‘मेरो जीन्दगी नै संगीतमा समर्पित छ’


१३ मंसिर २०७६, शुक्रबार
aasta raut new album scaled

सांगीतिक परिवारमा जन्मिएकी गायिका आस्था राउत सानैदेखि संगीतमा लागिन् । संगीत नै सुनिन् र साँगीतिक माहौलमै हुर्किइन् । वरिष्ठ लोक गायक हरिबहादुर राउत र गीतकार आमा सावित्रा राउतको कोखबाट जन्मिएकी आस्था नेपाली गीत संगीतको क्षेत्रमा पप गायिकाको रुपमा स्थापित छिन् । उनले विभिन्न नेपाली चलचित्रहरूमा समेत धेरै गीतहरू गाइसकेकी छिन् । उनी अहिले चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को प्रशिक्षक (कोच) छिन् । उनले सन् २०१६ मा आधार एल्बम सार्वजनिक गरेकी थिइन् । त्यसले ठूलो सफलता पायो । उनै गायिका राउतले भर्खर मात्र आधार–२ एल्बम सार्वजनिक गरेकी छिन् । यिनै सन्दर्भमा नयाँपेज डटकमले गरेको कुराकानी :


पहिलो एल्बम ‘आधार’ को अपार सफलतापछि आधार–२ ल्याउनुभएको छ, कस्तो अपेक्षा गुर्न भएको छ ?

आफ्नो सन्तानको सबैलाई माया लाग्छ । ‘आधार’ लाई म आफ्नो सन्तान मान्छु । आभार–२ आफ्नो पनि सन्तान नै हो । सन्तानको माया जसरी सबैलाई बराबरी हुन्छ भन्छन् । त्यस्तै हो मैले ल्याएको आधार–२ पनि । हुन त म अहिलेसम्म सिङ्गन नै छु । रिलेसनसिप स्टेटस सिङ्गल नै छ । मलाई पहिले जसरी माया गरिदिनुु भएको थियो, त्यसरी नै आधार–२ लाई पनि माया गरिदिनु हुन्छ होला । श्रोता–दर्शकहरुले कस्तो खाल गीत मन पराउनु हुन्छ भन्ने मनोविज्ञान विचार गरेर नै मैले आधार–२ मा मेहनत पनि गरेको छु । म संख्यामा भन्दा पनि गुणस्तरीय संगीतमा विश्वास राख्छु । यहि मूल्य मान्यतामा आफूले पनि मेहनत गर्ने गरेको छु । पक्कै पनि श्रोता–दर्शकले माया, साथ, हौसला र प्रेरणा दिनुहुन्छ भन्नेमा आशावादी छु ।

आधार–२ मा आशावादी हुनका लागि मेहनत चाँहि कतिको पर्‍यो ?
मसँगै मेरो टिमले धेरै मेहनत गरेको छ । आधार–२ मा मेरा गुुरु वरिष्ठ संगीतकार सुरेश अधिकारीको शब्द र एकल संगीत रहेको छ । एउटा गीतमा चाँहि मेरो मामुुको पनि शब्द रहेको छ । मेरो बाबा (बरिष्ठ लोक गायक हरिबहादुर राउत) र रचनाकार सावित्रा राउतबाट जन्मिए पनि मेरो सांगीतिक फड्कोमा सुरेश अधिकारीको हात र देन ठूलो छ । उहाँकै टिमवर्कले आधार हुँदै आधार–२ आएको छ । भगवानको आशिर्वाद, श्रोता–दर्शक, सञ्चार क्षेत्रको मायाले पनि आस्था राउतलाई यो स्थानसम्म ल्याउन उतिकै योगदान गरेको छ । आधार–२ लाई सबैले माया गरिदिनु हुन्छ जस्तो लाग्छ ।


म जस्तो छु, त्यस्तै नै प्रस्तुुत हुन्छुु । मेरो बोल्डनेसलाई सबैले मन पराई दिनु भएको छ । सम्भवतः गीत संगीतको क्षेत्रमा पनि ‘बोल्ड’ कलाकार छोरीहरु आउनु पर्छ भन्ने श्रोता–दर्शकको चाहना हुनुपर्छ । आधारको ‘चौबन्दीमा पटुुकी’ बोलको गीत सबैले एकदमै मन पराई दिनुभयो । आधार–२ को गीत पनि राम्रो छ भन्ने मेरो विश्वास छ, यसबाट पनि मलाई दिने मायामा कुनै कमी आउँदैन भन्ने ठानेकी छु ।


एल्बममा कस्ता भावनाहरु समेटिएका छन् ?


