फेरि चोरियो काठमाडौंका बैंकबाट १९ लाख, ६ जना पक्राउ

रकम चोरीमा बैंकका कर्मचारीको सहयोगको आशंका


११ मंसिर २०७६, बुधबार
bank 1

काठमाडौं, ११ मंसिर । फर्जी चेक बनाएर नक्कली हस्ताक्षर गरी काठमाडौंका विभिन्न १८ बैंकबाट १९ लाख भन्दा बढी रकम रुपैंयाँ चोरी भएको छ ।

नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानबाट काडमाडौंका १८ बैंकहरुबाट उक्त परिमाणको रकम चोरी भएको पुष्टि भएको छ ।

अवैध रुपमा बैंकको रकम चोरीमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् । उनले भने, ‘अहिलेसम्म १९ लाख १९ हजार रुपैयाँ चाहिँ बरामद भइसक्यो । त्यो बाहेक कुन–कुन बैंकबाट कति चोरी भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’

पक्राउ परेका सबै नेपाली नागरिक रहेको पनि प्रहरीले जनाएको छ । दिउँसो साढे ११ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी तयारी छ । रकम चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोग विना सम्भव नदेखिने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । त्यही आधारमा अनुसन्धानको दायरालाई साँघुरो बनाइएको प्रहरी स्रोतले बतायो ।

यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधिकृत रुपमा रकम निकालेको भेटिएको प्रहरी स्रोतले जनाएको छ । यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करीब डेढ करोड रुपैयाँ चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

यो घटनाको चर्चा सेलाउन नपाउँदै ७ असोजमा लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको खुलेको थियो । दुवै प्रकरणमा संलग्न नेपाली एजेण्ट समातिएका छन् भने मुख्य अभियुक्तको अझैसम्म प्रहरीले पहिचान गर्न सकेको छैन ।

पछिल्लो समय नेपालका बैंकहरुमा रकम चोरीका घटनाहरु बढिरहेका छन् । बैंकहरुले बैंकिङ चोरी असम्भव रहेको दावी गरिरहेका बेला एकपछि अर्को गर्दै यस्ता चोरीका घटना बाहिर आइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७