भाउजूले नै पुर्‍याइन् वेश्यालय

काठमाडौं, १२ मंसिर । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको अफिसियल फेसबुक पेजमा मंसिर ८ मा एउटा सन्देश आयो ।

सन्देशमा वैदेशिक रोजगारीमा रहेका एक व्यक्तिले १२ वर्षको उमेरमा घरबाटै हराएकी आफ्नी छोरी दिल्लीको वेश्यालयमा बेचिएकाले छिटोभन्दा छिटो उद्धार गर्न आग्रह गरेका थिए । सन्देश पाएपछि प्रहरीले तत्कालै अनुसन्धान अगाडि बढायो ।

किशोरीलाई दिल्लीको वेश्यालयसम्म पुर्‍याउने घटनाको शुरुवात ०७३ कात्तिकमा भएको थियो । त्यतिबेला दीपावलीको रौनक शुरु हुनै लागेको थियो । ९ कक्षामा पढ्ने किशोरीको मन भने भिन्नै कुराले तुलबुल भइरहेको थियो ।

काठमाडौंको पूर्वी भागमा बाबु आमासँग डेरा गरेर बसेकी उनलाई भाउजू (भाञ्जा दाइकी श्रीमती) ले अनोठौ सपना देखाउँदै घरबाटै लिएर हिँडेकी थिइन् । भाउजूले उक्साउँदै भनेकी थिइन्, ‘पढेर के गर्छौ ? भारत जाम । होन्डा कम्पनीमा मासिक २० हजार आउने जागिर मिलाई दिन्छु ।’

नयाँ ठाम देख्न पाइने, रुचिअनुसारको कपडा लगाउन पाइने, मिठो खान पाइने र पैसा पनि कमाइने प्रलोभनको जालमा किशोरी परिहालिन् । उनलाई के थाहा, भाउजूले देखाएको नक्कली सपनाको बाटो हिँड्दा दिल्लीको कोठीमा पुगिन्छ भन्ने । अनि उनलाई के थाहा, नर्कजस्तो जिन्दगीको बाटोतर्फ आफूलाई हिँडाइएको छ भन्ने ।

भाउजूसँगको सल्लाहमा उनी खुसुक्क घरबाट निस्किइन् । भाउजूले उनलाई नजिकैको बसपार्कसम्म ल्याइदिइन् र लामा थरकी एक साथीको जिम्मा लगाइदिइन् । ती युवतीले उनलाई कोटेश्वर हुँदै महोत्तरीको ढल्केवर पुर्‍याइन् र सिम्रन भन्ने सीता लामालाई जिम्मा लगाइन् ।

सीताले किशोरीलाई वीरगन्ज लगेर एक रात राखी रक्सौल हुँदै दिल्ली पुर्‍याइन् । धनुषा बेंगाडाबर घर भई दिल्लीमा वेश्यालय सञ्चालन गरी बस्ने जोस्ना भनिने जुना खड्काले किशोरीलाई आफ्नो जिम्मामा लिइन् । प्रहरी अनुसन्धानले जुना र किशोरीकी भाउजूबीच पनि नाता सम्बन्ध रहेको देखाएको छ ।

होन्डा कम्पनीको जागिर खाने सपना देखेकी किशोरी त्यतिबेला चकित परिन्, जतिबेला जुनाले उनलाई अश्लिल भिडियो देखाउँदै सोधिन्, ‘तिम्लाई यस्तो गर्न आउँछ ?’ जुनाका एक साथी थिए, दीपक । कलिली किशोरीलाई देखेपछि दीपकले भने, ‘यिनी नयाँ नै छिन्, तयार हुन एक महिना लाग्छ ।’ त्यसपछिका केही साता उनले जुनाकै घरमा सरसफाइको काम गरिन् ।

प्रहरीका अनुसार प्रत्येक दिन अश्लील सामग्री देखाउँदै किशोरीमा उत्तेजना ल्याउने प्रयास गरिएको देखिन्छ । जब उनीहरूलाई किशोरी तयार भइन् भन्ने लाग्यो, त्यसपछि नाम बदलेर सोनिया राखिदिए ।

दिल्ली पुगेको १५ औं दिन किशोरीलाई जुनाले जबरजस्ती मदिरा ख्वाइदिइन् र एक ग्राहकसँग यौन सम्पर्कका निम्ति बाध्य पारिन् । किशोरीले प्रहरी बयानमा त्यस्तो कामबापत जुनाले ५० हजार भारतीय रुपैयाँ बुझेको बताएकी छन् ।

किशोरीलाई जुनाले लगाएको काम स्वीकार्य थिएन तर उनी परिबन्दमा परेकी थिइन् । घर फर्कन्छु भनेर जिद्दी गरेपछि जुनाले भनिन्, ‘तिम्लाई १५ हजारमा किनेको हो । पैसा फिर्ता गरे पठाइदिन्छु ।’ आफूलाई दिल्ली पुर्‍याइ दिएबापत जुनाले १३ हजार रुपैयाँ र एउटा मोबाइल सेट भाउजूलाई पठाइ दिएको बयान पनि किशोरीले दिएकी छन् । त्यसपछिका दिन सजिला रहेनन् ।

प्रत्येक दिन जबरजस्ती मदिरा पिलाउने र यौन सम्पर्कका निम्ति बाध्य पार्ने क्रम चलिरह्यो । प्रत्येक दिन ३ देखि ५ जनासँग यौन सम्पर्कका निम्ति बाध्य पारिएको किशोरीले बताएकी छन् । उनले भनेकी छन्, ‘जुनाले एक रात ग्राहकसँग बसेबापत १५ हजार र एक पटक यौन सम्पर्क राखेबापत ५ हजार लिने गर्थिन् ।’ साँझ ढल्किन थालेपछि मानिसहरू आ–आफ्नो घरतिर कुद्थे ।

उनलाई भने वेश्यालय लगिन्थ्यो र ग्राहकसँग रात काट्न लगाइन्थ्यो । किशोरीले राति ९ देखि बिहान २–३ बजेसम्म आफूलाई विभिन्न ग्राहकसँग सुताइने गरेको प्रहरीलाई बताएकी छन् ।
जुनाले कतिपय ग्राहकसँग घण्टाअनुसार पनि रकम लिने गरेको किशोरीले बताइन् ।

बयानका क्रममा उनले आफूसहित तीन–चार किशोरीलाई केही पैसावालसँग घण्टौंसम्म सामुहिक यौन सम्पर्कका निम्ति समेत बाध्य पारिएको बताएकी छन् । जुनाले बेला–बेला उनलाई सिंगार्न ब्युटीपार्लर लैजान्थिन् । नयाँ कपडा किन्दिथिन् अनि फोटो खिचेर विभिन्न ग्राहकलाई पठाउँथिन् ।

किशोरीलाई यौनधन्दाका निम्ति तयार पार्न भन्दै जुनाले हर्मोन वृद्धि गर्ने खालका औषधि इन्जेक्सनमार्फत दिएको देखिन्छ । उद्धार गरिएकी किशोरीलाई मानव बेचबिखन ब्युरोले वीर अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पठाएको थियो । अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकारीले धेरै दूध दिनका निम्ति गाईलाई लगाइने इन्जेक्सन समेत किशोरीलाई लगाएको सुनाए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्