मेरो एल्बममा ‘म’ वादी हावी भएको छैन । हामी नेपाली, हाम्रो कला सँस्कृति, धर्मनिरपेक्ष देश, सबै जातजाति, धर्म, समुदायलाई आदर र सम्मान गर्नुपर्छ । सम्मान दियो भने मात्र सम्मान र माया पाइन्छ भन्ने सोंच छ । एल्बमले यस्तै खालका भाव समेटेको छ ।


तपाई मात्र होइन, तपाईहरुको परिवार नै इमोसनल हुनुहुन्छ, खास कारण केहि छ ?

हो, म अति इमोसनल मान्छे हुँ । मलाई कसैको दुःख, दर्दहरुले मात्र होइन गीतको शब्द र संगीतले पनि इमोसनल बनाउँछ । आँशु नियन्त्रण (कन्ट्राेल) हुँदैन । रियालिटी शोमा देखाउनका लागि नौटङ्की गरेको होइन र छैन । हाम्रो परिवार नै इमोनसल छौं । इमोसन हुनु नराम्रो होइन । यसले विषयवस्तुसँग व्यक्ति कति सिरियस छ भन्ने कुरा पनि दर्शाउँछ जस्तो लाग्छ ।


तपाईको गीत ‘झझल्को आइरहन्छ’ भन्ने कर्णप्रिय छ, यसको लाक्षणिक अर्थ केहि छ ?
गीतको लाक्षणिक अर्थ खास्सै त्यस्तो केहि छैन । तर, लाक्षणिक अर्थमा कसैले लिइ दिनु चाँहि गीत–संगीत र मेरो पनि उपलब्धी हो ।

मेरो गीतले भने जस्तै अहिले आँखा चिम्लेरै बसे पनि ‘भ्वाइस अफ नेपाल’ र यो एल्बमकै सम्झना र झझल्को आइरहेको भने पक्कै छ । हामी भ्वाइस अफ नेपालको सेमिफाइनल आइसकेका छौं । फाइनलमा आउन एक हप्ता मात्रै बाँकी छ । एक हप्तायता राम्रोसँग सुतेको पनि छैन् । अहिले आफ्नो मेहनत, सहभागी भाइबहिनीको मेहनत, सँगै रहँदाका क्षणहरु झझल्को बनेर आउने कुरा स्वभाविक हो ।


तपाईको आँखामा माया गर्ने मान्छे झझल्को बनेर आइरहेको अवस्था छ छैन नि ?
अहिलेको घडीसम्म चाँहि मेरो आँखामा झझल्को नै बनेर आइहालेको मान्छे कोही छैन । अहिले मेरो मुख्य ध्यान नेपाली गीत–संगीतलाई मेरोतर्फबाट के गरी राम्रो गर्न सकिन्छ, के कन्ट्रीव्युसन दिन सक्छु भन्नेतिर नै बढी छ । त्यहि भएर यो झझल्को सजाउने कुरामा म पछि छु ।

आस्था राउतले अहिलेको चर्चित आस्था राउत बन्नका लागि कतिको सांगीतिक आरोह–अवरोध गर्नु पर्‍यो ?

वास्तवमा म ३ वर्षको उमेरदेखि नै गाउने–नाच्ने गर्ने रे । सात वर्षको हुँदा नेपालको बाल गीत प्रतियोगिता भाग लिइसकेको थिएँ । मैले होस सम्हालेदेखि नै गीत गाउँदै आइरहेको छुु । सांगीतिक घरानामा जन्मिएका कारण यो क्षेत्रमा पाइला राख्न मलाई केहि सजिलो भए पनि अहिलेको आस्था राउत बन्नका लागि मैले चानचुने मेहनत र साधना गरेकी छैन । निकै लामो मेहनत र साधनाका कारण म यो ठाउँमा आइपुगेकी हुँ । कतिपय श्रोता–दर्शक स्रोताहरुलाई पनि थाहा छैन । थाहा पनि नहुन सक्छ । त्यहि भएर भन्नुहुन्छ, ‘एउटा ‘चौबन्दीमा पटुकी’ गीत हिट भएर कोच !’ तर मेरो त जीन्दगी नै संगीतमा समर्पित हो । तपाईहरु रेडियो नेपाल गएर बुझनु सक्नु हुन्छ, कति वटा प्रतियोगितहरु जितें, बालगीत प्रतियोगितामा म जुन ठाउँ जान्थे, त्यहाँ मैले नै जित्थें । जिल्ला शिक्षामा गएर मैले सहभागिता जनाएका प्रतियोगिताहरुको परिणामका बारेमा बुझ्न सक्नुु हुन्छ । म दुुई–चार वर्ष गीत संगीतमा लागे जस्तो गरेको र जादूको छडी देखाएको भरमा द भ्वाइसको कोच भएर आएको होइन् । कतिपयको कमेन्ट हेर्दा पनि अचम्म लाग्छ । कसैको बारेमा कमेन्ट गर्दा उसको बारेमा केहि नबुझी अध्ययन नै नगरी त्यतिकै किन तितो पोख्नु हुन्छ ? मैले कसैको बिगारी दिएको त केहि छैन नि ! म अनुरोध गर्छु, तपाईहरुको छोरीको प्रतिनिधित्व मैले गरेको छुु । आस्था राउतले कस्तो खालको गीत गाएको ! डिजिटल प्लेटफर्म छ भन्दैमा कुनै अध्ययन नै नगरी यतिकै ड्याङ्गै भनिदिनु हुन्छ । हुन त मैले धेरै माया पाएको छु । चामलसँगै कनिका, ढुुंगा पनि आउँछ भने जस्तो होला ।

