पुस १६ मा सातै प्रदेशबाट नेपाल भ्रमण वर्षको शुभारम्भ


१० मंसिर २०७६, मंगलवार
visit nepal 2020

काठमाडाैं, १० मंसिर ।  नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाडौंसँगै सात वटै प्रदेशबाट गरिने भएको छ। भ्रमणको शुभारम्भ जनवरी १ तारिख (पुस १६) मा काठमाडौंस्थित दशरथ रङ्गशाला र सोही दिन सात वटै प्रदेशबाट गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए।

नेपाल भ्रमण वर्ष–२०२० मूल समारोह समितिको पाँचौं बैठकमा सम्बोधन गर्दै मन्त्री भट्टराईले सबै प्रदेशले भ्रमण वर्षलाई सहयोग हुने गरी कार्यालय स्थापना गर्ने बताए। एक साताभित्र भ्रमण वर्ष सचिवालयलाई सहयोग गर्ने कार्यालय स्थापना गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रमण वर्ष सफल बनाउन आफ्नो प्रदेशले सक्दो सहयोग गर्ने बताए। भ्रमण वर्षको सफलताका लागि सङ्घले पनि प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रदेश नं ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले भ्रमण वर्ष लक्षित कार्यक्रम सङ्घ सरकारको समन्वयमा गरिने बताए।

कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशमा पर्यटक बढाउने कार्यक्रम गरिरहेको जानकारी दिए।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले भ्रमण वर्ष सफल पार्न भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए।

यस्तै, भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर भ्रमणका कार्यक्रम तय गरिने बताए। सबै नेपालीलाई नेपाल घुम्न आग्रह गरिने बताउँदै उनले भने, ‘नेपालको नक्शामा आफू कहाँ जाने भनेर सबैलाई भर्न लगाउँछौं र प्रतिबद्धता गरे अनुसारका ठाउँमा घुम्न आग्रह गर्छौं।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७