भिर कटान गर्न नसक्दा, मध्यपहाडी लोकमार्ग निर्माणमा समस्या


११ मंसिर २०७६, बुधबार
lokmarga
फाइल फोटो

जाजरकोट, ११ मंसिर । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण शुरु भएको नौ वर्ष बिते पनि झार्पा र कार्कीगाउँ बीचमा रहेको मन्ता भिरखण्डको बाटो निर्माण हुन नसक्दा समस्य हुँदै आएको छ ।

कुदुदेखि सुयाडासम्मको ८७ किमि सडक समेत खुलिसकेको छ तर भन्ताभिरको ५०० मिटर चट्टानका कारण नौ वर्षदेखि सडकको काम अलपत्र परेको हो । गत वर्षदेखि जाजरकोट खण्डको ३५ किमि सडकको स्तरोन्नतिको काम शुरु भएको छ ।

अन्य स्थानमा यातायातका साधन सञ्चालन भइरहेका छन् । मन्ता र कालढुङ्गा भिरका कारण जाजरकोट खण्डको पूरै ट्रयाक खुल्न नसकेको हो । एकैसाथ निर्माण शुरु भएको रुकुम र दैलेख खण्डमा भने दुई वर्षअघि नै स्तरोन्नतिको काम शुरु भएको थियो ।

अहिले दुवै जिल्लामा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । जाजरकोट खण्डमा भेरी नदी र थलहजारमा पुल बन्न नसक्दा सडक निर्माणले गति लिन नसकेको हो । मन्ताभिरमा काम गर्न छोडेको सात वर्ष बितिसकेको छ ।

मन्ताभिर खण्डको निर्माणको जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भएको भन्दै सडक निर्माणको काम अलपत्र पारेको हो । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग योजना कार्यालय, दैलेखका प्रमुख नारायणप्रसाद निउरेकाअनुसार ठेक्का लागेको नौ वर्षसम्म पनि भिर फुटाउने काम सम्पन्न हुन सकेको छैन ।

‘मन्ताभिरको ५०० मिटर कडा चट्टान फोड्ने काम नहुँदा उक्त स्थान जटिल बन्यो । मन्ताभिर काट्न तयार नभएपछि ठेकेदारलाई पेनाल्टी समेत लगाएर कारबाही गरियो । मन्ताभिरको ५०० मिटर कडा चट्टान फोड्ने काम नहुँदा उक्त स्थान जटिल बन्यो ।

मन्ताभिर काट्न तयार नभएपछि ठेकेदारलाई ‘पेनाल्टी’ समेत लगाएर कारवाही गरियो’, उनले भने, ‘तर अझै पनि उक्त भिर कसरी फोड्ने भन्नेबारे अन्योल छ ।’ उनले चालू आवभित्र भिर फोड्ने काम सकिने आशा व्यक्त गरे ।

चालू आवमा लोकमार्गको कार्की गाउँबाट दशेरा हुँदै सुयाँडासम्मका लागि स्तरोन्नतिको ठेक्का टेण्डर कार्यालयले जनाएको छ । कार्यालयका अनुसार साढे २ अर्ब रुपैयाँको लगानीमा स्तरोन्नतिका लागि बहुवर्षीय ठेक्का भएको हो ।

बोलपत्रको प्राविधिक कामको मूल्याङ्कन भइरहेको योजना प्रमुख निउरेले जानकारी दिए । उनले उक्त बोलपत्रबाट मन्ताभिरको समस्या समाधान हुने बताए । थलहबजारको पुल निर्माणको काम पनि चालू आवमै सकिने उनको दाबी छ ।

उता पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्न भेरी नदीमा पुल निर्माणको काम शुरु भएको सात वर्ष बिते पनि अझै पूरा हुन सकेको छैन । पुलको जगसमेत पूरा हुन नसकेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार निर्माण शुरु भएको तीन वर्षमा सम्पन्न हुनुपर्ने पुलको पिलर काम पनि काम हुन नसकेको हो । पुल निर्माणका लागि वाइपी कन्स्ट्रक्सन प्रालि, ललितपुरले २०६९ सालमा ठेक्का सम्झौता गरेको थियो ।

‘स्तरोन्नतिपछि सडकमा सात मिटर पिचसहित नौ मिटर चौडाइको लोकमार्ग बन्नेछ’, निउरेले भने, ‘तीन वर्षभित्र सडक स्तरोन्नतिको काम पूरा गर्ने लक्ष्य छ ।’ यो ठेक्का खोल्नु नै जाजरकोटको लागि छलाङ भएको उनले दाबी गरे । पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाट पुग्ने १ हजार ६६५ किमिको लोकमार्गको जाजरकोट खण्डले दुई नगरपालिकालाई मात्र छोएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७