गोर्खा इको रेड व्रिक्स प्रालिले थाल्यो अत्याधुनिक प्रविधिमा ‘गोर्खा चाइनिज इँटा’ उत्पादन


१३ मंसिर २०७६, शुक्रबार
itta 1

काठमाडौं, १३ मंसिर । काठमाडौं । गोर्खा इको रेड व्रिक्स प्रालिले टनेल क्लिन प्रविधिमा इँटा पोली ‘गोर्खा चाइनिज इँटा’ उत्पादन थालेको छ ।

गोर्खा इको रेड व्रिक्स प्रालिले बनेपाको बासडोलमा उद्योग स्थापना गरी राखी ‘गोर्खा चाइनिज इँटा’ को व्यावसायिक उत्पादन थालेको हो । गोर्खा चाइनिज इँटाको आकार साढे नौ इञ्च लम्वाई, साढे चार इञ्च चौडाई र सवा दुई इञ्च मोटाइ हुने उद्योगले जानकारी दिएको छ । यो इँटा अन्य इँटाको तुलनामा बढी मजबुत, सबैतिर सिधा आकार मिलेको र स्मुथ फिनिसिङका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।

यो प्रविधिबाट इँटा बनाउँंदा काँंचो इँटालाई घाममा नसुकाई ड्राइ टनेलमा इँटा सुकाइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णराम देउपालाले जानकारी दिए । यसपछि फायर टनेलमा आठ सयदेखि नौ सय डिग्रीसम्मको तापक्रममा राखेर इँटा पोल्ने गरिन्छ ।

फायरिङ टनेलमा भएको तातो हावालाई ड्राइ टनेलमा लगी काँंचो इँटा सुकाइने उनले जानकारी दिए । यसका लागि तापक्रम नाप्न तापक्रम मापनयन्त्र (थर्माेमिटर) पनि जडान गरिएको छ । थर्माेमिटरमा तापक्रम हेरी आवश्यकता अनुसार कोइला थपी इँटा पोल्ने गरिन्छ । यसले इँटा एकनासले पाक्ने समेत सीईओ देउपालाले बताए ।

इँटा उत्पादनको प्रक्रियामा धूलो नउडने र न्यून मात्रामा मात्रै धूवाँ निस्कने सुरुङ भट्टी (टनेल क्लिन) प्रविधि प्रयोग गरिएकाले आफूहरुको उत्पादन वातावरण र मजदुरमैत्री रहेको समेत उनले बताएका छन् । यो प्रविधिबाट इँटा उत्पादन गर्दा मलिलो माटो नै चाहिन्छ भन्ने छैन । जस्तोसुकै माटो अनि नरम ढुङ्गाबाट पनि इँटा बनाउन सकिने जनाइएको छ ।

itta 1 1

यो इँटा उत्पादन प्रविधि नेपालमा मात्र नभई दक्षिण एशियामा नै नौलो र अत्याधुनिक रहेको कम्पनीले जनाएको छ । युरोपमा १९७० कै दशकमा प्रयोगमा आएको यो प्रविधि १९८० मा चीन भित्रिएको जनाइएको छ ।

यो प्रविधिमा शुरुवाती माटो तथा नरम ढुङ्गा प्रशोधन (मुछ्ने) देखि काँंचो इँटा उत्पादन तथा पोल्नेलगायतका सबै काम वैज्ञानिक रुपमा व्यवस्थित गरी मेशिनबाटै हुने कम्पनीले जानकारी दिएको छ ।

पोलेर तयार भएको रातो इँटा मेशिनबाटै बाहिरसम्म निकालिन्छ । यसरी काँंचो इँटो बन्ने क्रमदेखि पोलेको तयार हुँंदासम्मको सबै प्रक्रिया मेशिनबाटै हुने भएकाले यस प्रविधिबाट बनेको इँटाको चार वटै सतह चिल्लो हुने जनाइएको छ ।

यो प्रविधिबाट इँटा उत्पादन गर्दा कोइलाको मात्रा आवश्यकता अनुसार माटो तथा नरम ढुङ्गामै पहिला नै मिसाए काँंचो इँटा बनाइने लगानीकर्तामध्येका एक इन्जिनियर कृष्णभक्त दुवालले जानकारी गराए । उत्पादित इँटा बजारमा आइसकेको समेत उनले बताए ।

आफ्नो उत्पादन देशभर विक्री वितरण शुरु गर्ने योजना रहेको पनि दुवालले बताएका छन् । गोर्खा इको प्यानल र गोर्खा प्रिकास्ट एन्ड विन्डोर नामका निर्माण सामग्रीका उद्योगीहरुबाटै यो कम्पनी सञ्चालनमा ल्याइएको हो ।

उद्योगले हाल दैनिक ५० हजार वटा इँटा उत्पादन गरिरहेको जनाइएको छ । यो प्रविधिबाट इँटा उत्पादनको काम वर्षैभर हुने गर्दछ । सामान्यतया सामान्य इँटाभट्टामा वर्षमा ६ महिना मात्रै इँटा उत्पादनको काम हुन्छ ।

‘फायर टनेल’ पनि पूर्ण रूपमा थर्मल इन्सुलेटेड हुने हुँदा ताप खेर नजाने भएकाले यो प्रविधिमा इँटाहरु उत्पादन हुँंदा उर्जा किफायती हुने इन्जिनियर दुवालले बताए । काँंचो इँटा उत्पादन प्रक्रिया बन्द ट्रसभित्र हुने र पोल्ने प्रक्रिया पनि टनेल भित्रभित्रै हुने भएकाले इँटा उत्पादनका क्रममा धूलो सिर्जना हुने सम्भावना शून्य रहेको कम्पनीको दावी छ ।

उद्योगले मेशिनबाटै एक हजार वटाको बन्डल–बन्डलमा इँटा प्याकेजिङ गरी चाँडै नै उपभोक्तासम्म पुर्‍याउने लक्ष्य राखेको छ । यो कम्पनीबाट उत्पादित इँटा तुलनात्मक रुपमा अन्यको भन्दा सस्तोमा बजारमा उपलब्ध गराउने योजना रहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७