मोटरसाइकल ओभरटेक गरेको भन्दै हेलमेटले हानेर युवकको हत्या


१३ मंसिर २०७६, शुक्रबार
dipak panta2019 11 29 07 17 01

कञ्चनपुर, १३ मंसिर । कञ्चनपुरमा एक समूहले मोटरसाइकल ओभरटेक गरेको निहुँमा युवकलाई कुटपिट गरी हत्या गरेको छ ।

भीमदत्त नगरपालिका–१८ गोबरैयामा बिहीबार बिहान दोधाराचाँदनीका २२ वर्षीय दीपक पन्तले मोटरसाइकल ओभरटेक गरेको भन्दै चार जनाको समूहले चक्कु र हेलमेटले हानेर उनको हत्या गरेको हो ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट करिब चार सय मिटरको दूरीमा पर्छ । सडकको दायाँ बायाँ घरहरू बाक्लै छन् । सडकमा मानिसहरू आवतजावत गरिरहेको समयमा मोटरसाइकलमा सवार बाबु–छोरामाथि सांघातिक आक्रमण भएको हो । तर, कुटपिट गर्नेलाई छुट्याउन कोही पनि आएनन् ।

प्रहरीले दीपकमाथि कुटपिट गर्ने चार जनासहित स्कुटी र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारलाई पन्तमाथि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

बिहान घरबाट दीपक बाबु विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका थिए । गोबरैया क्षेत्रमा स्कुटी र मोटरसाइकलमा सवार चार जनाको समूहले दीपकलाई किन ओभरटेक गरेको भन्दै सांघातिक आक्रमण गरेको बाबु विशनले बताए । मोटरसाइकल रोकेर युवा समूहले एकाएक आक्रमण गरेका थिए । मरनासन्न अवस्थामा पुगेपछि उनीहरू मोटरसाइकल र स्कुटीमा चढेर फरार भएका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका पन्तको महाकाली अस्पताल लगिएको थियो । डाक्टरहरूले अस्पतालमा उपचार हुन नसक्ने भन्दै थप उपचारका लागि भारत रेफर गरेका थिए । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएपछि आफन्तले फर्काएर ल्याएका थिए ।

पन्तको शव महाकाली अस्पतालमा राखिएको छ । पीडित परिवारले कुटपिट गर्ने सबैमाथि कारबाहीको माग गरेको छ ।

क्षणभरमै छोरा गुमाएपछि पन्त परिवारसहित छिमेकी शोकमा डुबेका छन् । प्रत्यक्षदर्शीका अनुसार दीपकलाई युवा समूहले हेलमेट र लाठीले कुटेको थियो । ‘महेन्द्रनगरदेखि दोधारा जाँदै थिएँ, गोबरैयानिर ५–६ युवकको समूहले ती युवकलाई कुटिरहेको थियो, मसँग महिला थिइन्, त्यही भएर मैले रोकिनँ,’ एक प्रत्यक्षदर्शीले भने, ‘अहिले मलाई पछुतो भइरहेको छ ।’ उनले आफूले ग्याङफाइट भएको ठाने पनि पछि एकोहोरो कुटपिट भएको थाहा पाएको बताए ।

अनुसन्धान हुँदै छ : प्रहरी
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । ‘दीपक पन्तको कुटपिटबाट मृत्यु घटनाबारे अनुसन्धान भइरहेको छ, हामी दुवै पक्षसँग सोधपुछकै क्रममा छौं,’ कञ्चनपुरका प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७