धरानको उपनिर्वाचनमा कसले मार्ला बाजी, कसको अंक गणित कस्तो ?

यस्ता छन् उम्मेद्वारका मुख्य एजेण्डा


११ मंसिर २०७६, बुधबार
tilak prakash

धरान, ११ मंसिर । यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरानको प्रमुख पदमा उम्मेदवारी दिएका दलहरु आ–आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा व्यस्त छन् । प्रतिष्पर्धी दलका प्रत्यासीले धरानको विकास निर्माणलाई मुख्य एजेण्डा बनाएका छन् ।

धरानमा १२ राजनीतिक दल र ११ स्वतन्त्रसहित २३ जनाको उम्मेदवारी दिएका छन् । नेकपा र कांग्रेसबीच कडा प्रतिष्पर्धा हुनेछ भने सङ्घीय समाजवादी र सङ्घीय लिम्बूवान मञ्चलगायतले उम्मेदवारी दिएका छन् । धरानमा प्रमुख र वडा नं–७ को अध्यक्षका लागि निर्वाचन हुँदैछ ।

यसअघि धरानको प्रमुखमा तारा सुब्बा तत्कालीन एमालेबाट विजयी भएका थिए । एक वर्ष अघि मिर्गाैला रोगका कारण उनको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । नेकपाले प्रकाश राईलाई अघि सारेको छ भने नेपाली कांग्रेसले नगरसभापति तिलक राईलाई उम्मेदवार बनाएको छ । सङ्घीय समाजवादीले भूपू सैनिक गजेन्द्र इस्वोलाई अघि सारेको छ । त्यस्तै लिम्बूवान राष्ट्रिय मञ्चले अमर इजम (लिम्बू) लाई उम्मेदवार बनाएको छ ।

मुख्य एजेण्डा विकास निर्माण

दुई प्रतिष्पर्धी दल कांग्रेस र नेकपाले धरानको विकास निर्माणको भविष्यसँग जोडिएको स्वच्छ खानेपानी, व्यवस्थित बसपार्क, फोहर व्यवस्थापन, सुकुम्वासी समस्या, सर्दु र सेउती करिडोर निर्माणलगायत मुद्दा उठाएका छन् ।

स्थानीय तहको निर्वाचन भएयता धरानको विकास निर्माणको लागि सङ्घ प्रदेशबाट सवा अर्बको बजेट धरानलाई दिएकाले त्यो बजेट सदुपयोग गर्न र अघिल्लो नेतृत्वले थालेका योजना पूरा गर्न आफ्नो उमेदवारी भएको नेकपाको उम्मेदवार प्रकाश राईले बताए ।

शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदका लागि प्रदेश १ को ‘हव’ बनाउन धरानको विकास निर्माणलाई तीव्रता दिने उहाँको भनाइ छ । नेकपाकै पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोको पालामा २०५४ सालदेखि शुरु भएको बसपार्कलाई स्थानीय, प्रदेश र सङ्घको लगानीमा कार्यान्वयन हुँदै गएको र खानेपानी योजना पनि पूरा हुने चरणमा रहेको उनले सुनाए ।

‘धरानलाई आधुनिक शहर बनाएर विकासको मोडेल अध्ययनस्थल बनाउछु’, घरदैलोमा भेटिएका नेकपाका प्रकाश राईले भने, ‘स्व. तारा सुब्वाले शुरु गरेका गौरवको आयोजना पूरा गरेर धरानलाई समृद्धि शहर बनाउने मेरो सपना हो ।’

धरानले केन्द्रको बजेट पाउनका लागि सङ्घीयता नै पर्खिनु परेको बताउँदै यति बेला सङ्घ र प्रदेशले रु एक अर्ब २५ करोड बराबरको योजना दिएको उनले बताए । यता कांग्रेसका उम्मेदवार तिलक राईले स्थानीय तहमा देखिएको बेथितिले उपमहानगरका गौरवका आयोजना पूरा हुन नसकेकाले त्यस्ता बेथितिलाई रोक्न नेतृत्व परिर्वतन आवश्यक भएको बताए । उनले जनताको घरदैलोमा हाल उपमहानगरमा बेथिति भएको र कर अत्याधिक बढाएको विषयलाई मुद्दा बनाएका छन् ।

२३ जनाको उम्मेदवारी

विसं २०७५ साउन १ मा प्रमुख तारा सुब्बाको दुवै मिर्गौला फेल भएर उपचारका क्रममा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । प्रमुखमा ११ दल र विभिन्न स्वतन्त्र गरेर २३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै वडा नं–७ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । धरान उपमहानगरपालिका–७ को वडाध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडा सदस्यबाट राजीनामा दिएर नेकपाबाट जीवनराज सुवेदीले उम्मेदवारी दिएका छन् । यस्तै कांग्रेसबाट सुवर्णमोहन पालिखे, सङ्घीय लिम्बूवान मञ्चकी नीता राई, राप्रपाका दिनेश शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।

अघिल्लो निर्वाचनको अङ्क गणित

अघिल्लो निर्वाचनमा साविक नेकपा एमालेका तारा सुब्बाले २० हजार ९७५ मत ल्याएर विजयी भएका थिए । नेपाली कांग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए । यस पटक पनि कांग्रेसले राईलाई नै अघि सारेको छ ।

साविक माओवादी केन्द्रले ११ हजार १८० ल्याएको थियो । सङ्घीय समाजवादी पार्टीले उपप्रमुख मात्र उठाएको थियो । उपप्रमुखमा ५ हजार १८१ मत ल्याएको थियो । माओवादी केन्द्रसँग सहकार्य गरेको समाजवादीको ३ हजार मत पाएको बताइन्छ ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार २०७४ सालको मतदाता संख्या ७९ हजार २९० रहेको छ । यो वर्ष १३ हजार ५६३ थपिँदा ९२ हजार ८५३ मतदाता पुगेका छन् । आगामी मंसिर १४ को धरानको उपनिर्वाचनमा मतदाता संख्या ९२ हजार ८५३ छ ।

२०७४ असार १४ को २०७४ को स्थानीय तहको चुनावमा भएको मतदाता संख्याभन्दा यो १३ हजार ५५६ बढी हो । धरानमा उपप्रमुखसहित १६ वटा वडामा नेकपाले र कांग्रेसले ४ वटा वडामा जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७