निर्मला पन्तकी आमा दुर्गादेवीमाथि पनि हिंसा


१२ मंसिर २०७६, बिहीबार
durgadevipant

काठमाडौं, १२ मंसिर । नेपालसहित करिब एक सय ८० मुलुकमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा पश्चिम नेपालको एक सानो गाउँकी दुर्गादेवीले पहिलोपल्ट यस अभियानसँग आफू जोडिएको आभास गरेकी छन् ।

यसको पछाडिको कारण भने सुखद छैन । मंगलबार दिउँसो उनी यही अभियानका लागि बनाइएको ब्यानरमा लेखिएको नारा सच्याउन महेन्द्रनगर बजार पुगेकी थिइन् । विगत पाँच महिनादेखि उनले नगरपालिकाको कार्यालयमा सहयोगीका रुपमा काम गर्दै आएकी छन् ।

दुर्गादेवी बलात्कारपछि हत्या भएकी १३ वर्षीया निर्मला पन्तकी आमा हुन् । निर्मला गत वर्ष हत्या गरिएको अवस्थामा कञ्चनपुरस्थित उनको घरबाट केही किलोमिटरको दूरीमा रहेको उखुबारीमा फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि भएको हत्याको विषयले मुलुकलाई नै आन्दोलित बनाएको थियो ।

उनका हत्यारालाई कारबाही माग गर्दै गत वर्ष लामो समयसम्म देशभर व्यापक विरोध प्रदर्शन भएको थियो । तर अहिलेसम्म पनि प्रहरीले उनका हत्यारालाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । निर्मालाको न्यायको लडाइँ जारी नै छ । दुर्गादेवीले छोरीको बलात्कार र हत्या स्थानीय दिलीप सिंहले गरेको आरोप लगाएकी छन् । अनुसन्धान भइरहेको यो घटनाबारे प्रहरीले भने मुख खोल्न चाहेको छैन ।

‘तपाईं जुन ब्यानर सच्याउन जानुभयो, त्यो तपाईंले पढ्न सक्नुहुन्छ ?’ यसमा दुर्गादेवीको जवाफ थियो, ‘म पढ्न सक्छु, यसमा महिला हिंसाका बारेमा लेखिएको छ, यो महिला हिंसा अन्त्य गर्नका लागि हो ।’ दुर्गादेवी महिला हिंसा त्यति बेला भएको महसुस गर्छिन् जति बेला न्यायका लागि ठूलो स्वरमा रुँदा समेत सुन्ने कोही हुँदैन ।

सामाजिक सञ्जाल र अनलाइन मिडियाले निर्मला प्रकरण सामसुम पार्न दुर्गादेवीले लाखौं रुपैयाँ लिएको आरोप लगाइरहेका छन् । ‘मानिसहरुले मेरो बारेमा अनावश्यक आरोप लगाइरहेका छन् । उनीहरुलाई थाहा छ, मलाई कसैको सहयोग छैन तर अनावश्यक रुपमा आरोप लाग्न थालेपछि म कठोर बन्दै गएकी छु ।’

सामाजिक सञ्जाल र अनलाइन मिडियाले निर्मला प्रकरण सामसुम पार्न दुर्गादेवीले लाखौं रुपैयाँ लिएको आरोप लगाइरहेका छन् । समाजशास्त्रीले यसलाई दुर्गादेवीविरुद्ध डिजिटल हिंसाको संज्ञा दिएका छन् ।

निर्मलाको बलात्कारपछि हत्या भएलगत्तै प्रहरीले बिष्टलाई पक्राउ गरेको थियो । तर केही स्थानीय मिडियाले प्रहरीले भिआइपी बलात्कारी तथा हत्यारालाई जोगाउन प्रमाण नष्ट गरेको आरोप लगाए, जसको परिणाम मानिसहरु निर्मलाका वास्तविक हत्यारालाई कारबाहीको माग गर्दै सडकमा उत्रिन थाले ।

