२) अनुसार बोलपत्र स्वीकृत गरेको आशयको सूचना प्रकाशित गरिएको छ ।

यसका साथै ११, १२, १३ र १४ को कुनै पनि बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही नभएकाले सार्वजनिक खरिद ऐन २०६३ (संशोधितसहित) दफा २६ को उपदफा १ को (क) बमोजिम रद्द गरिएको सो सूचनामा उल्लेख गरिएको छ ।

बोलपत्र स्वीकृत भएका बोलपत्रदाताहरुमा वीरगञ्जस्थित क्राउन टेक्स्टाइल इनडस्ट्रिज प्रालिको कवोल अंक मूल्य अभिवृद्धि कर बाहेक पाँच करोड ८८ लाख ८० हजार रुपैंयाँ, सोही कम्पनी प्रालिको कवोल अंक मूलय अभिवृद्धि कर बाहेक चार करोड चार लाख रुपैंयाँको, काठमाडौं नयाँ वानेश्वरस्थित प्लस प्वाइन्ट ट्रेडिङको कवोल अंक मूल्य अभिवृद्धि कर बाहेक तीन करोड १८ लाख ६ हजार रुपैंयाँको, सोही ट्रेडिङको कवोल अंक मूल्य अभिवृद्धि कर बाहेक आठ करोड ७० लाख ३५ हजार रुपैंयाँको र काठमाडौं महाराजगञ्जस्थित जय सलिना इन्टरप्राइजेजको कवोल अंक मूल्य अधिवृद्धि कर बाहेक पाँच करोड ६३ लाख ५२ हजार रुपैंयाँको बोलपत्र स्वीकृत भएका छन् ।

त्यसै गरी प्रहरी प्रधान कार्यालयले स्वीकृत हुने अन्य वोलपत्रहरुमा काठमाडौंको महांकाल–५ स्थित तेजसाम ट्रेड इन्टरप्राइजेजको कवोल अंक मूल्य अभिवृद्धि कर बाहेक दुई करोड ८७ लाख रुपैंयाँको, काठमाडौंको क्षेत्रपाटीस्थित कामियो फ्ल्याग नेपाल ट्रेडिङ प्रालिको कबोल अंक मूल्य अभिवृद्धि कर बाहेक चार करोड ३९ लाख ६८ हजार रुपैंयाँको, काठमाडौंको नागार्जुनस्थित क्राउनवाल विजनेश ट्रेडर्सको कवोल अंक मूल्य अभिवृद्धि कर बाहेक ५३ लाख १० हजार रुपैंयाँको, काठमाडौंको महाराजगञ्जस्थित जय सलिना इन्टरप्राइजेजको कवोल अंक मूल्य अभिवृद्धि कर वाहेक १७ लाख ९५ हजार रुपैंयाँ र काठमाडौंको नागार्जुनस्थित क्राउनवाल विजनेश ट्रेडर्सको कवोल अंक मूल्य अभिवृद्धि कर वाहेक ५८ लाख ९५ हजार रुपैंयाँको बोलपत्र स्वीकृत गरेको छ ।

मूल्य अभिवृद्धि कर बाहेक जम्मा ३६ करोडको नेपाल प्रहरीको टेण्डर स्वीकृत गरेको छ । कटन पाइन्ट, उलन सर्ट, उलन पाइन्ट, चुस्ता, डीएमएस बुट, उलन स्वीटर, पार्क ज्याकेट, बिरेट क्याप, बुट, रुक्स्याक व्यागलगायत जाडो महिनाका लागि आवश्यक लत्ताकपडाहरु यो वर्षको चिसोमा सप्लाई नहुने भए पनि अर्को वर्ष भने समयमै पाउने निश्चित भएको छ ।

टेण्डर परेका ठेकेदारहरुले सामान सप्लाईका लागि ९० दिन भन्दा बढी समय पाउने भएकाले २०७६ माघ महिनाभित्रै सामान (आपूर्ति) सप्लाई हुन कठिनाइ हुने जनाइएको छ । यस्तै बोलपत्र अस्वीकृत भएका बोलपत्रदाताहरुको विस्तृत विवरण भने उल्लेख गरिएको छैन ।

सूचनामा जनाइए अनुसार क्रम संख्या ११ देखि १४ सम्मका चार वटा वोलपत्रदाताहरुको बोलपत्र रद्द गरिएको प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले जनाएको छ । लगभग ६ करोड बराबरको बोलपत्र रद्द भएको छ । जाडो महिनाका लागि लक्षित गरी गरिएको टेण्डरका सामान गर्मी महिना शुरु भएपछि मात्र आउने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७