साग : भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य

नेपालको मुख्य चुनौती भारत र श्रीलङ्का


११ मंसिर २०७६, बुधबार
vollyball

काठमाडौं, ११ मंसिर । १३ औं दक्षिण एशियाली खेलकूद (साग) को औपचारिक उद्घाटनको चार दिन अगाडि नै भलिबल खेल शुरु हुने भएको छ ।

औपचारिक उद्घाटन यही मंसिर १५ गते हुनेछ तर महिला र पुरुष भलिबल खेल भने आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा हुन लागेको हो । नेपालको पुरुष र महिला भलिबल टोलीले आजै समूह चरणको पहिलो खेल खेल्दै छन् ।

सागमा स्वर्णपदक भित्र्याउने लक्ष्य लिएको महिला भलिबल टोलीले बङ्गलादेशसँग पहिलो खेल खेल्दै छन् । सागमा महिला भलिबको इतिहास खासै लामो छैन । तीन पटक सहभागिता जनाएको महिला भलिबल टोलीले रित्तो हात फर्कनु परेको छैन ।

महिला भलिबल टोलीले सन् १९८७ मा औपचारिक रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेको थियो । सन् १९९९ मा नेपालले घरेलु मैदानमा दोस्रो पटक आयोजना गरेको आठौं सागदेखि महिला भलिबलले सहभागिता जनाउन थालेको हो । त्यतिबेला काठमाडौंमा भएको खेलमा नेपालले काँस्य पदक हात पारेको थियो ।

सन् २००६ मा श्रीलङ्काको कोलम्बोमा भएको दशौं सागमा महिला भलिबल टोलीले दोस्रो पटक सहभागिता जनायो । त्यतिबेला पनि नेपालले काँस्य पदक नै पायो । त्यसपछि नेपालले सन् २०१४ मा भारतमा भएको १२ आँं सागमा तेस्रो पटक सहभागिता जनायो । १२ औं सागमा नेपालले कास्य पदक नै प्राप्त गरेको थियो । तर गत कात्तिक महिनामा बङ्गलादेशमा भएको प्रथम एभिसी सेन्ट्रल जोनमा पहिलो पटक ऐतिहासिक सफलता हासिल हासिल गर्‍यो ।

नेपाली महिला टोलीले ‘सेन्ट्रल जोन’ मा माल्दिभ्सलाई ३–० को सोभो सेटमा पराजित गर्दै भलिबलको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्न सफल भयो । दक्षिण एशियामै सधैं तेस्रो बन्ने महिला भलिबल टोलीलाई यस पटकको सागमा नयाँ इतिहास कायम गर्ने मौका छ । यस पटकको सागमा पहिलेको भन्दा राम्रो पदर्शन गर्ने धेरैले अपेक्षा समेत गरेका छन् ।

नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा पाएको सफलताले पनि खेलाडीमा आत्मबल बढेको भन्दै प्रतियोगितामा उत्कृष्ट नजिता ल्याउने विश्वास व्यक्त गरे । ‘घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्ने हाम्रो योजना छ,’ प्रशिक्षक भट्टले भने । नेपालको मुख्य चुनौती भनेको भारत र श्रीलङ्का हो ।

यता राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले आफ्नो टोलीको लक्ष्य स्वर्ण पदक जित्नु रहेको बताइन् । सागमाा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् । नेपालभन्दा बङ्गलादेश कमजोर मानिएको छ । सोही कमजोरीको फाइदा उठाउँदै नेपाली महिला टोलीले उद्घाटन खेलमा बङ्गलादेशलाई हराएर प्रतियोगितामा सुखद शुरुवात गर्ने अपेक्षा गरिएको छ । खेल दिउँसो ३ बजे हुनेछ ।

आजै माल्दिभ्स र पाकिस्तानबीच पनि अर्को खेल हुनेछ । नेपाली महिला भलिबल टोलीमा कप्तान अरुणा शाहीसहित जानकी भण्डारी, प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, सलिना श्रेष्ठ, निरुता ठगुन्ना, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन र पुनम चन्द रहेका छन् ।

त्यसैगरी आजै हुने पुरुष भलिबलतर्फको अर्को खेलमा पनि नेपालले बङ्गादेशसँगै खेल्ने छ । खेल साँझ ७ बजेपछि शुरु हुनेछ । पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् । त्यस्तै समूह ‘बी’ मा पाकिस्तान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७