म दुुई–चार वर्ष गीत संगीतमा लागे जस्तो गरेको र जादूको छडी देखाएको भरमा द भ्वाइसको कोच भएर आएको होइन् ।

केहिले मेरो साधनालाई नजिकबाट चिन्न नसक्नु भएको भए पनि धेरैको माया पाउने सौभाग्य मैले पाएकी छु । सकारात्मक सोंचले जीन्दगी अगाडि बढाउँदा आफ्नो मात्र होइन सबैको जीन्दगी राम्रो हुन्छ । नराम्रोलाई नराम्रो भन्नुुपर्छ तर, राम्रो गरिरहेकाहरुलाई नमिठो बोली दिनु ठिक होइन ।

संगीत मेरो धेरै वर्षको तपश्या हो । आधार–२ त्यतिकै आएको छैन । पाँच–छ वर्ष मेहनतपछि आउँदैछ । एल्बम तयार भएको नै डेढ बर्ष भइसक्यो । म्यूजिक भिडियो बनेको पनि सात–आठ महिना भइसक्यो । मेरो कार्य व्यस्तताले पोष्टपोण्ड भइरहेकै भइरहेको थियो । यसै समय नेपालको ठूलो रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ कोच बन्ने अवसर पनि जुर्‍यो ।

मेरो नेचर छ– ‘बब्ली, सेन्स अफ ह्युमर, जे लाग्यो ठ्याकै बोल्ने ।’ भ्वाइसमा कोचहरुको रिटेक हुन्न । स्क्रिप्ट हुन्न । जे कुरा हुन्छ फलोमा जान्छौं । बरु प्रतियोगीहरु (कन्टस्टेन्ट) को गीत गाउँदा रिपिड भएको छ । कुनै बेला टेक्निकल समस्या आउँछ । तर, कोचहरुको रिटेक हुँदैन् ‘भ्वाइस अफ नेपाल’ मा हामीले धेरै मेहनत गरेका छौं । यहाँ बोलेका कुरा कसैलाई मन पर्न–नपर्न सक्छ । तर, मैले धेरै महिला सहभागीलाई हौसला दिएको छु । उनीहरु जस्तै देश–विदेशका चेलीहरुमा प्रेरणा जगाउने कोशिस गरेको छु ।

एउटा कोचको रुपमा तपाईहरुले पनि जाति, समुदाय, क्षेत्र नभनी आफूलाई मन परेको प्रतिष्पर्धीलाई भोट गरिदिनुहोस् । गलत परम्परालाई अगालेर नहिडौं । प्रतिभालाई जात, धर्म, क्षेत्रको रुपमा तौलिन्नु हुन्न ।

अहिले तपाईसँग उस्तै दमदार दुुई प्रतिष्पर्धी हुनुहुन्छ । उहाँहरुको गायकी कस्तो लाग्छ ?
भ्वाइसमा मेरो टिमका याङकी र आरिफ दुुबै राम्रा छन् । भ्वाइसमा विजेता त जो पनि हुन सक्नुु हुुन्छ । आरिफको आफ्नै टोन छ । याङकी सिजन–२ कै राम्रो प्रतिष्पर्धी हो । फिल्मी गीत, लोक गीत सबै खालका गीत गाउन सक्छिन् । अनि गायकीमा आफनै शैली पनि छ । दुबै होनहार छन् ।
प्रशिक्षक बनिरहँदा सबैको गायकी देखिसक्नु भएको छ । यसो अनुमान गर्दा भ्वाइस अफको

