देवनारायण यादवको बुहारी भन्छिन्,‘भारतीय प्रहरीले उहाँहरूलाई फसाएको हो’


१७ आश्विन २०७४, मंगलवार
Jyoti Sah ज्याति शाह
सप्तरी  : गत वर्ष सप्तरीको तिलाठीमा नेपाल–भारतबीच भएको सीमा विवादको झडपमा घाइते भएका देवनारायण यादव र उनका छोरा अजयकुमारलाई भारतीय प्रहरीको हिरासतमा छन् । भारतीय प्रहरीले आइतबार देवनारायणलाई पक्राउ गरेको थियो ।

दसैँ मेलाको नाच हेर्न सीमावर्ती भारतीय बजार कुनौली पुगेका अजयलाई शनिबार उनका दुई साथीसहित प्रहरीले पक्राउ गरेको थियो । छोरालाई भारतीय प्रहरीले पक्राउ गरेको थाहा पाएपछि आइतबार बिहान कुनौली थानामा बुझ्न गएका देवनारायणलाई त्यहीँबाट नियन्त्रणमा लिइएको हो । दुवैलाई कुनौली सुपौल जिल्लाको वीरपुरस्थित कारागारमा राखिएको थानाका सबइन्स्पेक्टर विनोदकुमार यादवले बताए ।

अपहरण मुद्दामा पक्राउ : भारतीय प्रहरी
देवनारायण र उनका छोरा अजयलाई अपहरण मुद्दामा पक्राउ गरेको सबइन्स्पेक्टर विनोदकुमारले बताए । ‘देवनारायण र अजयविरुद्ध गत २० जेठमा भारतको कुनौली ग्राम–१ बस्ने ज्योतिकुमारी साहलाई अपहरण गरेको एफआइआर (उजुरी) दर्ता छ । ज्योतिका दाजु सञ्जितकुमार साहले मुद्दा दर्ता गरेका थिए,’ सोमबार उनले नयाँ पत्रिकासँग भने, ‘त्यही एफआइआरको आधारमा प्रहरीको खोजी सूचीमा रहेका उहाँहरूलाई भारतमा भेटेपछि पक्राउ गरेका हौँ ।’

सबइन्स्पेक्टर विनोदकुमारले एक वर्ष पहिले नेपाल–भारतबीचको सीमा विवादको विषयलाई लिएर देवनारायणका बाबुछोरा पक्राउ परेको हल्ला निराधार भएको दाबी गरे ।

अजयसँगै पक्राउ परेका घुस खुवाएर छुटे
अजयसँगै पक्राउ परेका तिलाठीका सरोज यादव र राजेशकुमार राम भने रिहा भएका छन् । सरोजका अनुसार कुनौली थानाप्रमुख विनोदकुमारले दुईजनासँग १०–१० हजार भारतीय रुपैयाँ लिएर छाडेका हुन् । ‘प्रहरी प्रमुख विनोदकुमारले अजयलाई एक लाख भारतीय रुपैयाँ तिरे छुट्ने बताएका थिए । सोही विषयबारे बुझ्न थाना पुगेका अजयका बुबालाई समेत पक्राउ गर्यो,’ उनले भने ।

पहल गर्न सिडिओलाई गृहमन्त्रीको निर्देशन
गृहमन्त्री जनार्दन शर्माले सप्तरीका सिडिओ भागीरथ पाण्डेलाई टेलिफोन गरी यादव बाबु–छोराको रिहाइको पहल गर्न निर्देशन दिएका छन् । प्रजिअको प्रयास सफल नभए सरकारले उच्चस्तरबाट कूटनीतिक पहल थाल्ने मन्त्री शर्माले बताए । ‘भारतको प्रहरी–प्रशासनसँग समन्वय गरेर जतिसक्दो छिटो रिहा गर्न भनेको छु । स्थानीय स्तरबाट नभए सरकारले कूटनीतिक पहल सुरु गर्छ,’ उनले भने ।

उता देवनारायणका जेठा दाजु रामनारायणले भने सरकारले चासो नदिएको भन्दै आक्रोश पोखेका छन् । ‘देवनारायणसँग भारतीय प्रहरीले एक वर्षअघि भएको सीमा विवादको बदला लिएको हो । उनी कुनै किसिमको अपराधमा संलग्न छैनन् । सरकारले पनि कुनै पहल गरेन,’ उनले भने ।

सिडिओ पाण्डेले देवनारायण र अजयलाई छुटाउन भारतीय पक्षसँग छलफल भइरहेको बताए । ‘भारतको सुपौल जिल्लाको डिएमसँग कुराकानी गरेका छौँ । बिदा रहेकाले अप्ठ्यारो भइरहेको छ,’ उनले भने ।

अपहरणमा परेको होइन, विवाह गरेर आएकी हुँ : ज्योति साह
ज्योतिकुमारीले भने आफू अपहरणमा नपरेको, बरु देवनारायणका छोरा अजयसँग विवाह गरेको बताइन् । तिलाठीस्थित देवनारायणकै घरमा रहेकी उनले  भनिन्, ‘मैले अजयसँग विवाह गरेकी हुँ, मलाई उहाँहरूले उपहरण गरेको होइन ।’

बिहेपछि धेरैपटक श्रीमान् र ससुरा कुनौली बजार गएको ज्योतिले बताइन् । ‘भारतीय प्रहरीले उहाँहरूलाई फसाएको हो, नियन्त्रणमा लिने भए यसअघि नै लिन सक्थे,’ उनले भनिन्

Jyoti Sah

याे पनि पढ्नुहाेस्
देवनारायण यादवको रिहाइको माग गर्दै भारतीय दूतावास घेराउ
‘सिमा रक्षक’ देवनारायण यादव भारतीय जेलमा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७