प्रचण्डले भने, ‘देउवाजीले झुठो बोलेर दिउँसै रात पार्ने !’


११ मंसिर २०७६, बुधबार
Prachanda

पोखरा, ११ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामा आयोजित चुनावीसभा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति आक्रमक बनेका छन् ।

बुधबार पोखरामा भएको चुनावी सभामा बोल्दै प्रचण्डले देउवाको उटपट्याङले कांग्रेसलाई इतिहास बनाउने संकेत देखिएको बताए । गत शनिबार पोखरामा आयोजित चुनावी सभामा देउवाले ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा जारी गरेको’ आरोप लगाएका थिए । देउवाले बोलेको चार दिनपछि बुधबार पोखरा पुगेर नेकपाको चुनावी सभामा बोल्दै प्रचण्डले त्यो दिन देउवाले सूर्यलाई हत्केलाले छेक्न खोजेको बताएका छन् ।

‘शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो । घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम गर्नुभयो,’ उनले भने, ‘उहाँको बोलीले कास्की–२ मा विद्या भट्टराईलाई जिताउने आधार बनेको छ ।’ देउवाको कुरा ‘.के गर्नेलाई भन्दा हेर्नेलाई लाज भने जस्तो भएको प्रचण्डको भनाइ थियो । उनले गिरिजाप्रसाद कोइरालाको पार्टी झुठ बोल्ने र बेइमानी पार्टी भएकोमा चिन्ता लागेको बताए ।

‘गिरिजाप्रसादको पार्टी झुठो बोल्ने, बेइमानी गर्न छोड्नुस् भन्ने मेरो सुझाव छ,’ उनले भने, ‘झुठो बोलेर दिउँसै रात पार्ने ? शेरबहादुरजीले यस्तो उट्पट्याङ गर्ने ?’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने बताएका छन् ।

 उनले पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डोर्‍याउन प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा जोड दिए । नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदैै उनले भने, ‘नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको छ ।’

नेकपाका उम्मेद्वार विद्या भट्टराई एक अध्ययनशील र राष्ट्रिय व्यक्तित्व पनि भएकाले पार्टीले उम्मेद्वार बनाएको उल्लेख अध्यक्ष दाहालले उनलाई विजयी बनाउन आग्रह गरे ।

नेकपाकै अग्रसरतामा नै मुलुकमा महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाएको जनाउँदै उनले गणतान्त्रिक संविधानमा दलित, मधेशी, आदिवासी जनजातिलगायत सबैको अधिकार सुनिश्चित गरिएको उल्लेख गरे ।

पहिलो पटक राष्ट्रियताको विषयमा मुलुक एकजुट भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गरेको विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाञ्छित गर्दै झुट बोलेको र अब नेपाली कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने बताए ।

नेकपा पार्टी र सरकारले राष्ट्रिय एकता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न लागिएको भन्दै सीमाना विवाद समाधान हुने विश्वास व्यक्त गरे । नेकपाका नेता सुवासचन्द्र नेम्वाङले सरकार भ्रष्टाचार अन्त्यका लागि परेको बताए ।

नेकपाको सरकारले मुलुकको लिपुलेक, कालापानी र लिम्पीयाधुरालगायत विवादित ठाउँको बारेमा स्पष्ट रुपमा अडान लिएको भन्दै उनले कांग्रेसले गलत प्रचार गरेर जनताबीच भ्रम छर्न खोजेको बताए ।

उनले नेपालकै इतिहासमै पहिलो प्रधानमन्त्रीको रुपमा ओलीले सीमानाका विषयमा स्पष्ट रुपमा अडान लिनाका साथै भ्रष्टाचार निमूल पार्न र कानूनी राज्य स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७