विजेता चाँहि को बन्ला जस्तो लाग्छ ?
पछिल्लो चरण अनुसार जित भोटको आधारमा हुन्छ । सबै प्रतियोगी एकसे एक छन् । यो नै विजेता बन्छन् भनेर भन्न सक्ने अवस्था छैन । एउटा कोचको रुपमा तपाईहरुले पनि जाति, समुदाय, क्षेत्र नभनी आफूलाई मन परेको प्रतिष्पर्धीलाई भोट गरिदिनुहोस् । गलत परम्परालाई अगालेर नहिडौं । प्रतिभालाई जात, धर्म, क्षेत्रको रुपमा तौलिन्नु हुन्न । यस्तो संकीर्ण सोच नबोकौं । निष्पक्ष भएर मनैदेखिको भोट गरिदिनुहोस् । मैले मेरो ब्लाइण्ड अडिसनबाट छानिएका १६ अघिल्ला टयालेन्टहरुलाई अघिल्लो राउण्डहरुमा उत्कृष्ट नै भएर लगेको हुँ । कसैले औंला उठाउने ठाउँ छैन् । म जे गर्छु मनैदेखि गर्छु ।

एउटा देशकै प्रतिभा छान्ने ठाउँमा हुनुहुन्छ । भ्वाइस अफ नेपालको मञ्चमा कोचको रुपमा कसरी पुग्नु भयो ?

हो, देशको एउटा गायन प्रतिभा छान्ने मञ्चमा कोचको रुपमा रहने सौभाग्य पाएको छु । भ्वाइसमा एउटा फिमेल कोचको आवश्यकता रहेछ । भ्वाइस परिवारले धेरैलाई होमवर्क गर्नुभएछ ।

उहाँहरुले मलाई फोन गर्नुभयो । शुरुमा त म झसङ्ग पनि भएँ । अरु रियालिटी शोहरुमा तथानाम गाली गरेको, समकालीन र अग्रहजहरुले समेत गाली खाएको देख्दा–सुन्दा नरमाइलो पनि लाग्थ्यो ।

यी कुरालाई म थेग्न सक्दिनँ कि जस्तो पनि लाग्यो । त्यही भएर गर्दिन् । अपजसको भारी बोक्नु पर्छ कुरा भ्वाइस परिवारलाई भने । तर, फेरि गोर्खाली छोरी पो हो त चुनौतीसँग भागेर होइन, डटेर अगाडि बढ्ने पो मान्छे हो त भन्ने आँट पलायो । द भ्वाइसमा कोचको रुपमा जाँदा अपजस मात्र होइन जस पनि त पाइन्छ नि भन्ने सकारात्मक सोंचले यो मञ्चसँग जोडिन पुगें ।


तपाई हरेक शोहरुमा, हरेक महिला प्रतियोगीहरुलाई २१ औं युगको चेली हटेर होइन डटेर अघि बढ्ने खालको हुनुपर्छ । एउटा पुरुष सरह महिलाले पनि केहि गर्न सक्छन् भनेर देखाउनु पर्छ भनिरहनु हुन्छ । तपाईको वैरभाव पुरुषसँग कि पुरुष प्रधान समाजसँग ?

हो म हरेक शोमा महिला सहभागीलाई हौसला प्रदान गर्न कोशिस गर्छु । किनकी उनीहरुलाई दिएको हौसला अरुका लागि समेत प्रेरणा बन्न सकोस् । वास्तवमा अहिले पनि नेपाली महिलाको अवस्था पछाडि परेकै अवस्थामा छ । तर, मेरो आशय पुरुष खराव भएर भन्ने होइन । पुरुषप्रधान मानसिकताका लागि चाँहि भने पक्कै हो । अहिले महिलाको पहिलो समस्या भनौं या असुरक्षा बलात्कार देखिएको छ । निर्मला बलात्कारपछि हत्याको घटना पछि पनि थुप्रै घटना घटिसके । एसिड आक्रमणले धेरै चेलीको जीवन वर्वाद पारिएको छ । नेपाली महिलालाई भावनात्मक रुपमा कमजोर पारिएको छ । असुरक्षा सिर्जना गरिएको छ । तर, यसलाई नियन्त्रण गर्ने कुरामा सरकार पक्ष पनि कमजोर देखिएको छ । यस्तै नागरिक समाज पनि जाग्न सकेको छैन ।

बलात्कारीलाई फाँसी दे, फाँसी दे स्टाटस मात्र लेख्ने होइन् । हामी सबै जागरुक हुनुपर्छ । सबै पुरुष खराब हुँदैनन् । तर यस्तो खराब प्रवृत्तिका मानिसहरुविरुद्धमा महिला–पुरुष सबैले आवाज उठाउनु पर्छ । गलत प्रवृत्तिलाई रोक्न के सजाय हुनुुपर्छ त्यो तोकिन्नुु पर्छ । नेपाली छोरीहरुलाई सेल्फ डिफेन्स कोर्स नै दिनुपर्ने बेला भइसक्यो । छोरीचेलीहरुलाई पनि सजग गराउनु पर्छ । सोंच र मन राम्रो हुनुपर्छ । पहिले असल मानिस हुनुपर्छ । त्यसपछि परिवारका सदस्य असल हुनुुपर्छ । त्यसपछि समाज, देश र विश्व राम्रो हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७