निर्मलाको यौनांगबाट संकलन गरेको डिएनए पनि बिष्टसँग नमिलेपछि स्थिति थप जटिल अवस्थामा पुग्यो । भिडले बिष्टलाई छाड्न र लापरबाही गर्ने प्रहरी अधिकारीहरुलाई कारबाहीको माग गर्‍यो । दुर्गादेवीले आठ जना प्रहरीविरुद्ध उजुरी दायर गरिन् ।

‘मेरो फोन अफ थियो, उक्त फोन शारदा चन्दले लिएकी थिइन् । उनले मलाई स्वतन्त्ररुपमा बोल्न दिइरहेकी थिइनन् । काठमाडौंमा समेत उनले मलाई कसैसँग बोल्न दिइरहेकी थिइनन्,’ दुर्गादेवीले विगत सम्झँदै भनिन् । उनका अनुसार अधिकांश अधिकारकर्मी यातना दिन आएका थिए ।

‘केही अधिकारकर्मी मसँगै थिए, उनीहरुले मलाई गाउँमा बस्न दिए नत्र हामीलाई घरबारविहीन बनाउँथे । मैले सरकारबाट राहत रकम लिएपछि उनीहरु सबै मेरा विरुद्ध लागेका थिए,’ उनले भनिन्, ‘अहिले पनि उनीहरुले मलाई दुःख दिइरहेका छन् । उनीहरुले त मलाई मान्छे नै गन्दैनन् किनभने मेरा श्रीमान् मसँग बस्दैनन् र मेरा छोरा पनि छैनन् ।’

सामाजिक सञ्जालमा उनीमाथि हिंसा गर्नेमा स्थानीय पत्रकार खेम भण्डारी पनि भएको दुर्गादेवी बताउँछिन् । भण्डारीले सामाजिक सञ्जालमा दुर्गादेवीले छोरीको न्यायलाई पैसामा बिक्री गरेको भनी भ्रम फैलाएको उनले बताइन् ।

भण्डारीमाथि घटनालाई सनसनीपूर्ण बनाएको, बलात्कार र हत्याको समाचार तोडमोड गरेको आरोपमा मानहानी मुद्दा लागेको थियो। उनले जिल्ला अदालतबाट सजाय भोगिसकेका छन् ।

भण्डारीले हालै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अनुसन्धान आमाबाट सुरु गर्नुपर्ने बताएका छन् । ‘उनले दिलीप बिष्टलाई फसाउन एक करोड रुपैयाँ र एक बिघा जमिन लिएकी छन्,’ भण्डारीले आफ्नो पोस्टमा लेखेका छन् ।

यसबारेमा भण्डारीसँग कुरा गर्दा उनले दुर्गादेवीले आमाको प्रतिष्ठा जोगाउन नसकेको आरोप लगाए । ‘उनले आमाको प्रतिष्ठा जोगाउन सकिनन्, कञ्चनपुरमा उनको आलोचना भइरहेको छ,’ भण्डारीले भने । कञ्चनपुरमा आफूलाई विश्वास गर्ने केही स्थानीय सञ्चारकर्मीको सहयोगमा भण्डारीले निर्मला प्रकरणलाई आफू अनुकूल प्रचार गर्न सफल भएका थिए ।

दुर्गादेवीले आफूले पैसामा छोरीको न्याय बेचेको पुष्टि भए जान तयार भएको बताइन् । पुष्टि नभए यस्ता आरोप लगाउनेमाथि कारबाही हुनुपर्ने उनको माग छ । ‘उनीहरुले मेरो बारेमा गलत कुरा भनिरहेका छन् ।

मेरा श्रीमान् म र मेरा छोरीहरुलाई माया गर्दैनन् । भण्डारी जस्ता मानिसहरु यसबारेमा जानकार छन् । त्यसैले उनीहरुले मेरा श्रीमानलाई आफ्नो हातमा लिएका छन्,’ फेसबुकमा भण्डारीले लेखेका विषयमा बताउँदै दुर्गादेवीले भनिन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७