१३ औं साग : पोखरा रङ्गशालाभित्रै मेडिकल सेन्टर


१२ मंसिर २०७६, बिहीबार
rangashalakhelmaidan 2

पोखरा, १२ मंसिर । आसन्न १३ औं दक्षिण एशियाली खेलकूद (साग) लाई लक्षित गरेर पोखरा रङ्गशालाभित्र मेडिकल सेन्टर स्थापना गरिएको छ ।

यही मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खेलको दौरान चोट पटक लागेको खण्डमा आकस्मिक रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बहुउद्देश्यीय कभर्ड हलभित्र चिकित्सकसहितको मेडिकल टोली सेन्टरमा उपलब्ध रहनेछ ।

साग स्वास्थ्य उपसमितिका संयोजक डा. पदमबहादुर खड्काले दुई चिकित्सक, फिजियोथेराष्टि तथा नर्ससहितको स्वास्थ्य टोली बिहान ७ देखि साँझ ७ बजेसम्म दुई चरणमा १२ घण्टा उपलब्ध हुने बताए ।

सागका आठ खेलमध्ये पाँच खेल सञ्चालन हुने रङ्गशालाका विभिन्न पाँच स्थानमा प्राथमिक उपचार सामग्रीसहितको प्यारामेडिसिनको टोली रहने बताइन्छ । मेडिकल सेन्टरमा बाहेक खेलस्थल, आवासस्थलमा उपलब्ध हुनेगरी १५ चिकित्सक, १५ फिजियोथेरापिष्ट तथा ३० पारामेडिक्सलाई परिचालन गरिएको उनले जानकारी दिए ।

‘साग देशको प्रतिष्ठाको विषय हो, खासगरी कुनै पनि स्वास्थ्य समस्या आइपरेमा प्रभावकारी समाधानका लागि आवश्यक प्रबन्ध गरिएको छ’, खड्काले भने । सेन्टरमा हाडजोर्नी तथा दन्त चिकित्सक, नर्स, सिएमए, फिजियोथेरापिस्ट, स्ट्रेचर, प्राथमिक स्वास्थ्य सामग्री, औषधिलगायत अत्यावश्यक बस्तु रहने फिजियोथेरापिस्ट डा खड्गसिंह गुरुङले बताए ।

त्यसैगरी रङ्गशाला बाहिर सञ्चालन हुने तीन खेलस्थलमा प्राथमिक उपचारका लागि टोली रहने बताइन्छ । बिच भलिबल, ट्रायाथोलन र भारत्तोलन रङ्गशाला बाहिर सञ्चालन हुँदैछ ।
खेलको क्रममा बाहेक अन्य समयमा खेलाडी, अफिसियल तथा पाहुनालाई प्राथमिक स्वास्थ्य सेवाका लागि खेलाडीको मुख्य आवास क्षेत्र लेकसाइडको एक होटलमा २४ सै घण्टा तैनाथ हुने गरी मेडिकल टोली राखिने बताइन्छ ।

खेलाडीलाई कुनै समस्या आइपरेमा तत्काल सम्बन्धितस्थलमा पुग्ने र उपचार उपलब्ध गराउने तयारी समितिको छ । खेल अवधिभर स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको मेडिकल टोलीसँग समन्वय भएकाले थप एम्बुलेन्ससहितको स्वास्थ्य टोली उपलब्ध हुने बताइन्छ ।

सागका आठ खेलका लागि पोखरामा स्वदेशी तथा विदेशी गरी ८४० खेलाडी तथा अफिसियल सहभागी हुँदैछन् । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ तथा साग पोखरा सहजीकरण समितिका संयोजक एवं प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले आज मेडिकल सेन्टरको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७