कम्युनिष्टको पालामा देश आत्मनिर्भरताको बाटोमा : देव गुरुङ


१० मंसिर २०७६, मंगलवार
debprasad gurung

काठमाडाैं, १० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा देश आत्मनिर्भरतातर्फ उन्मुख भएको बताएका छन्।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत नेकपा वडा पार्टी कमिटी पोखरा– १६ ले सोमबार पोखरामा आयोजना गरेको चुनावी सभामा गुरुङले कम्युनिष्ट सरकार स्थापनाको दुई वर्षमा आर्थिक वृद्धिदर इतिहासकै उच्च विन्दुमा रहेको तथा आयात कम र निर्यात वृद्धि हुन थालेको बताए।

पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता गुरुङले पाइपलाइनबाट इन्धन आयात, पानीजहाज लगायतका योजना शुरु हुनु तथा खाद्यान्नमा आत्मनिर्भरताको बाटोमा देश अघि बढ्नुले वर्तमान सरकार सफलतातर्फ उन्मुख भएको दाबी गरे।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा विवाद अन्तर्राष्ट्रिय विषय भएकाले यसलाई कूटनीतिक तवरबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सरकारले आवश्यक प्रक्रिया शुरु गरिसकेको जानकारी दिए।

पार्टी केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेशका सह–इन्चार्ज खगराज अधिकारीले भूमि विद्येयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेकाले भूमिहीन र सुकुम्वासीलाई उचित आवासको प्रबन्ध गरिने बताए।

नेकपाका उम्मेदवार विद्या भट्टराईले स्व रवीन्द्र अधिकारीले कोरेको विकास र समृद्धिको खाका नै आफ्नो चुनावी एजेण्डा रहेको चर्चा गर्दै पोखरालाई विकास र समृद्धिको उच्चतम विन्दुमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७